शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

प्रशासकको अनुभव पुस्तक: द्वन्द्वकालीन प्रशासकका पीडाहरू

शनिबार, २७ मङ्सिर २०८२, १३ : ५२
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • तारानाथ गौतमको पुस्तक 'द्वन्द्वकालीन प्रशासकका पीडाहरू' मा द्वन्द्वकालमा प्रमुख जिल्ला अधिकारीको अनुभव समेटिएको छ।
  • पुस्तकमा लेखकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदाका पीडादायी घटना र भोगाइहरूलाई दुई खण्डमा प्रस्तुत गरेका छन्।
  • पुस्तकमा राजनीतिक दलका नेताहरूको भूमिका, प्राकृतिक विपत्ति र निर्वाचनमा प्रशासकको भूमिकाबारे पनि चर्चा गरिएको छ।

पूर्व प्रशासक तारानाथ गौतमद्वारा लिखित पुस्तक ‘ द्वन्द्वकालीन प्रशासकका पीडाहरू’ केही समय अघि बजारमा आएको छ । यसका लेखकले जागीरे जीवनको झन्डै अढाई दशकसम्म देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको अनुभव सँगालेको पाइन्छ । दुई खण्डमा लिखित यो पुस्तकमा पहिलो खण्डमा पाँच र दोस्रो खण्डमा सोह्र वटा लेखहरू छन् । 

सबै लेखमा आफ्नो कार्यक्षेत्रमा घटित कुनै न कुनै किसिमका पीडादायी घटना र सन्दर्भको उल्लेख पाइन्छ । पुस्तकको पहिलो खण्ड माओवादी आन्दोलन उत्कर्षमा रहेको समय प्रमुख जिल्ला अधिकारी भएर विभिन्न जिल्लामा रहँदा घटेका अविस्मरणीय घटना र भोगाइहरू समेटिएका छन् । जसमा तत्कालीन प्रमुख जिल्ला अधिकारी समेत मारिएको अछामको दोहोरो भिडन्त, डोटी र अछामको सीमामा भएको अर्को भिडन्त, प्युठानमा भएको भिडन्तमा परी कामको खोजीमा भारत जान लागेका तीनजना निर्दोष युवाको निधन, प्युठानमै कार्यरत रहँदा आफ्नै निवासमा बम प्रहार तथा युद्धका घटनाले आफ्ना साना छोरीहरुको बाल मनोविज्ञानमा परेको असरलाई सविस्तार वर्णन गरिएको छ पुस्तकमा ।

पुस्तकको दोस्रो खण्डमा उल्लिखित सोह्र वटा लेखमा पनि लेखक प्रमुख जिल्ला अधिकारी भएर विभिन्न जिल्लामा खटिदा सिर्जित अप्ठ्यारा परिस्थितिको उल्लेख गरिएको छ । तिनताका आफू र आफ्ना सहकर्मी तथा तालुक निकायसँगको समन्वय तथा सहयोगमा ती अप्ठ्यारा परिस्थितिहरू समाधानका लागि खेलेको भूमिकाबारे पनि पुस्तकमा मिठो गरी वर्णन गरिएको छ । 

अधिकांश लेखमा जिल्लामा राजनीतिक दलका नेता/कार्यकर्ताबाट आफ्नो र दलीय स्वार्थका लागि परिस्थितिलाई समाधानतर्फ लैजानुको सट्टा झनै जटिल बनाउने प्रवृत्तिको चित्रण गरिएको पाइन्छ । त्यसैगरी कतिपय लेखमा प्राकृतिक विपत्तिको समयमा जिल्ला प्रशासकको भूमिका, निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको समन्वयकारी र तटस्थ भूमिका कस्तो रह्यो भनेर पनि सविस्तार वर्णन गरिएको पाइन्छ । 

पुस्तकको लेखन पक्ष यति सरल, सशक्त र पठनीय छ कि एक सय ७५ पेजको पुस्तक पढ्न थालेपछि नसकिन्जेल बिचमा छोड्न पटक्कै मन लाग्दैन । यो पुस्तकको अध्ययनबाट प्रमुख जिल्ला अधिकारी पद एउटा जागिरे कर्मचारी मात्र नभएर जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न, विकास आयोजनाहरूलाई निर्बाध अघि बढाउन, विभिन्न जात, जाति, सम्प्रदाय, पेसाबिच पारस्परिक सद्भाव र सन्तुलन कायम राख्ने महत्त्वपूर्ण निकाय भएको अनुभूत हुन्छ ।

पुस्तकको अध्ययनले जिल्ला प्रशासकले पेसागत दायित्व निर्वाहका लागि आफू र आफ्नो परिवारलाई भन्दा आफ्नो जिम्मेवारी र कार्यक्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने रहेछ भन्ने बोध गराउँछ । लेखकले पनि यस पुस्तकमा विभिन्न अवस्थामा त्यस्तै भूमिका निर्वाह गर्दा भोग्नु परेका पीडाको सशक्त वर्णन गरिएको पाइन्छ । 

प्रमुख जिल्ला अधिकारी बन्ने रहर धेरै कर्मचारीमा हुनसक्छ, तर लेखक गौतममा जस्तो सफल सिडिओ बन्नका लागि चाहिने गुण र निर्णय क्षमता सबैमा नहुन सक्छ । सफल प्रशासकमा हुनुपर्ने गुण र क्षमताले मात्रै त्यो पद र सम्मानप्रति न्याय गर्न सकिन्छ भन्ने लेखकको पुस्तक पढेपछि थप महसुस हुन्छ । 

लेखकको जिम्मेवारीप्रतिको दायित्वले गर्दा नै सरकारले पहाडका प्युठान, खोटाङ, भोजपुर आदि जिल्लादेखि तराइका मोरङ, महोत्तरी, बारा, पर्सा, रुपन्देही जस्ता महत्त्वपूर्ण जिल्लाहरूको नेतृत्व लिन उनलाई पठाएको थाहा हुन्छ । जिल्ला प्रशासक जस्तो जटिल र संवेदनशील पेसामा रहेर पनि साहित्यका विभिन्न विधामा उत्तिकै कलम चलाउने लेखकका यो बाहेक पनि अन्य धेरै गीत, कविता, लेख तथा खण्डकाव्यहरू प्रकाशित छन् । 

पीडाका कठिन क्षणहरूलाई पनि सिर्जनामा बदलेर यति सुन्दर कृति जन्माउन सक्नु लेखकको विशिष्ट क्षमता हो । अन्त्यमा, लेखकको अगाध स्मृति भण्डार र उर्वर सृजनशीलताको अनुपम संयोजनबाट आगामी दिनमा पनि यस्तै सुरुचिपूर्ण पुस्तकहरू प्रकाशन होउन् र पाठकले त्यसको स्वाद लिन पाई रहुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राममणि दुवाडी
राममणि दुवाडी
लेखकबाट थप