बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एकता वा सहकार्यको ‘ब्रेक थ्रु’ प्रयासमा रवि र कुलमान

सोमबार, ०७ पुस २०८२, १५ : २९
सोमबार, ०७ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच एकता वा सहकार्य गर्ने विषयमा ‘ब्रेक थ्रु’ (निर्णायक वार्ता) हुने विश्वास दुवै पक्षका नेताहरूले लिएका छन् । सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछाने पुस ४ गते रिहा भएसँगै दुई पार्टीबिच ‘ब्रेक थ्रु’ हुने विश्वास नेताहरूको छ । 

रवि जेलमा रहेकै बेला रास्वपाको राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले राष्ट्रिय एजेन्डा मिल्ने नयाँ राजनीतिक दलहरूसँग एकता संवाद अगाडि बढाएका थिए । रास्वपाकै नाम, चुनाव चिन्ह र विचारमा समाहित हुँदै विवेकशील साझासँग एकता भइसकेको छ । तर एकता सहमति नजिक पुगेको भनिएको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)सँग अन्तिम समयमा वार्ता असफल भएको थियो ।

जेलबाट रिहाइपछि आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले समर्थकमाझ आवश्यक परे नयाँ शक्तिहरू एक ढिक्का भएर जाने बताए । यस सम्बन्धमा वार्ता र छलफल जारी नै रहेको उनले जानकारी दिए ।

‘विभिन्न ठाउँबाट आएका नयाँ शक्ति एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने तपाईंहरूको भावना छ । परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा, इतिहास लेखिने कुरामा रास्वपा छँदैछ । यसका लागि म कुनै पनि कदम चाल्न तयार रहेको भनेको छु । भेटघाट चलिरहेकै छन्’, उनले भनेका थिए, ‘कमजोर भएको बेला एकजुट भएर संरक्षण गर्नुपर्नेछ । मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरत छैन । कमजोर छ यही मौका भनेर लुछिहाल्न पाइन्छ कि एकचोक्टा भएपनि पाइन्छ कि भनेर गिद्धेनजर नलगाउनुहोला, पाइँदैन । उस्तै परे रास्वपा र नयाँ शक्ति एकढिक्का भएर आगाडि बढ्नेछ, चिन्ता नगर्नुहोला ।’

रास्वपा परिवर्तन संस्थागत होस् र चिरस्थायी बनोस् भनेर लागिरहेको उनको जिकिर थियो । देश अहिले विभिन्न तरिकाले कमजोर अवस्थामा भइरहेको बेला आ–आफ्ना स्वार्थको रोटी सेक्न विभिन्न मानिस सलबलाइरहेकोतर्फ लामिछानेले सचेत गराएका थिए ।

यता उनेपाको चितवन जिल्ला भेलामा पुगेका उर्जामन्त्री समेत रहेका संरक्षक घिसिङले लामिछाने जेलमा रहेकाले निर्णायक वार्ता गर्न नसकिएको बताएका थिए । रिहा भएसँगै पार्टी एकता वा सहकार्यको विषयमा लामिछानेसँग आफैंले निर्णायक वार्ता गर्ने बताएका थिए । संयोग नै मान्नुपर्छ घिसिङले रास्वपा सहित एजेन्डा मिल्ने नयाँ पार्टीसँग एकता र सहकार्यको सम्भावना कायमै रहेको बताएको बेला लामिछानेले सोही दिन चितवनमा आफ्ना सर्मथकलाई विशेष सम्बोधन मार्फत पार्टी एकताका लागि हदैसम्मको लचकता कायम राख्न आफू तयार भएको बताएका थिए ।

उनेपा संवाद समितिका संयोजक डा. तारा जोशीले रास्वपा सभापति लामिछानेसँग निर्णायक वार्ता गर्ने जिम्मा घिसिङलाई नै दिएको जानकारी दिए । उनी रिहाइपछि राजनीतिक संवाद भए नभएको आफूलाई जानकारी नभएको जोशीले बताए ।

‘रविजी रिहा नहुँदा रास्वपासँग विभिन्न चरणमा वार्ता भयो । तर विभिन्न कारणले एकता सम्भव भएन । निर्वाचन आयोगले दिएको समयसीमा मंसिर १४ गतेसम्म हामीले एकता गरिसक्नुपर्थ्यो, त्यो सम्भव भएन । अहिले उहाँ भइसकेपछि निर्णायक वार्ता गर्ने जिम्मा कुलमानजीलाई दिएका छौँ । उहाँले रविजीसँग छलफल गर्छु भन्नुभएको थियो,’ रातोपाटीसँग जोशीले भने, ‘म अहिले धनगढीमा रहेको हुँदा कुराकानी भयो कि भएन जानकारी छैन ।’

जोशीले आफूहरू पनि कुनै एक निर्वाचन वा पदका लागि एकता नचाहेको स्पष्ट पारे । सकेसम्म पार्टी एकता, नभए चुनावी सहकार्य गरेर अगाडि बढ्ने विषयमा कुनै मतभेद नभएको उनको भनाइ छ । 

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले पनि उज्यालो नेपाल पार्टी लगायत समान विचार भएका नयाँ दलहरूसँग एकताको ढोका बन्द नगरेको बताए । एकता वा चुनावी सहकार्य गरेर जाने विषयमा उनेपा, काठमाडौँ महागरपालिकाका मेयर बालेन शाह समूह, सुदन गुरुङ समूह लगायत नयाँ शक्तिसँग संवाद समितिले वार्ता जारी राखेको आचार्यले स्पष्ट पारे ।

‘हामीले समान विचार बोकेका नयाँ शक्तिहरूसँग एकता र सहकार्यको ढोका बन्द गरेका छैनौँ । संवाद समितिका साथीहरूले विभिन्न दल र समूहसँग छलफल जारी राखेका छन् । पार्टी एकता वा सहकार्य के गरेर जाँदा राम्रो हुन्छ, त्यो हामी गर्छौँ,’ उनले भने ।

जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी रास्वपा र उनेपा सघन छलफलमा थिए । रास्वपाबाट संवाद समितिका समितिका सहसंयोजक रहेका शिशिर खनालले उनेपाले पार्टी नै ‘कब्जा’ गर्नेगरी सर्त राखेपछि एकता सम्भव नभएको जिकिर गरेका थिए । उनेपाले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित ५० प्रतिशत हिस्सा मागेपछि सहमत हुन नसकिएको खनालले भनेका थिए ।

‘पार्टी नै कब्जा गर्न खोजिएको जस्तो देखिएपछि हामीले अस्वीकार गरेको हो । पार्टी एकताको सम्भावना सकिएपनि चुनावी तालमेलको सम्भावना कायमै छ’, यसअघि रातोपाटीसँग उनले भनेका थिए ।

उता बालेन समूहसँगको छलफल सकारात्मक भइरहेको रास्वपाले दाबी गरेको छ । बालेनका बुवाको निधन भएकाले स्थगित भएको छलफल फेरि सुचारु भएको नेताहरूले बताएका छन् । बालेन समूहबाट कुमार बेनले संवादको नेतृत्व गरेका छन् ।

यद्यपि उनेपाका नेताहरूले पार्टी एकताका लागि हदैसम्मको लचिलो हुँदा समेत रास्वपाले सर्तमाथि सर्त राखेकाले ढोका बन्द भएको जिकिर गरेका थिए । अहिले देशभर संगठन विस्तार गर्न नेताहरू केन्द्रित छन् । रास्वपासँग तत्काल एकता सम्भव नभएपछि संगठन विस्तारका लागि जिल्ला जिल्लामा खटिएको संयोजक जोशीले बताए ।

‘हामीले एकता सम्बन्धमा विभिन्न मोडालिटीबारे छलफल गर्‍यौं । तर तत्काल एकता नहुने भएपछि हामी संगठन निर्माणका लागि जिल्ला जिल्ला आएका छौँ’, उनले भने ।

उनेपाका नेताहरूले आफू अनुकूल व्याख्या गर्दै विभिन्न सञ्चारमाध्याम मार्फत मिडिया ट्रायल गरेकाले समस्या आएको आरोप लगाएका थिए । खासमा विवेकशील साझा पार्टीसँग गोप्य रुपमा रास्वपाले एकीकरण गरेपछि उनेपाका नेताहरू झस्किएका थिए । उनेपाले पनि विवेकशील पार्टीसँग एकताका लागि सघन छलफल अगाडि बढाएका थिए । रास्वपाले उनेपालाई कमजोर ठानेर व्यवहार गर्नु नै एकताको बाधक बन्न पुगेको नेताहरूको निष्कर्ष छ ।

फागुन २१ गते नै निर्वाचन भएमा रास्वपा र उनेपाबिच एकताको सम्भावना सकिएको छ । पार्टी एकता वा एकल चुनाव चिन्ह लिन आयोगमा मंसिर १४ गतेभित्र निवेदन दिइसक्नुपर्थ्यो । यद्यपि दुई दलबिच कुरा मिलेमा चुनावमा तालमेलको सम्भावना कायमै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप