बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अभिनेत्री ऋचा थापासँग कुराकानी

‘म्युजिक भिडियो भन्दा फिल्ममा राम्रो काम देखाउन पाइन्छ’

बुधबार, २४ मङ्सिर २०८२, १५ : ०१
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • ऋचा थापाले कक्षा ८ मा मोडलिङ सुरु गरेर ३०० भन्दा बढी म्युजिक भिडियोमा काम गरिन्।
  • उनी अभिनित फिल्म 'लोकन्ती' आउँदैछ, जहाँ उनले मुख्य भूमिका निर्वाह गरेकी छिन्।
  • उनले फिल्ममा निरन्तरता र महिला कलाकारको दृष्टिकोणबारे अनुभव सुनाइन्, र विवाहको बारेमा हालसम्म केही सोचेकी छैनन्।

काठमाडौं । ऋचा थापाले कक्षा ८ मा पढ्दै गर्दा मोडलिङ सुरु गरिन् । किनकि कलाकारिता उनले विरासतमै पाएकी थिइन् । रंगमञ्चकी अग्रज कलाकार लक्ष्मी केसीकी छोरी हुन् ऋचा । ऋचालाई म्युजिक भिडियोले स्थापित गरिदियो । लोक, आधुनिक, पप र तीजगीत गरेर ३०० भन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छन् । 

अभिनयको पखेंटा फैलाउँदै अहिले उनी फिल्म अभिनयतिर सक्रिय भइरहेकी छन् । २०७६ सालमा रिलिज भएको ‘लभ यु हमेशा’बाट ऋचाले फिल्ममा डेब्यु गरेकी ऋचाको दोस्रो फिल्म ‘लोकन्ती’ आगामी शुक्रबार (२६ मंसिर)बाट प्रदर्शनमा आउँदैछ । पारिवारिक र सामाजिक कथामा निर्माण भएको फिल्ममा उनी मुख्य भूमिकामा देखिँदैछिन् । ‘किन लाग्छ माया’ प्रदर्शनको पर्खाइमा र ‘प्रेम अध्याय’ मा काम गर्न लागेकी ऋचासँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश : 

  • ‘लोकन्ती’ कस्तो फिल्म हो र किन हेर्ने ?

यो दुई परिवार र गाउँको कथा हो । हाम्रो समाजबाट हराउँदै गएको ‘लोकन्ती’ जाने परम्परामाथि बनेको फिल्म हो । यसमा हास्य, रोदन र पारिवारिक घटनाक्रमहरू छन् । नयाँ पुस्तालाई हाम्रो संस्कृति चिनाउन र मनोरञ्जन दिन यो फिल्म सक्षम हुनेछ भन्ने आशा छ । 

  • फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ, तयारी कस्तो छ ?

फिल्मको प्रदर्शन तयारीमा राम्रो भएको छ । मलगायत पूरै टिम विगत एक महिनादेखि प्रचारप्रसारमै छौं । फिल्म राम्रो बनेकाले व्यवसाय राम्रो हुन्छ भने आशा छ ।

  • ‘लभ यु हमेशा’पछि तपाईंको अर्को फिल्म आउन ६ वर्ष लाग्यो नि ?

‘लभ यु हमेशा’पछि मेरो मुख्य भूमिका रहेको फिल्म ‘लोकन्ती’ नै हो । यो बिचमा मैले केही फिल्ममा सहायक पात्रको भूमिकामा अभिनय गरेको थिएँ, जसको चर्चा भएन । त्यसैले लामो ग्याप देखिएको हो । अभिनय गरेका कुनै फिल्म बाहिर आइदिँदैन, कुनै पूरा हुँदैनन् । कुनै लामो समय लाग्दो रहेछ । यस्तो हुँदा कलाकारको ग्याप देखिने रहेछ । काम चाहिँ निरन्तर भइरहेको हुन्छ । अहिले मुख्य भूमिका रहेको फिल्म आउँदै गर्दा एकदमै खुसी छु । एक हिसाबले तनाव पनि भइरहेको छ । लामो समयपछि मुख्य भूमिकामा देखिँदै गर्दा फिल्मको व्यवसाय के होला, दर्शकले मेरो अभिनयलाई कसरी लेलान् भन्ने डर लागिरहेको छ । 

  • फिल्ममा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

मैले गाउँले बुहारीको भूमिका निर्वाह गरेकी छु । फिल्मको सेन्टर क्यारेक्टरमा म छु । फिल्म मबाटै सुरु हुन्छ । मेरो कारणले फिल्ममा दुई परिवारबिच तनाव उत्पन्न हुन्छ, मेरै कारणले मिल्छ । यो भन्दा बढी बताउँदा फिल्मको कथा खुल्छ । कथा खुलेपछि फिल्म हेर्न मज्जा आउँदैछ । फिल्मले पारिवारिक कथा रमाइलो तवरबाट पस्किएको छ ।

Richa Thapa (8)

  • किन रोजाइमा पर्‍यो ‘लोकन्ती’ ?

निर्माण युनिटले जब फिल्मका लागि अफर गर्नुभयो तब मैले पहिले कथा सुन्छु भनें । स्क्रिप्ट पढेपछि मलाई मनपर्‍यो । हामीले पहिले पहिले सुनेको तर बिस्तारै हराउँदै गएको लोकन्ती (बेहुलीको साथी) को कथामा फिल्म रहेछ । फिल्म अगाडि यस विषयमा मलाई पनि राम्रोसँग थाहा थिएन । लोकन्ती पहिले हाम्रो परम्परा पनि थियो । जुन अहिले हराउँदै गएको छ । 

स्क्रिप्टबाट लोकन्ती के हो, कस्तो हो, किन चाहिने सबै थाहा पाएपछि यो फिल्म गर्नुपर्छ । यस विषयमा अहिलेका पुस्तालाई जानकारी दिनुपर्छ भन्ने लाग्यो ।

  • म्युजिक भिडियोको व्यस्तता राम्रै थियो, फिल्ममा किन हामफाल्नु भयो ?

धेरै म्युजिक भिडियो अभिनय गरेपछि त्यो भन्दा ठुलो र फरक काम गर्न मन लाग्दो रहेछ । अर्को कुरा म्युजिक भिडियो भन्दा फिल्ममा राम्रो काम देखाउन पाइन्छ । भिडियोमा देखिन थालेदेखि नै फिल्मका अफर आउन थालेका थिए । ठुलो पर्दामा पनि काम गरौंन भनेर होमिए ।

  • फिल्ममा निरन्तरता गाह्रो छ भनिन्छ नि ?

त्यो मैले पनि बुझेकी छु । मलाई अहिले फिल्मका अफरहरु छन् । ‘लोकन्ती’पछि चैत ६ गते मेरो नयाँ फिल्म ‘किन लाग्छ माया’ रिलिज हुँदैछ । अहिले ‘प्रेम अध्याय’ फिल्मको सुटिङ तयारीमा छु । 

  • मोडलिङदेखि फिल्मसम्मको अनुभवले कला क्षेत्रमा महिला कलाकारलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

कतिपयले यो क्षेत्रमा महिलालाई नराम्रो दृष्टिले हेर्छन्, मैले यतिसम्म भोगें भनेको सुनेको छु । तर म आफूलाई यो कुरामा भाग्यमानी मान्छु । मेरी आमा लक्ष्मी केसी कलाकार भएकाले पनि मेरो प्रवेश र यात्रा सहज भयो ।

  • पहिले पछि गएर ‘हिरोइन’ बन्छु भनेर लागेको थियो त ?

म सानैदेखि डान्समा रुचि राख्थें । सानैदेखि म एकदमै नृत्य गर्थें । फिल्म लाइन आउँछु भनेर चाहिँ मैले सोचेकै थिइनँ । नृत्य गर्दै जाँदा भिडियो अभिनय अवसर जुर्‍यो । भिडियो गरिसकेपछि बिस्तारै कनेक्ट हुँदै गयो । म्युजिक भिडियो गर्दा गर्दै फिल्मका अफर आउन थालेपछि म हिरोइन पनि बन्न सक्दो रहेछु भन्ने लागेको थियो ।

Richa Thapa (6)
 

  • कलाकारितामा केही सपना पनि छन् कि ?

सुरुमा केही सपना पनि देखेको थिइनँ । अहिले काम गर्दै राम्रो अभिनेत्रीको रुपमा चिनिने सपना छ ।

  • अहिले स्क्रिन सेयर गर्न मन लागेको कलाकार ?

अहिले फिल्मका रहेका सबै कलाकार एकसेएक ट्यालेन्ट र प्रतिभाशाली छन् । सबै कलाकारसँग पालैपालो काम गर्न मनछ । उहाँहरुसँग काम गर्न पाएँ केही सिक्न र जान्न पाइन्छ भन्ने मेरो बुझाइ हो ।
 

  • आमा थिएटर कलाकार भएको हिसाबले अभिनयको सुरुवात थिएटरबाट हुनुपर्ने हो । किन जानु भएन ?

मेरो अभिनय सुरुवात म्युजिक भिडियोबाट भयो । कक्षा ८ मा पढ्दै गर्दा मैले म्युजिक भिडियोमा पाइला बढाएँ । म्युजिक भिडियो गर्दा गर्दै फिल्म गर्न थालें, त्यसैले मैले थिएटर ज्वाइन हुने टाइम नै जुरेन । 

  • तपाईँको बुझाइमा ‘हिरोइन’ भनेको के हो ?

पहिला–पहिला हिरोइनलाई गीत र सामान्य भूमिकामा मात्र सीमित राखिन्थ्यो । त्यतिबेला हिरोको सहयोगी भनिन्थ्यो तर अहिले समय फेरिएको छ । अहिले हिरोइनले पनि फिल्म धान्न सक्छन् । अहिले यसलाई एउटा सशक्त चरित्रको रुपमा चित्रण गरिन्छ । 

  • प्रेम ?

अहिले प्रेममा छैन । मेरो अहिलेको समय भनेको करिअर बनाउने हो । त्यसैले म त्यतै फोकस छु ।

  • विवाह कहिले गर्ने ?

विवाहको बारेमा पनि अहिलेसम्म केही सोचेकी छैन, समय आएपछि जुर्ला । मलाई जीवनसाथी चाहिँ इमान्दार, आफूलाई बुझ्ने र व्यावहारिक मन चाहिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप