म र प्रचण्डजीले राम्रा काम पनि गरेका छौँ तर केही गरेनन् भन्छन् : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले कम्युनिस्ट सरकारले गरेका कामहरूको बचाउ गर्दै राम्रा काम गरेको दाबी गरे।
- उनले मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम जस्ता काम कम्युनिस्ट सरकारले गरेको बताए।
- नेपालले इमानदारिता र साझा भावना बिना देश समृद्ध नहुने कुरामा जोड दिए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गरेका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गरे ।
नेपालले भने- ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भन्छन् ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिस्ट सरकारकै पालामा भएको उनको दाबी छ ।
उनले जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने भने स्वीकार गरे । भने, ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’
सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इमानदारहरूको पार्टी हुने बताए । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको भनाइ थियो ।
उनले थपे, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण