बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थीको कपाल जथाभाबी मुण्डन नगर्न काठमाडौँ महानगरको निर्देशन

बिहीबार, ०३ पुस २०८२, ०९ : ०२
बिहीबार, ०३ पुस २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीको कपाल काट्न रोक लगाएको छ।
  • लामो कपाल भएका विद्यार्थीलाई मानसिक यातना दिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो।
  • शिक्षा विभागले आचारसंहिता बनाउँदा विद्यार्थीलाई यातना नहुने कुरामा ध्यान दिन आग्रह गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका विद्यालयहरूलाई विद्यार्थीको कपाल लामो भएको निहुँमा जथाभाबी मुण्डन  नगर्न निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले बुधबार एक परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो।

केही विद्यालयहरूले कपाल लामो भएको भन्दै छात्रहरूको कपाल जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै महानगरमा गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाएर लागू गर्न सक्ने व्यवस्था भए पनि सोही नियमावलीको नियम १३३ (१) (ट) ले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराएको छ।

महानगरले कानुनमा भएको उक्त व्यवस्थालाई उद्धृत गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी मात्र आचारसंहिता पालना गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ।

597718660_754197603661237_3241976409359409073_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप