मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

विषहरा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढ्दै

संरक्षणमा समुदायदेखि सरकारसम्म एकजुट
मङ्गलबार, २३ मङ्सिर २०८२, २० : ४३
मङ्गलबार, २३ मङ्सिर २०८२

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित ऐतिहासिक विषहरा पोखरीको संरक्षण, सौन्दर्यकरण र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय समुदायदेखि सरकारी निकायसम्म एकजुट भएका छन्।

पोखरीको बिग्रँदो अवस्था, फोहोर व्यवस्थापनको अभाव र अव्यवस्थित प्रयोगका कारण अस्तित्वमै सङ्कट देखिन थालेपछि मंगलबार आयोजित वृहत् भेलाले विषहरालाई पुनः जीवन दिन साझा सङ्कल्प गरेको हो।

भेलामा स्थानीयवासी, जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गुठी संस्थानका प्रतिनिधि तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको थियो। 

सहभागीहरूले विषहरा पोखरीलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई स्वच्छ, सुरक्षित र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

विषहरा संरक्षण समितिका अध्यक्ष विजय झाले पोखरीको हालको दुर्दशाबारे गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीयले वर्षौँदेखि भोग्दै आएको समस्याको यथार्थ प्रस्तुत गरे। 

उनका अनुसार पोखरीमा जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति बढ्दै गएको छ। प्लास्टिकजन्य फोहोरसँगै मरेका कुकुर र अन्य जनावरसमेत यही पोखरीमा हालिने गरिएको छ। सार्वजनिक शौचालयको अभावमा ट्वाइलेटको निकास पानी पोखरीमा मिसिँदा पानी अत्यन्तै दूषित भएको छ।

‘पोखरी सौन्दर्यकरण र वातावरण संरक्षण हाम्रो सपना हो,’ अध्यक्ष झाले भने, ‘तर स्थानीय बासिन्दाको पीडा पनि उत्तिकै छ। पिसाब फेर्नेसमेत ठाउँ छैन, शौचालय छैन। आधारभूत सार्वजनिक संरचना बिना व्यवस्थापन असम्भवजस्तै छ।’

स्रोतको अभावबिच पनि समितिले टोलबासी मिलेर प्लास्टिक निकाल्ने अभियान सञ्चालन गरिरहेको उनले बताए।

स्थानीयकै पहलमा २७० थान बाँस जुटाएर पोखरी घेरबार गरिएको जानकारी दिँदै उपमहानगरपालिकाले उपलब्ध गराएको बोटबिरुवाले व्यवस्थापनमा केही सहजता आएको उल्लेख गरे। तर समितिसँग नियमित लेबर राख्ने आर्थिक क्षमता नरहेको उनको गुनासो थियो।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले विषहरा क्षेत्र केही वर्ष अघिसम्म अपराध र असुरक्षाको केन्द्रजस्तै बनेको स्मरण गरे। ‘यहाँ अतिक्रमण थियो, पाकेटमारको चलखेल थियो, एकातिर प्रहरी बस्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले धेरै सुधार भएको छ। अब यसलाई व्यवस्थित रूपमा अघि बढाउनु जरुरी छ।’

मेयर साहले पोखरी वरिपरि दुई मिटर क्षेत्र खाली राखी पार्क र गार्डेन निर्माण गरिने, टोल क्षेत्रमा दुई मिटर चौडा फुटपाथ बनाइने र पोखरी संरक्षण समितिलाई औपचारिक सहयोग प्रदान गरिने घोषणा गरे। फोहोर पोखरीमा फ्याँक्नेलाई कर तथा जरिवाना गराइने चेतावनी समेत दिए।

‘उपमहानगरसँग ट्र्याक्टर र जनशक्ति छ, व्यवस्थापन हामी गर्छौँ,’ उनले भने, ‘तर जनता आफैँ सचेत भएनन् भने सरकार मात्रले केही गर्न सक्दैन।’

गुठी संस्थानका प्रमुख आनन्द शर्माले विषहरा पोखरीको ऐतिहासिक महत्त्व उल्लेख गर्दै ऐतिहासिक नक्साअनुसार पोखरी क्षेत्रको ५०५ वर्गफुट जमिन संरक्षण समितिलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न दिने निर्णय सुनाए। यसले पोखरी संरक्षण र घेरबारको कामलाई संस्थागत रूप दिने विश्वास उनले व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले विषहरा पोखरी क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक पर्यटकीय स्थल बनाउन प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

उनले सुरक्षा, लाइटिङ र सरसफाइका कामलाई प्राथमिकतामा राख्दै गुठी, उपमहानगर र संरक्षण समितिबिच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याए।

जनकपुरधाम–४ का स्थानीयवासी ‘स्वस्थ–सुन्दर विषहरा टोल’ नारासहित पोखरी संरक्षणलाई समुदायस्तरको अभियानका रूपमा अघि बढाइरहेका छन्। 

भेलामा पोखरी वरिपरि पल्लव पूजाका लागि नयाँ काठका पल्लव जडान गर्ने, धार्मिक तथा पर्यटकीय गतिविधिबाट आम्दानीको स्रोत विकास गर्ने र पोखरीमा खुला रूपमा हुने फोहोर व्यवस्थापन अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप