पर्यटक भिसामा महिलालाई कुवेत पठाउन गिरोह नै सक्रिय
सारांश
- कुवेतमा घरेलु कामदारका रूपमा पठाउन बिचौलियाहरूले महिलालाई पर्यटक भिसामा पठाउने गरेको खुलासा भएको छ।
- ओमनको भिसा देखाएर महिलालाई कुवेत पठाउने गिरोह सक्रिय रहेको र यसमा संलग्नलाई कारबाही गरिने अध्यागमन विभागले जनाएको छ।
- भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुलिँदै आएपछि पर्यटक भिसा सम्बन्धी मापदण्ड परिमार्जन गरिएको छ।
काठमाडौँ । पर्यटक भिसा लगाएर महिलालाई कुवेत पठाउने गिरोह नै सक्रिय भएको भेटिएको छ ।
बिचौलियाहरूले कुवेतमा घरेलु कामदारका रूपमा पठाउन नेपाली महिलालाई पर्यटक भिसामा पठाउने गरेका छन् । सरकारले २०७३ सालदेखि घरेलु कामदार कुवेत पठाउन रोक लगाएको थियो, तर बिचौलियाहरूले घुम्न जाने कागजात बनाएर त्यहाँ काम गर्ने गरी महिलाहरूलाई पठाउन थालेको भेटिएको हो ।
डिसेम्बर ५ मा गिरोहले ‘सेटिङ’ मिलाएर एक महिलालाई कुवेत पठाए । कुवेत जान उनले हिमालय एयरलाइन्सको बोर्डिङ पास लिएको देखिन्छ ।
बिचौलियाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमनको पर्यटक भिसा देखाएर ती महिलालाई कुवेत पठाएका हुन् । विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा उनले ओमनको भिसा पेस गरेको भेटिएको छ ।
नेपालबाट ओमन जान पर्यटक भिसा लाग्ने भएकाले बिचौलियाहरूले सो सुविधाको दुरुपयोग गरी महिलालाई कुवेत पठाएका हुन् । विमानस्थलमा देखिएको भिसाअनुसार ओमन जानुपर्ने ती महिला हिमालय एयरलाइन्सको सीधा उडानमार्फत कुवेत पुगेको विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
घरेलु काम गर्न पठाइएकी ती महिलाले भिसाअनुसार गन्तव्य देशसम्मको बोर्डिङ लिएर जानुपर्नेमा कुवेत गएकी हुन् । विमानस्थल अध्यागमन कार्यालयका ती अधिकृत भन्छन्, ‘सबै कागजात ओमनको देखाएपछि त्यहीँ जानुपर्ने थियो, तर कुवेत गएको देखिन्छ । ती महिलासँग कुवेतको अर्को भिसा पनि हुन सक्छ ।’ उनका अनुसार महिलाले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र उक्त भिसा देखाइन्, काठमाडौँमा देखाइनन् ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको निर्णयविपरीत मुलुकमा घरेलु कामदार पठाएको भेटिए त्यसमा संलग्नहरूलाई कारबाही गरिने बताएका छन् । उनले भने, ‘कुवेतमा घरेलु कामदारको रूपमा कसैले पठाउँछ भने त्यसबारे छानबिन हुन्छ ।’
कुवेत सरकारले भिजिट भिसामा जाने नेपालीहरूलाई कडाइ गर्दै आएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट नेपालबाट बिचौलियाहरूले कुवेत पठाएर त्यहाँ घरेलु काममा लगाउने र उनीहरू श्रम तथा यौनशोषणमा पर्ने गरेको पत्ता लागेको छ ।
चीनमा समेत मानव तस्करी
अधिकारीहरूका अनुसार पछिल्लो समय ओमनको भिसा लगाएर गिरोहले महिलाहरूलाई चीनतर्फ पनि तस्करी गर्ने गरेको पाइएको छ । चीनमा बच्चा जन्माउन लगाएर त्यसबापत कमिसन लेनदेन गर्नेहरू सक्रिय देखिएको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले दाबी गरेका छन् ।
काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा कात्तिक २९ गते चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।
सोह्रखुट्टेस्थित मिलिजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको थियो । विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताएअनुसार उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको हो ।
भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूबाट सेटिङमा रकम असुलिने गरेको तथ्य बाहिरिएसँगै पर्यटक भिसामा विदेश यात्राका लागि आवश्यक पर्ने कागजातसम्बन्धी ‘मापदण्ड’ परिमार्जन गरिएको छ । २०८० माघ १० देखि लागू गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड खारेज गरेर गृह मन्त्रालयले कात्तिक १३ गतेदेखि नयाँ मापदण्ड लागु गरेको हो ।
महानिर्देशक तिवारीले बताएअनुसार परिमार्जित नयाँ मापदण्डअनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।
भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र भ्रमणबाट सिर्जित परिणामका लागि स्वयं जिम्मेवार रहने व्यहोराको स्वघोषणा फारम भराएर भिजिट भिसामा प्रस्थान अनुमति दिइनेछ ।
अध्यागमन विभागको निष्कर्ष छ कि ६ बुँदे मापदण्डका कारण बिचौलियाहरूले चलखेल गरी ‘सेटिङ’ धन्दा सञ्चालन गरेका थिए ।
नयाँ मापदण्ड यस्तो छः
–कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।
–सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा ‘अन अराइभल भिसा’ प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने ।
–प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट ।
–आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण