बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपुर थिमि भित्रका १६ करोडका ५ योजनाका लागि बजेट स्वीकृत गर्न पत्राचार

बिहीबार, १० पुस २०८२, १५ : १५
बिहीबार, १० पुस २०८२

काठमाडौँ । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटअनुसार विभिन्न ५ वटा विकासे योजनाहरूको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ । 

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालय, सिंहदरबारलाई पत्राचार गर्दै नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन हुने गरी छनोट भएका योजनाहरूको आवश्यक प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका हुन् । 

नगरपालिकाले सिफारिस गरेका योजनाहरूमा पूर्वाधार विकास, ज्येष्ठ नागरिकको हित र वातावरणीय संरक्षणलाई प्राथमिकता दिइएको छ ।

कुल १६ करोड रुपैयाँ लागत अनुमान गरिएका ५ योजनाहरू अगाडि बढ्न सकेका थिएनन्, जसमा मध्यपुर थिमिस्थित धौमा जगत वृद्धाश्रमको भवन निर्माणका लागि ३ करोड (३०० लाख) रुपैयाँ, एकीकृत सहरी पूर्वाधार विकासका लागि ४ करोड (४०० लाख) रुपैयाँ, राधेराधे परिसरको सडक कालोपत्र तथा स्तरोन्नतिका लागि ३ करोड (३०० लाख) रुपैयाँ, सडक स्तरोन्नतिका लागि ३ करोड (३०० लाख) रुपैयाँ र  प्रसिद्ध नीलबाराही परिसरमा पहिरो नियन्त्रण, वृक्षरोपण तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँको योजना कार्यान्वयनका लागि पत्राचार गरेको छ । 

नगरपालिकाले यी योजनाहरू संघीय सरकारको सहरी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूबाट सञ्चालन हुने गरी बजेट विनियोजन भइसकेकाले योजना कार्यान्वयनको लागि आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेको छ । 

उक्त मागका विषयमा उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य पवन पोखरेल सहजीकरणका लागि पहल गरेका छन् । उनले ऊर्जा मन्त्री माननीय कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

नगरपालिकाको मागका विषयमा मन्त्री घिसिङले सम्बन्धित निकाय तथा अधिकारीहरूलाई आवश्यक समन्वय गरी योजनाहरूमा तत्काल प्रक्रिया सुरु गर्न र शीघ्र कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिएका छन् ।

thimi photo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप