कांग्रेसबाट ‘वृद्ध नेता’ नै सिफारिस !
सारांश
- कांग्रेसका स्थानीय कमिटीहरूले आगामी निर्वाचनका लागि पुराना नेताहरूलाई उम्मेदवार सिफारिस गरेका छन्।
- विभिन्न क्षेत्रबाट पटक-पटक सांसद र मन्त्री भएका नेताहरू पुनः उम्मेदवार बन्ने दौडमा देखिएका छन्।
- कांग्रेसले पुस्तान्तरणको कुरा गरे पनि स्थानीय कमिटीहरूले वृद्ध नेताहरूलाई नै प्राथमिकता दिएकोमा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।
विराटनगर । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुस्तान्तरणको र नेतृत्व हस्तान्तरणको पक्षमा पार्टीभित्र सशक्त ढंगले लडिरहेका छन्, तर उनीहरूकै नेतृत्वमा रहेको कांग्रेसका स्थानीय कमिटीहरूबाट भने पुनः वृद्ध नेता र पटकपटक सत्तामा पुगेकाहरूलाई नै प्रतिनिधि सभामा उम्मेदवार बनाउन सिफारिस भइरहेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका झापा, मोरङ, सुनसरी र उदयपुरका १७ निर्वाचन क्षेत्रबाट क्षेत्रीय समितिले करिब ५१ जना उम्मेदवार सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेहरूमा अधिकांश पुरानै अनुहार छन् भने केही नयाँ छन् । पटक–पटक सांसद र मन्त्री भएकाहरू नै पुनः सांसदको उम्मेदवार बन्ने दौडमा देखिएका छन् । सुनसरीको क्षेत्र नम्बर ३ बाट गत निर्वाचनमा पराजित बनेका विजयकुमार गच्छदार यस पटक पुनः उम्मेदवार बन्ने लिष्टमा परेका छन् । यद्यपि दुहबीका नगर प्रमुख वेदकुमार गच्छदारको पनि नाम सिफारिस गरिएको छ । यद्यपि कांग्रेसले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरूलाई उम्मेदवार सिफारिस नगर्न सर्कुलर नै जारी गरेको थियो ।
गच्छदार सुनसरी–३ बाट २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । त्यसक्रममा उनी पटक–पटक सांसद र मन्त्री बने । उनी हाल ७३ वर्षका भए । उनी हालसम्म पाँच पटक उपप्रधानमन्त्री बनेका छन् भने १२ पटक मन्त्री बनेको रेकर्ड छ ।
यस्तै सुनसरीको क्षेत्र नम्बर २ बाट सिफारिस भएका कांग्रेस नेता सिताराम मेहता पनि वृद्ध नेता हुन् । उनी उमेरले ७३ वर्ष लागेका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका उनी २०७४ सालमा पनि विजयी भएका थिए । २०७३ सालमा उनी यातायात राज्यमन्त्री पनि भए ।
यस्तै उदयपुरको क्षेत्र नम्बर १ बाट पुनः डाक्टर नारायण खड्का उम्मेदवारमा सिफारिस भएका छन् । उनीसहित विदुर बस्नेत लगायतको नाम सिफारिस भएको उदयपुर कांग्रेस स्रोतले बतायो । यद्यपि खड्का नै उम्मेदवार बन्ने उक्त स्रोत दाबी गर्छ । उदयपुरको सो क्षेत्रबाट खड्का पटक–पटक चुनाव लड्ने र जितेर मन्त्री बनेका व्यक्ति हुन् । उनी ७९ वर्ष पुगेका छन् ।
त्यस्तै ६८ वर्षीय डाक्टर मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । पुस्तान्तरण र जेनजी आन्दोलनको भावनाको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दै आएका उनी पुनः सांसद बन्ने दाउमा छन् । रिजाल संविधान सभा सदस्य तथा सांसद भइसकेका छन् । उनी यसअघि रक्षामन्त्री, संस्कृति मन्त्री, सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् ।
यस्तै मोङको क्षेत्र नम्बर १ बाटै उम्मेदवार सिफारिस भएका कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू पनि पटक–पटक सांसद भएका व्यक्ति हुन् । विघटित संसदमा पनि लिम्बू नै निर्वाचित भएका थिए । मोरङको सो निर्वाचन क्षेत्रमा २०६४ साल यता उनै लिम्बूले टिकट पाएर चुनाव लडिरहेका छन् ।
मोरङको क्षेत्र नम्बर ४ मा पूर्वअर्थमन्त्री महेश आचार्य पुनः उम्मेदवार बन्ने दाउमा छन् । ७१ वर्षीय आचार्य यसअघि पटक–पटक सांसद बनेका छन् । उनी अर्थमन्त्रीका साथै वन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् । २०७४ सालमा बाम गठबन्धनबाट पराजित भएका आचार्यले २०७९ सालमा भने टिकट पाएका थिएनन् । यस पटक पुनः उनको नाम सिफारिस भएको छ ।
मोरङकै क्षेत्र नम्बर ६ बाट एकल उम्मेदवार सिफारिस भएका डाक्टर शेखर कोइरालाको उमेर ७६ वर्षको भयो । उनी मन्त्रीको स्वाद चाख्न नपाएका नेता भए पनि पटक–पटक सांसद बनिसकेका छन् ।
उता, झापाको क्षेत्र नम्बर ३ बाट भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाको पनि नाम सिफारिस भएको छ । सिटौला हाल राष्ट्रिय सभाका सांसद हुन् । आफ्नो क्षेत्रबाट आफ्नै छोरालाई टिकट दिलाउन उनी लागेको काग्रेसकै नेताहरू बताउँछन् । यस्तै झापा–४ बाट जिल्ला सभापति देउमान थेबेको नाम सिफारिस भएको छ । थेबे यसअघि पनि पटकपटक निर्वाचन लडेर पराजित भएका व्यक्ति हुन् ।
पटकपटक चुनाव लडेर जितेका, लाभको पदमा पुगेकाहरू नै अहिले पनि अगाडि आएकोमा कतिपय कांग्रेसी कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । ‘जेनजी आन्दोलनले पुस्तान्तरणसँगै परिवारवादको पनि अन्त्य गर्नुपर्छ भन्ने भावना बोकेको थियो । नेपो बेबी, नेपो किड्स भन्ने विषय उठाएरै आन्दोलन भएको हो । त्यसका साथै पटकपटक चुनाव लडेका, जितेका, मन्त्री भएकाहरूलाई बिदा गर्नुपर्छ भन्ने हो,’ तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले भने, ‘पुस्तान्तरण भनेको बाबुको पालो सकियो, छोरालाई वा छोरीलाई दिनु भन्ने पनि होइन होला, तर कांग्रेसको अहिलेको उम्मेदवार सिफारिसमा त्यो विषय प्राथमिकतामा परेन । यो चिन्ताजनक विषय हो ।’

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले ठुला पार्टीहरूले आगामी निर्वाचनमा पनि पुराना अनुहार (टेस्टेड नेता) दोहोर्याए नतिजा भयानक हुन सक्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको संगठित सदस्य नै भोट हाल्न आएन भने के हुन्छ ? पार्टीहरूले उम्मेदवार उठाउँदा युवालाई उठायो भने एउटा कुरा, नत्र पहिल्यै मन्त्री भइसकेका टेस्टेड मान्छेहरू नै आफैँ अघि सरे भनेचाहिँ खैरियत होला जस्तो लाग्दैन ।’
रास्वपादेखि हर्क साम्पाङ र कुलमान घिसिङका पार्टीमा धेरै नयाँ अनुहारका उम्मेदवार दिने भएकाले पुराना पार्टीको मत त्यता जानसक्ने उनको आकलन छ ।
- कांग्रेसको उम्मेदवार सिफासिको डेडलाइन
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको थियो । उक्त परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।
जसका लागि क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको सिफारिस मंसिर २६ गतेभित्र प्रदेशमा र प्रदेश कार्यसमितिले मंसिर मसान्तभित्र केन्द्रमा नाम पठाइसक्नु पर्नेछ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।
कांग्रेसले उम्मेदवार चयनमा कडाइ गर्दै केही बन्देज पनि लगाएको छ । जसमा २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका व्यक्तिहरू यस पटक समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने, २०७९ को बन्दसूचीमा नाम समावेश भएका तर निर्वाचित नभएकाहरूलाई पनि यस पटक समानुपातिकमा सिफारिस नगर्ने, २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने, पार्टीको विधान अनुसार तोकिएको लेबी (सहयोग रकम) नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने, जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विसंगतिमा दोषी ठहरिएका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने र एउटै व्यक्तिलाई प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी एकभन्दा बढी पदमा सिफारिस गर्न नपाइने पनि परिपत्रमा स्पष्ट पारिएको छ ।
को को भए सिफारिस ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण