शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

सिनामंगल घटना : असईले किन गरे बिरामी छोराको हत्या ?

चक्कु प्रहार गरेपछि पत्नीलाई भने, ‘मैले बच्चा मारेँ’
मङ्गलबार, २३ मङ्सिर २०८२, १७ : ०९
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • त्रिभुवन विमानस्थलका असई पुष्कर कार्कीले ६ महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
  • शुरुआती अनुसन्धानमा कार्कीले आवेशमा आएर हत्या गरेको बयान दिएका छन्, भने बच्चाको स्वास्थ्य अवस्थाबारे दम्पतीबीच विवाद भएको खुलेको छ।
  • घटनास्थलबाट चक्कु बरामद गरिएको छ र उनी धरानतर्फ भाग्दै गरेको अवस्थामा नागढुङ्गाबाट पक्राउ परेका थिए।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । मङ्सिर २१ मा दिउँसो आफ्नो छोरा (दुधे बालक)को हत्या गरेको कसुरमा प्रहरीले उनलाई थुनेर अनुसन्धान गरिरहेको छ ।

कार्कीकी पत्नी पनि प्रहरीकै जागिरे हुन् । पत्नी विष्णु साउद र कार्कीसँगै विमानस्थलमा कार्यरत थिए । विष्णुले २०८२ साउनमा छोरा जन्माइन् । छोरा जन्मेपछि उनी सुत्केरी बिदा लिएर बच्चा हुर्काउँदै थिइन् ।

सिनामंगलमा डेरा थियो । एयरपोर्टको ड्युटी सकेर कार्की प्रायः दिउँसो १२ बजेतिर डेरामा आउँथे । मङ्सिर २१ मा पनि १२ बजेतिर उनी डेरामा आए । पत्नी कपडा धुँदै थिइन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार डोटी घर भएका २९ वर्षीय कार्कीले तरकारी काट्ने चक्कु घाँटीमा प्रहार गरेर बच्चाको हत्या गरेका हुन् । त्यसपछि पत्नीलाई भने, ‘मैले बच्चा मारेँ ।’ 

कपडा धुँदै गरेकी पत्नीले हेर्दा बच्चाको घाँटीबाट रगत बगिरहेको थियो । आफूलाई आक्रमण गर्ने डरले उनले भनिन्, ‘बर्बाद भो, बच्चालाई बाहिर लगौँ ।’

घरबाट बाहिर निकालेपछि पत्नी चिच्याइन्, ‘गुहार गुहार !’ चिच्याउन थालेपछि पत्नीलाई उनले आक्रमण गर्न थाले । टाउकोमा ढुंगा प्रहार गरेर घाइते बनाए । छिमेकीले उनलाई सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजतिर दौडाए । अहिले उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

डेरा बाहिर झगडा भएपछि छिमेकीले उनलाई नियन्त्रणमा लिन खोजे । छोराको शव लिएर उनी डेरामा गए । त्यसपछि पछाडिपट्टिबाट रेलिङमा तन्ना बाँधेर जमिनमा ओर्लिए । दिउँसो ३ बजेर २४ मिनेटमा कार्की मोबाइल अफ गरेर हिँडे । काठमाडौँ महानगरपालिका–९ सिनामंगल स्थित ओम नगर मार्गबाट भागेका उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कार्कीलाई ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । कार्कीले अनुसन्धान अधिकृतहरूलाई ‘आवेशमा हत्या गरेको’ बयान दिएका छन् । प्रारम्भिक बयानमा उनले भनेका छन्, ‘किन त्यसो गरेँ थाहै पाइनँ, शायद आवेशमा आएँ ।’

जन्मेको केही समयपछि दुध सर्केर बच्चा बिरामी परेको थियो । कार्की दम्पतीले सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना गरे । ब्रेनमा रगत जमेको देखिएपछि बच्चाको अप्रेसन भयो । उनीहरूले करिब १ महिना बालकलाई अस्पतालमा राखेर उपचार गराए । पारिवारिक स्रोतका अनुसार उनीहरूले करिब ८ लाख खर्च गरे । चिकित्सकहरूले बच्चा ‘शारीरिक रूपमा अशक्त हुनसक्ने’ कुरा दम्पतीलाई सुझाएका थिए । उपचार पुरा भैसकेको थिएन । त्यसपछि कार्कीले तनावपूर्ण अवस्था झेलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उपचारको कोर्स पुरा नभएको र बच्चा शारीरिक रूपमा अशक्त हुने डरले उनले बच्चाको हत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । एकजना अधिकृतले भने, ‘हत्या गर्नुपर्ने अर्को कुनै कारण देखिँदैन । बिमारको कारण बच्चाले दुःख पाउने र आफूहरूले पनि ‘दुःख पाउने भयौँ’ भनेर दम्पतीको बिचमा विवाद हुने गरेको थाहा भएको छ । एसपी भट्टराई भन्छन्, ‘विवाद पनि हत्याको एउटा कारण हुनसक्छ ।’

हत्या गर्न उनले दुईवटा चक्कु प्रयोग गरेका थिए । प्रहरीले घटनास्थलबाट दुईवटै चक्कु बरामद गरेको छ । हत्यापछि उनी धरानतर्फ जाँदै गरेको प्रदेश–१–०२–००२ ख ०१२८ नम्बरको नम्बरको बसमा चढेर धादिङतर्फ जाँदै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप