मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
एकता र ध्रुवीकरणको लहर

पुराना शक्ति हराउन रवि, बालेन र कुलमानको ‘म्याराथन’

बिहीबार, १० पुस २०८२, १७ : ०७
बिहीबार, १० पुस २०८२

सारांश

  • नयाँ दलहरू एकताबद्ध हुँदै आगामी निर्वाचनको तयारीमा जुटेका छन्, जसमा रवि लामिछाने, बालेन शाह, र कुलमान घिसिङको सक्रियता बढेको छ।
  • राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएको छ, भने उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले चुनावी एकता गर्ने निर्णय गरेका छन्।
  • जसपा र स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकताको घोषणा भएको छ, भने नायिका एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छिन्।

काठमाडौँ । जेनजी आन्दोलनले बदलिएको मुलुकको राजनीतिक अवस्था र सम्मुखमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर नयाँ तथा पुराना दलहरू एकता र ध्रुवीकरणतर्फ केन्द्रित भएका छन् । त्यसमा पनि नयाँ र वैकल्पिक भनेर चिनिएका दलहरुको सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरेर चुनावी प्रक्रिया चलिरहेको छ । यसैक्रममा जेनजीको भावना अनुसार अघि बढ्ने प्रतिवद्धतासहित नयाँ दलहरू बनेका छन् । जनेजी आन्दोलनपछि मात्र २७ वटा दल दर्ता भैसकेका छन् ।

ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङदेखि काठमाडौँ महानगरका मेयर बालेन शाह हुन् वा धरानका मेयर हर्क साम्पाङ नै किन नहुन् उनीहरू कुनै न कुनै रूपमा दलमा आबद्ध भएर राजनीतिमा प्रवेश गर्ने अन्तिम प्रयासमा छन् । हर्क साम्पाङले आफ्नै नेतृत्वमा दल दर्ता गरेर चुनावी प्रचार थालिसकेका छन् भने कुलमान र बालेनले आफू निकटका व्यक्तिका नाममा दल दर्ता गरेर राजनीतिमा स्थापित गर्ने प्रयासमा छन् ।

चार वर्षअघि मात्रै पार्टी खोलेका रवि लामिछाने पनि जेनजी आन्दोलनपछि बनेका नयाँ पार्टी वा शक्तिसँग एकता र सहकार्यको प्रयासमा छन् । पुराना पार्टीहरू (कांग्रेस, एमाले र माओवादी)ले लामो समय मुलुकमा शासन सत्ता सम्हालेपनि सुशासन कायम गर्न नसकेको गुनासो बढिरहेका बेला नयाँ र वैकल्पिक भनिएका पार्टी र शक्ति एक ठाउँमा आएर आगामी निर्वाचनमा पुराना शक्ति र पार्टीलाई धक्का दिने तयारीमा छन् ।

 केही दिनयतामात्र रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहले लगातार वार्ता र संवाद गरिरहेका छन् । बुधबार र बिहीबार मात्र पनि बालेनले म्याराथन शैलीमा लामिछाने र घिसिङमात्र नभएर बाबुराम भट्टराईदेखि सुनिल शर्मा र अमरेश कुमार सिंहसँग समेत भेटवार्ता गरेर सहकार्यको प्रस्ताव गरेका छन् । यस्तै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको समेत भेटमा अर्थपूर्ण सक्रियता देखिएको छ । 

 समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची बुझाउने मिति चार दिनमात्र बाँकी रहँदा नयाँ र वैकल्पिक भनिएका शक्तिहरू एक भएर जाने कसरत गरेपनि उनीहरूबिच अझै कतिपय विषयमा एकमत हुन सकेको छैन ।

यी नयाँ दलको सक्रियताअघि अर्थात जनेजी आन्दोलनपछि सबैभन्दा पहिला धेरै दल र घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो ।  केही समय नबित्दै अन्य नयाँ तथा पूरा राजनीतिक पार्टीहरू पनि एकता र ध्रुवीकरणको दिशामा लागेका हुन् ।

दुई राप्रपा एकै ठाउँ

यही क्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच पुस १६ गते पार्टी एकता गर्नेगरी बुधबार सहमति भइसकेको छ । थापाले आफू बिना सर्त पार्टी एकताका लागि तयार भएको बताए । दुवै पार्टी राजसंस्था र हिन्दुराज्यको पक्षमा छन् ।

चार वर्षअघि राप्रपा महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा राप्रपाबाट अलग हुँदै राप्रपा नेपालको अध्यक्ष बनेका थिए ।

दुई राप्रपाबिच पार्टी एकता गर्ने सम्झौता हुनु केही साता अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको थियो । मंसिर १४ गते दुई पार्टीबिच एकता घोषणा गरिएको थियो ।

एकतापछि पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने सहमति भएर उनीहरू अहिले चुनावी गतिविधिमा सामेल भैसकेका छन् ।

उज्यालो र सर्वोदयबिच चुनावी एकता

ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र दीपक कुमार साह नेतृत्वको सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनमा चुनावी एकता गर्ने सहमति भएको छ । यी दुई पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने बुधबार नै सहमति गरेका हुन् ।

  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशको वर्तमान जटिल र परिवर्तनशील राजनीतिक अवस्थाबाट निकास खोज्ने उद्देश्यले दुवै पार्टीबिच चुनावी सहकार्य गरिएको सहमति पत्रमा उल्लेख  छ । सहमति पत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले हस्ताक्षर गरेका छन् । दुवै पार्टीले सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति बढ्दो जनआकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जसपा र स्वाधीनको पनि कार्यगत एकता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र कैलाश महतो नेतृत्वको स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता गर्ने घोषणा गरिएको छ । बुधबारमात्रै जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा सङ्घर्ष अघि बढाउने सहमतिसहित कार्यगत एकताको घोषणा गरेका हुन् ।

photo-1_ff14014a

 ‎कार्यगत एकता घोषणापत्रमा दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा सङ्घर्ष गर्ने सहमति उल्लेख छ ।

प्रभु साहको पार्टीमा एलिजा गौतम

यही क्रममा पत्रकार ऋषि धमला पत्नी समेत रहेकी नायिका एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् । आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका थिए । आजपा प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन् । आजपाले आफूलाई उपाध्यक्ष बनाएको स्वयम् गौतमले बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप