बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
सङ्घर्ष

‘पीआर’ले पूरा गर्‍यो बिनिताको सपना

शनिबार, २७ मङ्सिर २०८२, ०८ : २५
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • अभिनेत्री बिनिता कार्कीको डेब्यु फिल्म 'पीआर' शुक्रबारबाट प्रदर्शनमा आएको छ, जसमा उनले मुख्य भूमिका निभाएकी छिन्।
  • अस्ट्रेलियामा बसोबास गर्दै आएकी कार्कीले फिल्ममा अभिनय गर्ने अवसर सामाजिक सञ्जालमार्फत पाएकी थिइन्, र उनको पात्रको नाम नेपालमा 'परीक्षा' र अस्ट्रेलियामा 'परी' रहेको छ।
  • उनले फिल्ममा विदेशमा रहेका नेपाली युवाहरूको संघर्ष र अभिभावकको अपेक्षालाई समेटेको छ, र उनी कला क्षेत्रमा निरन्तरता दिन चाहन्छिन्।

काठमाडौँ । विदेशमा रहेर पनि नेपाली फिल्ममा अभिनयकाे अवसर पाएकी अभिनेत्री हुन् बिनिता कार्की । मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी कार्की अभिनीत फिल्म ‘पीआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो उनको डेब्यु फिल्म हो ।

गत बुधबार सम्पन्न फिल्मको प्रिमियरमा उनको अभिनयले धेरैको मन छोएको थियो । त्यसैले फिल्मबाट राम्रो प्रतिक्रिया पाउने आशामा उनी छिन् ।

‘फिल्म प्रदर्शनको खुसी र उत्साह त छदैछ । अलिअलि डर पनि लागि रहेको छ’, उनले भनिन् ‘दर्शकको प्रतिक्रिया जे आएपनि त्यसलाई आत्मसात गरेर अगाडि बढ्छु ।’

बिनिता पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएकी छन् । सन् २०१९ मा पढाइका लागि उनी अस्ट्रेलिया पुगेकी थिइन् । त्यहाँ पुगे पनि उनको मनमा नेपाली कला क्षेत्रप्रतिको मोह जीवित रह्यो र उनी फिल्म अभिनयको अवसरको पर्खाइमा थिइन् ।

उनको फिल्म प्रवेश प्रक्रिया रोचक छ । निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा कलाकार छनौटका लागि अडिसन लिइरहेका बेला उनले सामाजिक सञ्जालबाट सूचना पाइन् ।

‘मैले फेसबुकमार्फत एउटा दिदीले मेन्सन गरिदिनुभएको आधारमा अडिसन दिएँ’, उनले स्मरण गरिन् । अडिसनमा छानिएपछि अन्तर्वार्ताका लागि बोलाइयो । निर्देशक शोभित बस्नेतसँगको अन्तरवार्तापछि मात्र आफू फिल्मका लागि छानिएको उनले बताइन् ।

binita

फिल्ममा छनौट भएको क्षणमा उनको खुसीको सीमा थिएन, किनकि सानैदेखिको अभिनेत्री बन्ने सपना ‘पीआर’ले पूरा गर्दै थियो । सानो छँदा रेखा थापा, झरना थापा र निरुता सिंहजस्ता कलाकारको अभिनय र नृत्यबाट प्रभावित भएर आफूमा अभिनयको रुचि जागेको उनले बताइन् ।

बाल्यकालदेखि नै कलाकार बन्ने सपना पालेकी उनले सन् २०१८ मै मोडलिङ सुरु गरेकी थिइन् । उक्त समय ‘मिस फेमिना इन्टरनेशनल’मा भाग लिएर ‘मोस्ट पपुलर’ जस्ता अवार्ड पनि जितेकी थिइन् । तर, अस्ट्रेलिया गएपछि पढाई र करियरमा ध्यान केन्द्रित हुँदा निरन्तरता दिन सकिनन् । कुन समय अभिनय र मोडलिङ दुबै गर्नु भन्ने उनको मनमा भने थियो ।

‘पीआर’ शोभित बस्नेतले निर्देशन गरेका हुन् र यसको कथा नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्न गर्ने संघर्षमा आधारित छ । अस्ट्रेलियामा रहेका नेपाली युवाहरूको जीवनलाई उठाउन खोजेकाले यो फिल्म आफ्नो रोजाइमा परेको उनी बताउँछिन् ।

फिल्ममा उनले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् । उनको पात्रको नाम नेपालमा ‘परीक्षा’ र अस्ट्रेलियामा ‘परी’ छ । गाउँले केटीले विदेशमा कसरी सङ्घर्ष गर्छिन् भन्ने उनको भूमिकाले देखाउँछ । उनी भन्छिन्, ‘मेरो भूमिका एकदमै सस्पेन्स वाला छ ।’

फिल्मले विदेशिएका युवाहरूको दैनिक गुजारा, अभिभावकको अपेक्षा र सामाजिक दबाबलाई समेटेको उनको विश्वास छ ।

‘फिल्म विदेश जाने र जाने सोचमा रहेका व्यक्ति र अभिभावकले पनि हेर्नैपर्छ’, उनी भन्छिन्, ‘विदेशमा बस्ने छोराछोरीको वास्तविक सङ्घर्ष अभिभावकले पनि बुझ्न जरुरी छ ।’ अध्ययन सिलसिलामा ६ वर्षदेखि अस्ट्रेलिया सङ्घर्षरत उनी अझै सङ्घर्ष नसकेको बताउँछिन् । 

निरन्तरताको योजना ?

बिनिताले अभिनयको औपचारिक प्रशिक्षण भने लिएकी छैनन् । तर, पनि फिल्म अभिनय गर्न सफल भएकी छन् । निर्देशक राम्रो भए काम गर्न सहज हुने र हौसलाले नजानेको अभिनयको आँट आउने अनुभव उनले बटुलेकी छन् । 

एक फिल्मपछि हराएका थुप्रै कलाकार छन् फिल्म क्षेत्रमा । उनको हराउने कलाकारहरू नबन्ने योजना छ । उनी कला क्षेत्रमा निरन्तरता दिन चाहन्छिन् । 

‘म बच्चादेखि नै कलाकार बन्ने सपना बोकेको मान्छे हुँ । त्यतिबेला मैले अरुको क्यारिकेटर गर्द टिचरहरूले अनौठो विद्यार्थी भन्थेँ’,  उनले भनिन् ‘मेरो पढाइभन्दा पनि खेलकुद, गजल, डान्स र गायनमा बढी रुचि थियो ।’ उनी फिल्ममा फरक–फरक चरित्रमा काम गर्न उत्सुक छिन् ।

उनलाई कलाकारिताका लागि ठुला सपना देख्न डर लाग्छ रे । किनकि सपना पूरा नहुँदा आफैलाई सम्हाल्न गाह्रो हुने जो चिन्ता छ । यद्यपि, अब्बल भएर सर्वत्र चिनिने लोभ भने उनमा छ । टिक्न र बिक्न सङ्घर्ष गर्नुपर्छ भन्ने कुरामा उनी तयार छिन् । यदि नेपालमा अवसर निरन्तर भइरह्यो भने उनी यहीँ बसेर काम गर्न तयार छिन् ।

IMG_8387

‘हिरोइन’ हुनु भनेको फिल्मको मुख्य चरित्र मात्र नभई सार्वजनिक छविको जिम्मेवारी पनि हो भन्ने उनले राम्ररी बुझेकी छन् रे । उनी भन्छिन्, ‘हिरोइनले बोल्दा, हिँड्दा एकदमै सचेत हुनुपर्छ ।’ आफूलाई मेन्टेन गर्नुपर्ने, बडी र स्किन केयरदेखि लिएर मिडियासँग कसरी प्रस्तुत हुने भन्ने कुरामा ध्यान दिनुपर्ने उनको बुझाइ छ ।

उनका आगामी दिनमा सबैभन्दा पहिले समीर भट्ट र अनमोल केसी जस्ता कलाकारसँग काम गर्न चाहन्छिन् । फुर्सदमा ट्राभल गर्न, गीत सुन्न र खाना बनाउन मन पराउने उनलाई चाउमिन र नुडल्स अत्यधिक मनपर्छ । उनले आफू अहिले करियर निर्माण गर्ने समयमा रहेको र प्रेम गर्ने बेला नभएको बताउँदै विवाहको योजना पाँच–छ वर्षपछि रहेको सुनाइन् । जीवनसाथी लगनशील, इमान्दार र लोयल हुनुपर्ने उनको अपेक्षा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप