शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सर्वसाधारणको थलो

एक दशकको ‘बन्दी’पछि खुला भएको खुलामञ्च

राजनीतिक विरासतको भूमिमा अब नागरिकको पदचाप
आइतबार, ०६ पुस २०८२, २० : ००
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । संघीय राजधानी काठमाडौँको मुटुमा रहेको ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा-सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गर्थ्यो । तर २०७३ वैशाखदेखि विभिन्न बहानामा खुलामञ्च बन्द रह्यो । सोही वर्ष पुरानो बसपार्कलाई खुलामञ्चमा अस्थायी रुपमा सारियो । राजनीतिक कार्यक्रम भने २०७३ फागुन १ गते खुलामञ्चको एक कुनामा अन्तिम पटक भएको थियो, जुन सभाको आयोजना नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले गरेको थियो । 

बन्द भएको करिब एक दशकपछि खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले आइतबारबाट फेरि सर्वसाधारणका लागि खुला गरेको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा खुल्ला मञ्चमा पहिलो कार्यक्रम आयोजना गरिएको छ । अबको करिब दुई हप्तामा निर्माण व्यवसायीले काम सम्पन्न गरी हस्तान्तरण गरेपछि खुल्ला मञ्च नियमित रूपमा सञ्चालनमा आउनेछ । यद्यपि सर्वसाधारणको पहुँचमा भने आजैबाट खुला गरिएको महानगरले जनाएको छ ।

खुलामञ्च केवल एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो । तर विगत एक दशकदेखि यो ऐतिहासिक स्थल कहिले निर्माण सामग्री थुपार्ने थलो त कहिले अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो । अब यो क्षेत्र बिहानी हिँडडुल, योग, ध्यान र खेलकुदका लागि उपयोग गर्न सकिने भएको महानगरको दाबी छ ।

राजनीतिक भूमिको ऐतिहासिक विरासत

नेपाली राजनीतिको इतिहासमा खुलामञ्चको विशिष्ट स्थान छ । विशेषगरी २०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि यो क्षेत्र राजनीतिक कार्यक्रमहरूको मुख्य केन्द्रका रूपमा उदाएको थियो । जनमत संग्रहको तयारीका क्रममा जननेता बीपी कोइरालाले खुलामञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए । सो सभामा उनले बहुदलको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्दै तत्कालीन पञ्चायती सरकारलाई दूरगामी महत्त्वका निर्णय नगर्न चेतावनी दिएका थिए । यद्यपि जनमत संग्रहको नतिजा बहुदलको पक्षमा आएन, तर खुलामञ्चले नेपाली राजनीतिमा जनआवाज बुलन्द गर्ने एउटा स्थायी थलोको पहिचान बनायो ।

२०४६ सालको जनआन्दोलन र त्यसपछिको परिवर्तनमा पनि खुलामञ्चको भूमिका अहम् रह्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता शीर्ष नेताहरूले यही मञ्चबाट नागरिकलाई सम्बोधन गर्दै प्रजातन्त्रको जग बलियो बनाएका थिए । २०६२/६३ को दोस्रो जनआन्दोलनको सफलता र लोकतन्त्रको घोषणा पनि यही ऐतिहासिक स्थलबाट भएको थियो । शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी र मधेस केन्द्रित दलहरूले आफ्ना एजेन्डाहरू राख्न पटक–पटक यही मञ्चको प्रयोग गरे । काठमाडौँका माइतीघर मण्डला र प्रदर्शनीमार्ग जस्ता क्षेत्र साँघुरा हुँदै जाँदा खुलामञ्च ठुला जनसभा र विरोध प्रदर्शनका लागि एक मात्र निर्विकल्प स्थल भएपनि प्रयोग हुन सकेको थिएन । 

अतिक्रमण र अवरोधको एक दशक

विगत १० वर्ष खुलामञ्चका लागि निकै कष्टकर रह्यो । २०७२ सालको विनाशकारी भूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कूल जस्ता ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सुरु भयो । ती संरचना बनाउन आवश्यक इँटा, बालुवा, रड र सिमेन्ट जस्ता सामग्री राख्ने गोदामका रूपमा खुलामञ्चलाई प्रयोग गर्न थालियो । त्यसलगत्तै पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर निर्माण सुरु भएपछि बसपार्कलाई अस्थायी रूपमा खुलामञ्चभित्र सारियो । यसले गर्दा खुलामञ्चको ठुलो हिस्सा बसहरूको पार्किङ र धुलो–धुवाँले कुरूप बन्यो ।

यति मात्र होइन, खुलामञ्चलाई व्यावसायिक स्वार्थका लागि समेत प्रयोग गर्ने प्रयास भए । २०७१ सालमा महानगरपालिकाले यहाँ भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो, तर सम्पदा अभियन्ता र नागरिक स्तरबाट भएको तीव्र विरोधका कारण त्यो योजना सफल हुन सकेन । तर बसपार्क सञ्चालनका क्रममा केही ठेकेदारले महानगरका कर्मचारीसँगको मिलेमतोमा खुलामञ्चभित्रै व्यावसायिक सटर र शौचालयहरू निर्माण गरेर व्यापार सुरु गरे । ऐतिहासिक स्थललाई व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि महानगरले डोजर चलाएर ती संरचना हटाउन बाध्य भएको थियो । यी विभिन्न अवरोधका कारण सर्वसाधारणले एक दशकसम्म यो खुला ठाउँमा प्रवेश पाउन सकेनन् ।

पुनर्निर्माण र नयाँ स्वरूप

लामो समयको बेवास्ता र अस्तव्यस्ततापछि काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई पुनर्जीवन दिने प्रक्रिया सुरु गरेको थियो । महानगरको सार्वजनिक निर्माण विभागले खेलकुद पूर्वाधार मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यसलाई सजाउने काम गरेको हो । महानगरका अनुसार खुलामञ्चको कुल २३ हजार ४१५ वर्गमिटर (करिब ४६ रोपनी) क्षेत्रफलमध्ये १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक नेपाली दुबो रोपिएको छ । यसअघि उबडखाबड रहेको जमिनलाई सम्याएर मलिलो माटो राखी दुबो लगाइएको हो । अहिले यो चौर हरियो र आकर्षक देखिन्छ ।

महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि नेपाल सरकारको स्वामित्वमा रहेको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाखमा सम्झौता गरेको थियो । सोही अनुसार जमिनको सतह मिलाइएको छ । यसले वर्षाको समयमा पानी नजमोस् । जमिनमुनिको पानी पुनःभरण (वाटर रिचार्ज) का लागि चौरको ६ विभिन्न स्थानमा ४ फिट व्यास र ४ फिट गहिराइका रिचार्ज पिटहरू निर्माण गरिएका छन् । यसले सहरको भूमिगत जलस्तर कायम राख्न समेत मद्दत पुग्ने प्राविधिकहरूको भनाइ छ । चौर सम्याउन र ढुङ्गा टिप्नका लागि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब तीन महिना काम गरिएको थियो ।

दिगो व्यवस्थापन र पुन: प्रयोगको नमुना

खुलामञ्चको सजावटमा महानगरले पुनःप्रयोगको सिद्धान्तलाई आत्मसात गरेको छ । चौरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ । यो मार्ग बनाउन सहरका अन्य ठाउँका सडक तथा पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका पुराना हेक्जागोनल ब्लकहरू ल्याएर प्रयोग गरिएको छ । यसले एकातिर निर्माण लागत घटाएको छ भने अर्कोतिर खेर गइरहेका सामग्रीको उचित व्यवस्थापन भएको छ ।

पैदल मार्गमा उज्यालोका लागि २१ वटा बिजुलीका पोलहरू जडान गरिएका छन् । यी पोलहरू न्युरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पुराना पोलहरू हुन् । ती पोलहरूमा दुईवटा आर्म राखिएका छन्, जसमा मैदानतर्फ १०० वाट र पैदल मार्गतर्फ ३० वाटका लाइट जडान गरिएको छ । यी बत्तीहरूमा डे–नाइट सेन्सर जडान गरिएको छ, जसले गर्दा रात परेपछि आफैँ बल्ने र उज्यालो भएपछि आफैँ निभ्ने व्यवस्था छ । चौरको पश्चिमपट्टिको भागमा गिटी र स्टोन डस्ट राखेर बहुउद्देश्यीय ठाउँ बनाइएको छ, जहाँ आवश्यकता अनुसार भलिबल, ब्याडमिन्टन खेल्न वा आकस्मिक रूपमा ४० वटा चारपाङ्ग्रे र १०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ ।

महानगरको नयाँ नीति र जनचासो

काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता दीपक काफ्लेका अनुसार अब खुलामञ्चलाई पूर्ण रूपमा सार्वजनिक प्रयोगका लागि खुल्ला राखिनेछ । नागरिकले यसलाई मर्निङ वाक, व्यायाम र आपसी भलाकुसारीका लागि प्रयोग गर्न सक्नेछन् । तर यसको सरसफाइ र मर्यादा कायम राख्न महानगरले कडा मापदण्ड लागु गर्ने तयारी गरेको छ । जथाभावी फोहोर फाल्ने, सुन्तला वा बदामका बोक्रा फालेर वातावरण प्रदूषित बनाउने कार्यलाई निरुत्साहित गरिनेछ ।

खुलामञ्चमा कुन प्रकृतिका औपचारिक कार्यक्रम गर्न दिने वा नदिने भन्नेबारे महानगरले छुट्टै कार्यविधि बनाउने योजना बनाएको छ । विगतमा जस्तो लामो समयसम्म निर्माण सामग्री राख्न वा व्यापारिक प्रयोजनका लागि यो ठाउँ अब उपलब्ध हुने छैन । महानगरले यसलाई ‘सहरको फोक्सो’ का रूपमा विकास गर्न खोजेको देखिन्छ, जहाँ नागरिकले खुला हावामा सास फेर्न सकुन् ।

‘अकुपाई टुँडिखेल’ अभियान र नागरिक सफलता

खुलामञ्चलाई अतिक्रमणमुक्त बनाउन नागरिक स्तरबाट भएको प्रयास पनि उल्लेखनीय छ । ‘अकुपाई टुँडिखेल’ अभियानका माध्यमबाट सम्पदा संरक्षण अभियन्ताहरूले लामो समयदेखि दबाब दिँदै आएका थिए । अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार ऐतिहासिक कालदेखि नै टुँडिखेल र खुलामञ्च क्षेत्र सार्वजनिक खुला क्षेत्रका रूपमा रहँदै आएका थिए । ऐतिहासिक रूपमा दशरथ रंगशालादेखि रानीपोखरीसम्म फैलिएको यो विशाल क्षेत्र समयक्रममा खुम्चिँदै गएकोप्रति अभियन्ताहरूले चिन्ता व्यक्त गर्दै आएका थिए ।

तुलाधरले महानगरको पछिल्लो कदमलाई नागरिक अभियानको ठुलो सफलताका रूपमा लिएका छन् । उनले भनेका छन् कि यो ठाउँ नागरिकका लागि खुला हुनु यहाँको मौलिकता फर्किनु हो । तर उनले महानगरलाई सचेत गराउँदै भनेका छन् कि आगामी दिनमा फेरि व्यापारिक स्वार्थ वा अन्य भौतिक निर्माणका नाममा यसलाई बन्द गरिनु हुँदैन । यो क्षेत्रलाई विशुद्ध जनताको हित र विपद्को समयमा सुरक्षित आश्रयस्थलका रूपमा जोगाइराख्नु पर्नेमा उनको जोड छ ।

एक दशकको लामो पर्खाइ, अनेकन् राजनीतिक उतारचढाव र निर्माणका अवरोधहरूलाई चिर्दै खुलामञ्चले आफ्नो पुरानो अस्तित्व पुनः प्राप्त गरेको छ । ६ करोड ९८ लाख रुपैयाँको खेलकुद पूर्वाधार बजेटमध्ये करिब ९० लाख रुपैयाँ खर्चेर गरिएको यो सुधारले काठमाडौँको सहरी सौन्दर्यमा नयाँ आयाम थपेको काफ्ले बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप