एमालेको ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो
सारांश
- एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाउने, शुभकामना पत्र पठाउने भएको छ।
- महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ, जसमा १६ दललाई निम्तो दिइनेछ।
- एमालेले जनपरिचालनलाई प्राथमिकता दिँदै असंवैधानिक तत्वलाई खबरदारी गर्ने सन्देश दिनेछ।
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।
उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।
महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताए । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए ।
महाधिवेशनमा १ सय ८ जना मनोनीत सहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताए । बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताए ।
उनले भने, ‘आजको बैठकमा कतिपय बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने, आर्थिक पाटोको व्यवस्थापन गर्ने सम्बन्धमा पनि केही समितिसँग जोडिएका कामहरू छन्, त्यो व्यवस्थित गर्नुपर्नेछ । मुख्यतया हामीले २७ गतेको उद्घाटन समारोहलाई असाध्यै विशाल र भव्य जनमासका साथ सम्पन्न गर्ने उद्देश्य राखेका छौँ । जनपरिचालनलाई मुख्य प्राथमिकता दिने कुरा आजको बैठकमा छलफल भएको छ । यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ । उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ ।’
बर्तौलाले थप भने, ‘विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ । नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ । जनपरिचालनमा लाखौँको सङ्ख्यामा आम नागरिकहरू आउने क्रम जारी छ । २७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरको सन्देश संवैधानिक लोकतान्त्रिक फ्रन्टमा उभ्याउनका लागि नेकपा एमालेमार्फत नेपाली जनताहरू यसका पक्षमा छन् । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येय राखेका छौँ । १०८ जना मनोनीतसहित २२ सय ६८ कुल प्रतिनिधि हुनुहुनेछ । लाखौँ नेपाली जनताहरूको सहभागितामा यो महाधिवेशन भव्यताका साथ सम्पन्न हुनेछ ।’
उनले नेकपा एमालेले युवाहरूलाई महत्त्वपूर्ण स्थान दिने बताए । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानुनी वैधानिक सुनिश्चितता गरिएको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण