बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयआर्जनमा जोडिँदै तानसेनका महिला

बुधबार, ०२ पुस २०८२, १७ : १२
बुधबार, ०२ पुस २०८२

पाल्पा । तानसेन नगरपालिकाभित्रका महिला सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् ।

स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक तालिम दिन थालेपछि आयआर्जनका क्षेत्रमा महिलाको सक्रियता बढ्न थालेको हो ।

आफू आयआर्जनमूलक काममा लागे मात्रै परिवारलाई आर्थिक रूपमा सबल बनाउन सकिने भएकाले रोटी बनाउने सीप सिकेर व्यवसाय गर्न थालेको तानसेन नगरपालिका वडा नम्बर २ स्थित असनटोलकी मञ्जु बज्राचार्यले बताइन् ।

२ नम्बर वडा कार्यालयले आर्थिक सहयोगमा असनटोल विकास संस्था–३ ले रोटी बनाउने तालिम दिएसँगै आफूहरू आयआर्जनमा जोडिन थालेको उनको भनाइ छ ।

बज्राचार्यले भनिन्, “समूहमा नेवारी कला, संस्कृति तथा परम्परामा आधारित रोटी बनाउने तालिम लिएपछि हामी व्यवसायिक रूपमा लाग्न थालेका छौँ ।”

महिलालाई आयआर्जन पनि हुने र परम्परागत संस्कृति पनि जर्गेना हुने भएकाले यहाँका महिलालाई लोपोन्मुख अवस्थामा पुगेका नेवारी समुदायका परम्परागत रोटीका परिकार बनाउने तालिम दिइएको असनटोल विकास संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यले बताइन् ।

उनले भनिन्, “पछिल्लो समय आधुनिक जीवनशैली, बाहिरी फास्टफुड खाना खाने संस्कृतिको प्रभाव र पुस्तान्तरणको अभावका कारण नेवारी समुदायमा चलनचल्तीमा रहेका पाते र लाखामरीजस्ता परिकार हराउँदै जान थालेपछि त्यको संरक्षण र प्रवर्द्धन गर्नुका साथै महिलालाई आयआर्जनमा जोड्न सीप सिकाइएको हो ।”

महिलाले रोटी बनाउने तालिम लिएपछि अधिकांशले व्यवसायिक रूपमा काम गर्न थालेका छन् । व्यवसायिक रूपमा काम गर्न थालेपछि महिलाले अहिले सानातिना घरखर्च आफैँले टार्न थालेका छन् ।

तानसेन असनटोली पूर्णकला शाक्य केही वर्षअघिसम्म घरको काममा मात्रै व्यस्त थिइन् । घरायसी सामानको खरिदका लागि उहाँलाई पतिकै भर पर्नुपर्ने बाध्यता थियो ।

समूहमा आवद्ध भएर सीप सिक्नुभएकी उनले अहिले आफैँ आत्मनिर्भर बन्ने उपाय खोज्न थाल्नुभएको छ । रोटी बनाएर राम्रो आम्दानी गर्न सकिनेमा उनले विश्वस व्यक्त गरिन् ।

तानसेन एउटा सांस्कृतिक महत्व बोकेको सहर भएकाले यहाँ रहेका विभिन्न जातजातिका परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै महिलाले प्रशस्त आम्दानी गर्न सक्ने भएकाले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइने वडाध्यक्ष महेश्वर श्रेष्ठले बताए । महिला आत्मनिर्भर बन्नु नै समग्र समाज र देशको आर्थिक विकासको आधार भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप