शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
साहित्य

नवराज लम्सालको कल्प : चिन्ता, चिन्तन र चैतन्यको त्रिवेणी

शनिबार, २७ मङ्सिर २०८२, ११ : ४९
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • नवराज लम्सालको 'कल्प' महाकाव्य प्रकृति, मानव चेतना र आध्यात्मिकताबीचको सन्तुलन पुनर्स्थापना गर्ने प्रयास हो।
  • महाकाव्यमा चिन्ता, चिन्तन र चैतन्य गरी तीन खण्ड छन्, जसले मानव अस्तित्वको यात्रालाई चित्रण गर्दछन्।
  • 'कल्प' ले पर्यावरणीय संकट र मानव अहंकारलाई उजागर गर्दै, आध्यात्मिक जागरणमार्फत समाधान खोज्ने प्रयास गर्छ।

विषय–प्रवेश
आधुनिक नेपाली महाकाव्यिक क्षितिजमा नवराज लम्साल एक विशिष्ट र ‘सेलिब्रेटी’ कविका रूपमा स्थापित नाम हो । उनका कविता र वैचारिक आलोकमा नेपाली साहित्यका पाठकहरू त्यसरी नै झुम्मिन्छन्, जसरी सुगन्धित पुष्पमा भ्रमरहरू रसास्वादनका लागि तानिन्छन् । 

समकालीन नेपाली कविता र विशेषतः महाकाव्य लेखनमा उनले जुन नवीन उभार ल्याएका छन्, त्यसले सुस्ताएको मानिने महाकाव्य विधालाई नूतन जीवन र पुनरागमनको मार्ग प्रशस्त गरेको छ । यही क्रमको पछिल्लो र सशक्त कडी हो– उनको महाकाव्यात्मक कृति ‘कल्प’ ।

साहित्यिक दृष्टिले हेर्दा नवराज लम्सालको कल्प महाकाव्य केवल एउटा पुस्तक मात्र होइन, यो एउटा युगीन घोषणापत्र हो । यो प्रकृति, मानव चेतना र आध्यात्मिकताबिच भत्किएको सन्तुलनलाई पुनर्स्थापना गर्ने एक विराट् प्रयत्न हो । 

‘कल्प’ शब्द आफैँमा पूर्वीय हिन्दु दर्शनको गहकिलो शब्दावली हो, जसले समयचक्र– अर्थात् सृष्टिदेखि प्रलयसम्मको लामो यात्रालाई जनाउँछ । तर, लम्सालको कल्पले केवल पौराणिक वा मिथकीय समयलाई मात्रै समातेको छैन; बरु यसले मानव सभ्यताको पर्यावरणीय पुनर्जागरणको रूपकलाई अगाडि सारेको छ ।

विश्वका महान् चिन्तकहरू पनि कविले उठाएको यस चेतनासँग सहमत देखिन्छन् । भारतीय स्वतन्त्रता संग्रामका महानायक तथा चिन्तक महात्मा गान्धीले भनेका थिए– ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्नका लागि पर्याप्त संसाधन प्रदान गर्छ, तर प्रत्येक व्यक्तिको लालचलाई पूरा गर्न सक्दैन’ लम्सालको ‘कल्प’ गान्धीको यही विचारको नेपाली काव्यिक प्रतिध्वनि हो । 

यसमा पृथ्वीको पीडा, मानव अहङ्कारको अधोगति र चेतनाको पुनर्जन्म एउटै वृत्तमा गुन्जिएका छन् ।

संरचनागत सौन्दर्य र विन्यास

कल्प महाकाव्यको बाह्य र आन्तरिक संरचना अत्यन्त वैज्ञानिक र दार्शनिक ढङ्गले निर्माण गरिएको छ । यो महाकाव्य मूलतः तीन खण्डमा विभाजित छ, जसलाई कविले चिन्ता, चिन्तन र चैतन्य नामकरण गरेका छन् । यी तीन खण्डले मानव अस्तित्वको स्थूलदेखि सूक्ष्मसम्मको यात्रालाई सङ्केत गर्छन् ।

पहिलो खण्ड ‘चिन्ता’ हो । यसभित्र पञ्चेन्द्रियका विषयहरू– शब्द, रूप, रस, गन्ध र स्पर्श गरी पाँच शीर्षकमा काव्यात्मक हारहरू उनिएका छन् । यो महाकाव्यको सबैभन्दा लामो र विस्तृत खण्ड हो, जसले भौतिक जगतका समस्याहरूलाई उजागर गर्छ ।

दोस्रो खण्ड ‘चिन्तन’ हो । यसले भौतिकताबाट माथि उठेर मानसिक र मनोवैज्ञानिक तहको विश्लेषण गर्छ । यसभित्र मन, बुद्धि, चित्त र अहङ्कार गरी चार शीर्षकहरू समेटिएका छन् ।

तेस्रो र अन्तिम खण्ड ‘चैतन्य’ हो । यसभित्र परा र अपरा गरी दुई शीर्षकमा उच्च दार्शनिक कविताहरू समेटिएको छ । समग्रमा, यो महाकाव्य तीन खण्ड र एघार सर्ग (उपशीर्षक) को सुगठित संरचनामा उभिएको छ । 

कविले यहाँ मान्छेका चिन्ताहरूलाई शब्द, रूप, रस, गन्ध र स्पर्शजस्ता इन्द्रियजन्य विषयहरूबाट उद्घाटित गर्दै, तिनलाई केवल समस्याका रूपमा होइन, समाधानको बाटोका रूपमा ‘चिन्तन’ र ‘चैतन्य’ (मोक्ष वा जागरण) सम्म पुर्‍याउने अभीष्ट राखेका छन् ।

खण्ड एकः चिन्ता

महाकाव्यको पहिलो खण्ड ‘चिन्ता’ मा कविले मानव इन्द्रिय र पृथ्वीको सम्बन्धलाई अत्यन्त संवेगात्मक रूपमा चित्रण गरेका छन् । पञ्चतत्व र पञ्चेन्द्रिय मानव चेतनाका प्रथम द्वार हुन्, तर आज यिनै द्वारहरू प्रदूषण, अनियन्त्रित उपभोग र नैतिक क्षयका प्रत्यक्ष साक्षी बनेका छन् ।

कवि लम्सालका शब्दमा आजको मानिस जीवन र मृत्युको दोसाँधमा उभिएको छ । उनी भन्छन्:

मर्नु र मारिनुको सीमारेखामा छु 

जीवन र मृत्युको अर्ध गोलार्धमा छु

समय र सपनाको धुली गोधुलीमा छु

सुक्दै गएको पानीको मूल र उड्दै गरेको माटोमा छु

यहाँ शब्दको अर्थ केवल ध्वनि होइन, बरु सत्यको आवाज हो । चाहे भौतिक आविष्कारले होस् वा प्रकृतिको अन्धाधुन्ध दोहनले, आज मृत्यु यति सस्तो भएको छ । उनी लेख्छन्

किन यति सस्तो छ मृत्यु

हात हातमा, हत्केला हत्केलामा

बस्ती बस्तीमा, गल्ली गल्लीमा

लहड लहडमा, रहर रहरमा

कविले यहाँ अमेरिकी प्रकृतिवादी लेखक हेन्री डेभिड थोरोको ‘वाल्डेन’ को दर्शनलाई स्मरण गराउँछन् । थोरोले भनेका थिए, ‘हामीलाई वनको औषधीय शान्ति चाहिन्छ... कहिलेकाहीँ हामी मौनताका लागि तड्पिन्छौँ । थोरोको मौन प्रेम र लम्सालको मौन विलाप एउटै चेतनाका दुई स्वरूप हुन् । 

आज शब्दहरू बाँच्छन् तर अर्थहरू मरिरहेका छन् । आवाज केवल स्वर बनेको छ र अर्थपूर्ण मौनता हराएको छ । यो केवल भाषाको विघटन होइन, एउटा अर्थहीन सभ्यताको संकेत हो ।

‘रूप’ शीर्षकमा कविले दृश्य संस्कृतिको विलास र कृत्रिमताप्रति तीखो व्यंग्य गरेका छन् । आजको बजारले मृत्युलाई पनि सजाएर बेच्न खोजिरहेको छ । उनी असाध्यै मिठो शब्दमा लेख्छन्:

हो आज मलाई यही कथा भन्नू छ

र मृत्यु स्वयंलाई पनि सोध्नु छ

आज मान्छे मरिरहेछन् कि मारिरहेका छन् ?

यो पङ्क्तिले जर्मन दार्शनिक मार्टिन हाइडेगरको मृत्युन्मुख सत्ताको अवधारणालाई झक–झकाउँछ । के हामी साँच्चै बाँच्नका लागि बाँचेका छौँ वा केवल मृत्युको प्रतीक्षामा छौँ ?

त्यसैले कवि लेख्छन्, ‘हरियो रङ अब प्लास्टिकको छालामा फलेको छ’ । यो पङ्क्तिले फ्रान्सेली दार्शनिक जीन बाउड्रिलार्डको ‘सिमुलाक्रा’ को सिद्धान्त स्मरण गराई दिन्छ, जहाँ वास्तविकता हराएर त्यसको कृत्रिम ‘प्रतिरूप’ नै सत्य जस्तो बन्न पुगेको छ । आज प्रकृति अनुभव गर्ने विषय रहेन, विज्ञापनको पर्दा मात्र बनेको छ ।

‘रस’ जीवनको सार हो तर आज जीवन निचोरिएको उखु जस्तै रसहीन भएको छ । उपनिषद्ले ‘रसो वै सः’ (परमात्मा नै रस स्वरूप हो) भने पनि आजको मानिस संवेदनाहीन भएको छ । यही संवेदनहीनतालाई कवि यसरी व्यक्त गर्छन्

शब्द थियो तर उच्चारण थिएन

उत्सुकता थियो तर उत्तर थिएन

हाँसेको थिएँ तरल ओठ थिएन

बोलेको थिएँ तर शब्द संवेग थिएन ।

यो अवस्थाले आधुनिक मानवरूपी पात्रको हृदयविहीनता चित्रण गर्छ । यो सन्दर्भमा टीएस इलियटको ‘द वेस्ट ल्यान्ड’ का पङ्क्तिहरू सान्दर्भिक हुन आउँछन् । इलियट भन्छन्, ‘अप्रिल इज द क्रुएस्ट मन्थ’ अर्थात अप्रिल सबैभन्दा क्रूर महिना हो । 

लम्सालको रसविहीनता र इलियटको वेस्ट ल्याण्ड दुवैमा मानव सभ्यताको आध्यात्मिक बाँझोपनको प्रतिध्वनि सुनिन्छ । गन्ध पृथ्वी तत्वको परिचायक हो । तर आज पृथ्वीको सुगन्ध हराएर दुर्गन्धित भएको छ । कवि लेख्छन्ः

माटोको गन्ध हरायो

अब पृथ्वी औषधीय होइन, रोगमूलक छ

कवि पृथ्वीको मातृवत् रूपको वकालत गर्दै भन्छन्ः 

पृथ्वी हुँ, पृथ्वी रूप आमा 

म सबैलाई कोख दिन्छु, काख दिन्छु

यी पङ्क्तिहरू रासेल कार्सनको प्रसिद्ध कृति ‘साइलेन्ट स्प्रिङ’ को पर्यावरणीय चित्कारसँग मेल खान्छन् । कार्सनले रासायनिक विषादीले प्रकृतिको गन्ध र ध्वनि मारेको बताएकी थिइन् भने लम्सालले त्यही सत्यलाई नेपाली माटोमा उभिएर काव्यिक रूप दिएका छन् ।

‘स्पर्श’ खण्डमा कविले मानव र प्रकृतिबीच हराएको आत्मीय सम्बन्ध पुनः जागृत गर्न आग्रह गर्छन् । वायु तत्वसँग जोडिएको स्पर्शको संवेदनशीलता आज मानिसले नै ध्वस्त बनाई सकेको छ ।

पीपलको चोप चुसेर

पीपलकै बोटमुनि

अझै हुर्किरहेका छन्–छैनन् 

पीपल जस्तै नानीहरू ?

यो प्रश्नले हाम्रो परम्परा र भविष्यमाथिको चिन्ता जाहेर गर्छ । यो भाव अल्बर्ट स्वाइट्जरको ‘रेभेरेन्स अफ लाईफ’ (जीवनप्रतिको सम्मान) दर्शनसँग मिल्छ, जहाँ उनी भन्छन्– म बाँच्ने इच्छा भएको जीवन हुँ, जो बाँच्ने इच्छा भएका अन्य जीवनहरूको बीचमा छु ।

खण्ड दुईः चिन्तन

महाकाव्यको दोस्रो खण्ड ‘चिन्तन’ मा कवि स्थूल इन्द्रियहरूबाट सूक्ष्म मनोवैज्ञानिक तहमा प्रवेश गर्छन् । यहाँ मन, बुद्धि, चित्त र अहङ्कारको विश्लेषण गरिएको छ । मन अस्थिर छ, कहिले बादल बन्छ त कहिले वर्षा । कविले यहाँ भावी पुस्तासँगको संवादमार्फत आशावाद र कर्तव्यको बोध गराएका छन् । उनी लेख्छन्ः

ब्युँझ छोरी उठ !

तिमी पीपल रोप्दारोप्दै अघि बढ

म पानी हाल्दै हाल्दै आउनेछु

यहाँ पीपल रोप्नु र अघि बढ्नुले संरक्षणको चेत तथा भविष्यको खाँचो मात्रै होइन हाम्रा भावि पुस्तालाई यिनीहरुको महत्वबोध गराउने खाँचोको बिम्व पनि हो । यो सङ्घर्ष र निरन्तरताको बिम्ब हो । 

अल्बर्ट कामुको ‘द मिथ अफ सिसिफस’ लाई सम्झाई दिन्छ यसले, जहाँ सिसिफसको निरन्तरको सङ्घर्ष नै उसको अस्तित्वको सार हो । उनी लेख्छन्, ‘उचाईतिरको संघर्ष नै मानिसको हृदय भर्न पर्याप्त छ । सिसिफस खुसी भएको कल्पना गर्नुपर्छ ।’

मानिसको बुद्धिले आज ब्रह्मलाई काट्न खोज्दै छ, तर आफैँभित्रको खालीपन भर्न सकेको छैन् ।

तीर्थ गर वा नगर

स्नान गरेर मेला भर वा नभर

तर देवीघाटको संगममै सिमेन्ट उठाएर

कसरी बनाउँछौ स्विमिङ पुल ?

यो वैज्ञानिक घमण्डमाथिको प्रहार हो । अल्बर्ट आइन्स्टाइनले भनेझैँ– यदि मानवजाति बाँच्ने हो भने हामीलाई सोच्ने नितान्त नयाँ तरिका चाहिन्छ । लम्सालले पनि विकासको नाममा भइरहेको विनाशप्रति बुद्धिको सही प्रयोग गर्न माग गरेका छन् । बुद्धिको नम्रता र करुणासँगको समायोजनमा कविले दोहनमाथि आक्रोशको आगो ओकलेका छन् ।

चित्त मानव आत्माको केन्द्र हो । चित्त फोहर भए संसार फोहर देखिन्छ । बौद्ध दर्शनको ‘चित्तं दंमयति पण्डितो’ (बुद्धिमान् व्यक्तिले चित्तलाई नियन्त्रण गर्छ) भन्ने भाव यहाँ मुखरित छ । कवि प्रश्न गर्छन्ः 

धाराको पानी कसको ?

बगैंचाको फूल कसको ?

आकाश कसको हो ? 

हावा कसको हो ?

कवि थप्छन्ः 

मेरै छाती दिएर हिँडाइरहँदा त 

कोही मेरा भएनन्

स्वाथ्र्यको मलमल ओढेर 

मगन्ते ढुङ्ग्रो बोक्ने शासक

आफूलाई युगको दधिची ठान्छ

मलाई कति बिरक्त लाग्छ मै भन्न सक्दिन

साँध–सिमाना र स्वामित्वको भ्रममा परेको मानिसलाई कविले चित्त शुद्ध गर्न आग्रह गरेका छन् । अहङ्कार नै अविद्याको जड हो । ‘म’ भन्ने भावले नै प्रकृतिमाथि विजय प्राप्त गर्ने दुस्साहस गरायो । कवि भन्छन्ः 

मान्छे माटो मेरो भन्छ

बाटो मेरो भन्छ

आकाशमा बार लगाउँछ

फूलको सुगन्ध बोलतमा कैद गर्छ

यो पङ्क्ति जेम्स लभलकको ‘गाया हाइपोथेसिस’ को मर्म हो । पृथ्वी निर्जीव वस्तु होइन, यो एक जीवित प्रणाली हो । हामीले यसलाई चोट पु¥यायौँ भने यसले पनि प्रतिक्रिया जनाउँछ । लम्सालले वैदिक मन्त्र ‘सह नाववतु सह नौ भुनक्तु’ (हामीसँगै सुरक्षित रहौँ, सँगै भोजन गरौँ) को भावमार्फत अहङ्कार त्यागी सहअस्तित्वमा बाँच्न प्रेरित गरेका छन् ।

खण्ड तीनः चैतन्य

तेस्रो तथा अन्तिम खण्ड ‘चैतन्य’ मा कवि आत्मिक शिखरमा पुग्छन् । यहाँ परा र अपरा दुई तहमा चेतनाको व्याख्या गरिएको छ । कविले पशुपति आर्यघाटको दृश्यमार्फत जीवनको नश्वरता र भौतिक भ्रमलाई देखाएका छन् । उनी लेख्छन्

छेउमा जलिरहेछ लास

तर रातको शून्यमा

लास जलेको आवाज पनि

चर्को सुनिदो रहेछ

आगोको बेसुरा राग बिझायो कानमा

 

रोइरहेछन् आफन्त

एउटा मान्छे

जल्दै गरेको लासमा 

हरियो बाँसले 

हिर्काइरहन्छ, घोचिरहन्छ

यो प्लेटोको ‘एलोग्री अफ द केभ’ जस्तै छ, जहाँ मानिसहरू छायालाई सत्य मानेर बाँचिरहेका छन् । ‘अपरा’ विद्या त्यो भौतिक संसार हो जहाँ मानिस लोभ र मोहमा फसेको छ । कवि त्यसदेखि माथि उठ्न आग्रह गर्छन् । ‘परा’ शीर्षकमा कवि ब्रह्म–चेतना वा पूर्णत्वको अवस्थामा पुग्छन् । बोट, पानी, ढुङ्गा र हावा– सबै मेरो अंश हुन् भन्ने उनको दावि छ ।

यो अद्वैत वेदान्तको सार हो । ‘सम्पूर्ण जीवन नै योग हो’ भन्ने भारतीय दार्शनिक श्री अरविन्दले भनेझैँ उनी पनि त्यसैगरि पोखिन्छन् । नर्वेजियन दार्शनिक आर्ने नेसको ‘डिप इकोलोजी’ को दर्शन, जसले आत्मबोध भनेको सबै प्राणीमा आफूलाई देख्नु हो भन्छ त्यससँग मिल्न जान्छ । लम्सालको ‘चैतन्य’ खण्डले यही विश्व–एकत्वलाई उद्घाटित गरेको छ ।

निष्कर्ष

नवराज लम्सालको ‘कल्प’ महाकाव्य तीन खण्डभित्र त्रि–आयामिक चेतनात्मक यात्रा हो । यो इन्द्रियजन्य ‘चिन्ता’ बाट सुरु भई, बौद्धिक ‘चिन्तन’ हुँदै आध्यात्मिक चैतन्यसम्मको आरोहण हो ।

कविको दृष्टिमा पृथ्वी केवल उपभोग्य पदार्थ होइन; यो चेतनायुक्त प्राणी हो, जसको हृदयमा पीडा, मौनता र प्रतिशोध सबै अट्छन् । विश्व साहित्यका पर्यावरणविद्हरू– राचेल कार्सनदेखि जेम्स लभलक र आर्ने नेससम्मले दिएका चेतावनी र दर्शनलाई लम्सालले नेपाली माटो सुहाउँदो मिथकीय र काव्यिक मिठासका साथ पस्केका छन् ।

उनको कल्प आधुनिक विश्वका लागि एक आध्यात्मिक पर्यावरणीय घोषणापत्र हो । यसले भन्छ– प्रकृतिको विनाश, हाम्रो भित्री चेतनाको विनाशको प्रतिफल हो । तसर्थ, पुनःसन्तुलनको बाटो केवल बाहिरी नारामा होइन, भित्री आध्यात्मिक जागरणमा मात्र सम्भव छ ।

अन्ततः दर्शनको गहिराइ, आधुनिक पर्यावरणीय संकटको यथार्थ र वैश्विक सहअस्तित्वको चाहनालाई त्रिवेणी बनाएर लेखिएको कल्प महाकाव्यले नेपाली साहित्यमा मात्र होइन, विश्व पर्यावरणीय चिन्तनमा पनि चैतन्यको पर्यावरणीय दर्शनरुपि छाप छोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप