मूल नेतृत्व सामूहिक रूपमा नचलेको भन्दै अखिल क्रान्तिकारीका ६ उपाध्यक्षले पोखे असन्तुष्टि
काठमाडौँ । साविक नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)का ६ जना उपाध्यक्षले मूल नेतृत्व विधि र पद्धति अनुसार नचलेको आरोप लगाएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विधि र पद्धति अनुसार एकताको भावना झल्किने गरी अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका हुन् ।
पछिल्लो समय सङ्गठनभित्र सामूहिक छलफल नहुनु अत्यन्त गम्भीर विषय भएको समेत विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा उपाध्यक्षहरूले सङ्गठनका फ्याक्सन इन्चार्जको समेत ध्यानाकर्षण गराएका छन् ।
‘विद्यार्थी सङ्गठनको मूल नेतृत्व तथा फ्याक्सनलाई विधि र पद्धति अनुसार विस्तृत एकता निर्माण गर्न पहल लिन अनुरोध गर्दछौँ। पार्टी एकताको भावना झल्किने गरी हाम्रा कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्न हामी सामूहिक रूपमा अनुरोध गर्दछौँ । पछिल्ला दिनहरूमा सङ्गठनभित्र सामूहिक छलफल हुन छाड्नु अत्यन्त गम्भीर विषय हो, जसको जिम्मेवारी मुख्यतः सङ्गठनको मूल नेतृत्वले लिनुपर्दछ । यही कारण सङ्गठनले आयोजना गर्ने कार्यक्रमहरू फिक्का हुने र प्रभावहीन बन्दै गएको अवस्थाप्रति पनि हामी सचेत छौँ’, विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले पछिल्ला दिनहरूमा समाजमा विद्यमान अनेकौँ विकृति, विसङ्गति, अन्याय र विभेदका प्रश्नहरू उठिरहे पनि विद्यार्थी आन्दोलन कतै विचलित वा अलमलिएको त होइन भन्ने जनआभास देखिनु गम्भीर विषय भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ’, विद्यार्थी सङ्गठनको आवश्यकता नै शून्य हुँदै गएको हो कि ? भन्ने प्रश्नहरू उठिरहेका छन्, जुन अवस्थाप्रति हामी गम्भीर छौँ । अबको विद्यार्थी आन्दोलनले यस्ता सामाजिक–राजनीतिक प्रश्नहरूप्रति मौन बस्न वा केवल दर्शक बनेर अघि बढ्न सक्दैन। त्यसैले प्रगतिशील, वामपन्थी र देशभक्त विद्यार्थीहरूले विद्यार्थी आन्दोलन तथा पार्टी आन्दोलनलाई अझ सुदृढ बनाउन सङ्कल्पबद्ध, निष्ठावान् र सक्रिय भएर अघि बढ्न सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछौँ ।’
गत वर्ष माघमा भएको अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट विजयप्रकाश सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । सङ्गठनमा ३२ वर्षे उमेरहदको व्यवस्था भएपछि सापकोटा पहिलो निर्वाचित अध्यक्ष हुन् ।
कात्तिक १९ गते माउ पार्टी नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायत १२ घटकसँग एकता गरेपछि केही नेताहरू जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका छन् । पार्टी एकतासँगै अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबिच एकताको तयारीमा छन् ।
विज्ञप्ति जारी गर्नेमा उपाध्यक्षहरू उमेश कंडेल, मदन ढकाल, ममता अधिकारी, कृष्णबहादुर सुनार, अभिमन्यू यादव र विराज थापा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण