शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेको एकल वर्चस्व

शुक्रबार, ११ पुस २०८२, १३ : ४३
शुक्रबार, ११ पुस २०८२

सारांश

  • निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता र मतभार सार्वजनिक गरेको छ।
  • कोशी प्रदेशमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
  • कांग्रेस र एमालेबीच चुनावी तालमेलको सम्भावनाबारे छलफल भए पनि कुनै निर्णय आएको छैन।

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता र मतभार सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले मतभारसहित मतदाता संख्या सार्वजनिक गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहनेछन् । आयोगले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य, २७४ स्थानीय तहका पदाधिकारी गरी कुल ३६७ मतदाता छन् । प्रदेश सभातर्फ ४९२९, स्थानीय तहतर्फ ५२०६ गरी कुल १० हजार १३५ मतभार छ ।

राष्ट्रिय सभामा अगामी फागुन २० गते पदावधि सकिने १८ जना सदस्यका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कोशी प्रदेश अन्तर्गत पदावधि सकिने सदस्यहरूमा एमालेका देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम र नेकपा माओवादी केन्द्रका गोपी बहादुर सार्की अछामी छन् ।

रिक्त तीन जना सदस्यमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस र एमालेमध्ये कुनै एक दलसँग तालमेल नभएमा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) निकै कमजोर देखिन्छ । 

जेनजी विद्रोह अगाडि एमाले र कांग्रेस सत्ता सहयात्री दल भएकाले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना लगायत विषयमा सहकार्य गर्ने विषयमा परामर्श गरेका छन् । सोही विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले दुई पटक छलफल गरिसकेका छन् । यद्यपि चुनावी तालमेलको विषयमा दुवै दलले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

यता नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग मोर्चाबन्दी हुनसक्ने अभिव्यक्ति दिए पनि ठोस कुरा बाहिर आएको छैन ।

निर्वाचनमा मुख्य तीन दल एक्लाएक्लै प्रतिस्पर्धा गरेको खण्डमा कोशी प्रदेश अन्तर्गत राष्ट्रिय सभा निर्वाचनमा एमालेको पल्ला भारी देखिन्छ । एमालेको प्रदेश सभामा २१२० र स्थानीय तहमा २०९० गरी कुल ४२१० मतभार छ । प्रदेश सभामा कांग्रेसको २९ प्रदेश सभा सदस्य छन् । स्थानीय तहमा ११४ जना छन् । कांग्रेसको प्रदेश सभामा १५३७ र स्थानीय तहमा २१६६ गरी कुल ३७०३ मतभार छ ।

यस्तै तेस्रो दल तत्कालीन माओवादीको प्रदेश सभामा १३ सांसद छन् भने स्थानीय तहमा जम्मा ३२ जना छन् । माओवादीको प्रदेश सभामा ६८९ र स्थानीय तहमा ६०८ गरी कुल १२९७ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरी नेकपा बनेको हुनाले थप २१२ र १३३ गरी कुल ३४५ मतभार थपिएको छ । यी दुवै मतभार जोड्दा नेकपाको कुल १६४२ मतभार हुनेछ । यी बाहेक राप्रपाको ३९४, जसपा नेपालको १६७ र स्वतन्त्रको ५७ मतभार छ । 

निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ । पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध तथा निवेदनमाथि छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

पुस २३ गते बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता कार्यक्रम छ । पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवार विरुद्ध उजुरी दिने कार्यक्रम छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप