सरकारी कार्यालयबाट ३० जना बिचौलिया पक्राउ
विराटनगर । मोरङका सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र महँगो शुल्क असुल्ने ३० जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा मंगलबार बिहान कार्यालय समयलगत्तै गरिएको अनुगमनका क्रममा ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय परिसरका विचौलिया छन् । मालपोत कार्यालय विराटनगरबाट २० जना र जिल्ला प्रशासन कार्यालयबाट १० जना पक्राउ परेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा दोहोरो नागरिकतामध्ये एउटा त्याग गर्न आएकी एक महिला सेवाग्राहीसँग एक बिचौलियाले १५ हजार रुपैयाँ माग गरेका थिए । ती बिचौलियाले ‘५ हजार रुपैयाँ सिडिओ साबलाई बुझाउनुपर्छ र बाँकी प्रक्रियाका लागि लाग्छ’ भन्दै रकम मागेका थिए ।
ती युवतीले नै प्रमुख जिल्ला अधिकारी कट्टेललाई रकम मागेको विषयमा गुनासो मोबाइलमा म्यासेज मार्फत गरेकी थिइन् । त्यसपछि प्रमुख जिल्ला अधिकारी कट्टेल आफैं एक्सनमा उत्रिएका हुन् । सिडिओ कट्टेलले भने आफू नभएको बेला ५ हजार मागियो भनेर म्यासेज आएको भएपछि बुझ्दा फेक पाइएको बताए । ‘मैले तत्काल ती व्यक्तिलाई बोलाएर बुझ्दा कर्मचारी नभई बाहिरका बिचौलियाले भ्रम फैलाएको पाइयो,’ उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पक्राउ परेका बिचौलियाहरूले सेवाग्राहीलाई विभिन्न डर र भ्रम देखाएर मोटो रकम असुल्ने गरेका थिए । पाँच रुपैयाँ पर्ने एउटा फोटोकपीको ५० रुपैयाँसम्म लिने र सामान्य निवेदन लेखिदिएको ५ सयदेखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।
‘सरकारी कार्यालयभित्रै अड्डा जमाएर बस्ने, कर्मचारीलाई खुवाउनुपर्छ भन्दै पैसा उठाउने र सेटिङ मिलाउने कार्यमा उनीहरू सक्रिय थिए । कतिपयले त सरकारी फाइलमै पहुँच राख्ने कोसिस गरेको समेत देखियो,’ कोइरालाले भने ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कट्वालले पक्राउ परेका ३० जनामाथि सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले मालपोत कार्यालयका कर्मचारीको कार्यकक्षबाटै केही बिचौलियालाई समातेको थियो ।
आफ्ना साथीहरू पक्राउ परेपछि केहीबेर लेखापढी व्यवसायीहरूले मालपोत कार्यालयको मुख्य गेटमा ताला लगाएर विरोध गरेका थिए । तर सेवाग्राहीहरूले नै विरोध गरेपछि उनीहरू पक्राउ परेकाहरूको नाम सार्वजनिक नगर्न दबाब दिँदै ताला खोल्न बाध्य भएका थिए ।
सिडिओ कट्टेलले अब बिचौलियाको भर पर्नु नपर्ने गरी कार्यालयमा सुधार गरिने दाबी गरे । उनले सेवाग्राहीलाई सिधै सहयोग गर्न ‘हेल्प डेस्क’ (सहायता कक्ष) स्थापना गरिएको र कुनै पनि समस्या परे सिधै अधिकारीहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएकामध्ये दोषी पाइएकाहरूलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण