सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी साताको कविता

मौन आवाजका ३ कविता

शनिबार, १२ पुस २०८२, ०९ : ००
शनिबार, १२ पुस २०८२

सारांश

  • कवि श्याम बलामीका अनुभूति, उत्खनन् र ढुंगा शीर्षकका कविताहरू प्रस्तुत छन्।
  • कविले कवितामा जीवनका विभिन्न पक्षहरू, जस्तै रात, यथार्थ, र सपनाको बारेमा आफ्नो दृष्टिकोण राखेका छन्।
  • कविले मानिसहरूको व्यवहार र भावनाहरूलाई आफ्ना कविताहरूमा व्यक्त गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । प्रस्तुत छ उनका तीन कविता

अनुभूति

मैले जुन रातलाई
गहिरो अन्धकार भनेको थिएँ
मानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् !

मैले छोएका सारा यथार्थहरूलाई
मानिसहरूले वर्जित विषय मानेका छन् ।

आगोको स्नान
हिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँ
मानिसहरूले पत्याएका छैनन् ।

पानीको आवश्यकता सम्भोग भन्दा ज्यादा आवश्यक छ
त्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।

रातो रंग
रंग होइन रगत हो भनेको थिएँ
मानिसहरूले विश्वास गरेका छैनन् ।

घाँस उखेल्नुपूर्व
मस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँ
मानिसहरू हाँसिरहेका छन् ।

सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँ
मानिसहरू कता हो कता पुगिसकेछन् !

संसारलाई आँखीझ्यालबाट होइन
हृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँ
मानिसहरू मुन्टो बटारिरहेका छन् ।

लज्जा यौनाङ्ग छोप्नु होइन
निर्लज्जता नग्नता होइन भनेको थिएँ
मानिसहरू...


उत्खनन्

मेरा अस्तित्वका अंशहरू !

उडिरहेको पुतलीको आँखाले संसार हेर्नू
खुसी हुनू !

हरियो पातमा लेख्नू आफ्ना रहरहरू
आमालाई माया गर्नू !

घामसँगै उठ्नू
जीवनका गृहकार्यहरू राम्रोसँग गर्नू !

कहिलेकाहीँ बहिनीहरूलाई काखमा लिनू
कोरिबाटी गरिदिनू
बेलाबेला गमलामा पानी हाल्नू
आफैँसँग हुर्काउनु कलिला मुनाहरू !

वर्षातमा धेरै टाढा ननिस्कनू
आँगनमा घाँस उम्रेला
निस्केला छिमेकीको बारीबाट बिषालु सर्पहरू !

कहिलेकाहीँ
मिलाएर यात्रा गर्नू
अन्धकारदेखि भयभीत नहुनू
 नआत्तिनू – जहाँ साँझपर्छ त्यही घर हो !

अर्काको अनुहारमा आफूलाई खोज्ने भूल नगर्नू
अर्काको हाँसो नचोर्नू  !

सबै परिबन्दहरू सामान्य हुँदैनन्
पहाड जस्ता जटिलताहरू बाटोमा छन्
हिंड्न नछाड्नू !

आफूतिर आइरहेको बतासलाई म सम्झनू
हिंडिरहेको बाटोलाई म सम्झनू
शून्य आकाश र अदृश्य वायुमण्डललाई म सम्झनू
स्मृति...


ढुंगा

अक्सर
ऊ रंगहरूको कुरा गर्थ्यो !
फूल पात र हरियालीको कुरा गर्थ्यो !

ऊ भन्थ्यो
सधैं भन्थ्यो
यो जिन्दगी सुन्दर दृश्य हो !

भन्थ्यो
यो जिन्दगी सुमधुर संगीत हो !

भन्थ्यो
यो जिन्दगी प्रेम र सद्भावको गीत हो !

हिँड्दा सुस्तरी हिँड्थ्यो
बोल्दा सुस्तरी बोल्थ्यो
भन्थ्यो
सख्त हुनु ढुंगा हुनु हो !

ऊ अक्सर हरियो घाँसमा पल्टिएर निदाउँथ्यो
आकाशसँग कुरा गर्थ्यो
बादल
बतास
घाम
पानी र माटोसँग कुरा गर्थ्यो !

भन्थ्यो
यो जिन्दगी प्रकृति हो !

भन्थ्यो
यो जिन्दगी माटो हो !

भन्थ्यो
यो जिन्दगी पानी हो
घाम हो
बतास हो
बादल हो
र इन्द्रेणी हो !

ऊ पहाडलाई निरन्तर भन्थ्यो
आँधीको बाटो नछेक !

ऊ बारम्बार भन्थ्यो
आँधी क्षणिक हुन्छ
आवेग क्षणिक हुन्छ !

नदीलाई किनारा देखाउँथ्यो

र भन्थ्यो बिछोड पीडादायी हुन्छ !

ऊ बगरलाई हेर्थ्यो
र भन्थ्यो
यो जिन्दगी एक्लोपन होइन !

भन्थ्यो
यो जिन्दगी समुह हो
समुदाय हो !

भन्थ्यो
यो जिन्दगी घर हो – परिवार हो !

ऊ कहिलेकाहीं विगत सम्झेर
रुन्थ्यो
र भन्थ्यो आँशु भरिएको आँखा सजीव हुन्छ !

ऊ कोमल थियो
ऊ मान्छेको मात्रै होइन
ढुंगाको पनि मन नदुखोस् भन्थ्यो !

किनकि
मान्छे हुनुअघि ऊ ढुंगा थियो !
बारम्बार टुक्रिएर – चोइटिएर ऊ मान्छे बनेको थियो !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मौन आवाज
मौन आवाज
लेखकबाट थप