शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमाल

आइतबार, ०६ पुस २०८२, ०९ : ५२
आइतबार, ०६ पुस २०८२

कैलाली । सुदूरपश्चिममा रहेको अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ ।

स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।

योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताए । 

अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उनले जानकारी दिए । 

 पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएका छन् । रैथाने उत्पादन र परिकारको माग बढेसँगै स्थानीय कृषि उत्पादन समेत बजारमा पुग्न थालेको छ ।

पर्यटन अहिले स्थानीयका लागि जीविकोपार्जनको प्रमुख आधार बन्दै गएको अध्यक्ष बोहराले बताए । प्राकृतिक मनोरम दृश्यले भरिएकाले गाउँपालिकाले पर्यटन आकर्षित गर्न ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, होमस्टे तथा टी–हाउस सञ्चालकलाई तालिम, साइनेज र नक्शा निर्माण लगायत कार्यलाई प्राथमिकतामा राखेको छ । अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ ।

काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ । बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप