मौन आवाजका ३ कविता
सारांश
- कवि श्याम बलामीका अनुभूति, उत्खनन् र ढुंगा शीर्षकका कविताहरू प्रस्तुत छन्।
- कविले कवितामा जीवनका विभिन्न पक्षहरू, जस्तै रात, यथार्थ, र सपनाको बारेमा आफ्नो दृष्टिकोण राखेका छन्।
- कविले मानिसहरूको व्यवहार र भावनाहरूलाई आफ्ना कविताहरूमा व्यक्त गरेका छन्।
मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । प्रस्तुत छ उनका तीन कविता
अनुभूति
मैले जुन रातलाई
गहिरो अन्धकार भनेको थिएँ
मानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् !
मैले छोएका सारा यथार्थहरूलाई
मानिसहरूले वर्जित विषय मानेका छन् ।
आगोको स्नान
हिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँ
मानिसहरूले पत्याएका छैनन् ।
पानीको आवश्यकता सम्भोग भन्दा ज्यादा आवश्यक छ
त्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।
रातो रंग
रंग होइन रगत हो भनेको थिएँ
मानिसहरूले विश्वास गरेका छैनन् ।
घाँस उखेल्नुपूर्व
मस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँ
मानिसहरू हाँसिरहेका छन् ।
सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँ
मानिसहरू कता हो कता पुगिसकेछन् !
संसारलाई आँखीझ्यालबाट होइन
हृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँ
मानिसहरू मुन्टो बटारिरहेका छन् ।
लज्जा यौनाङ्ग छोप्नु होइन
निर्लज्जता नग्नता होइन भनेको थिएँ
मानिसहरू...
उत्खनन्
मेरा अस्तित्वका अंशहरू !
उडिरहेको पुतलीको आँखाले संसार हेर्नू
खुसी हुनू !
हरियो पातमा लेख्नू आफ्ना रहरहरू
आमालाई माया गर्नू !
घामसँगै उठ्नू
जीवनका गृहकार्यहरू राम्रोसँग गर्नू !
कहिलेकाहीँ बहिनीहरूलाई काखमा लिनू
कोरिबाटी गरिदिनू
बेलाबेला गमलामा पानी हाल्नू
आफैँसँग हुर्काउनु कलिला मुनाहरू !
वर्षातमा धेरै टाढा ननिस्कनू
आँगनमा घाँस उम्रेला
निस्केला छिमेकीको बारीबाट बिषालु सर्पहरू !
कहिलेकाहीँ
मिलाएर यात्रा गर्नू
अन्धकारदेखि भयभीत नहुनू
नआत्तिनू – जहाँ साँझपर्छ त्यही घर हो !
अर्काको अनुहारमा आफूलाई खोज्ने भूल नगर्नू
अर्काको हाँसो नचोर्नू !
सबै परिबन्दहरू सामान्य हुँदैनन्
पहाड जस्ता जटिलताहरू बाटोमा छन्
हिंड्न नछाड्नू !
आफूतिर आइरहेको बतासलाई म सम्झनू
हिंडिरहेको बाटोलाई म सम्झनू
शून्य आकाश र अदृश्य वायुमण्डललाई म सम्झनू
स्मृति...
ढुंगा
अक्सर
ऊ रंगहरूको कुरा गर्थ्यो !
फूल पात र हरियालीको कुरा गर्थ्यो !
ऊ भन्थ्यो
सधैं भन्थ्यो
यो जिन्दगी सुन्दर दृश्य हो !
भन्थ्यो
यो जिन्दगी सुमधुर संगीत हो !
भन्थ्यो
यो जिन्दगी प्रेम र सद्भावको गीत हो !
हिँड्दा सुस्तरी हिँड्थ्यो
बोल्दा सुस्तरी बोल्थ्यो
भन्थ्यो
सख्त हुनु ढुंगा हुनु हो !
ऊ अक्सर हरियो घाँसमा पल्टिएर निदाउँथ्यो
आकाशसँग कुरा गर्थ्यो
बादल
बतास
घाम
पानी र माटोसँग कुरा गर्थ्यो !
भन्थ्यो
यो जिन्दगी प्रकृति हो !
भन्थ्यो
यो जिन्दगी माटो हो !
भन्थ्यो
यो जिन्दगी पानी हो
घाम हो
बतास हो
बादल हो
र इन्द्रेणी हो !
ऊ पहाडलाई निरन्तर भन्थ्यो
आँधीको बाटो नछेक !
ऊ बारम्बार भन्थ्यो
आँधी क्षणिक हुन्छ
आवेग क्षणिक हुन्छ !
नदीलाई किनारा देखाउँथ्यो
र भन्थ्यो बिछोड पीडादायी हुन्छ !
ऊ बगरलाई हेर्थ्यो
र भन्थ्यो
यो जिन्दगी एक्लोपन होइन !
भन्थ्यो
यो जिन्दगी समुह हो
समुदाय हो !
भन्थ्यो
यो जिन्दगी घर हो – परिवार हो !
ऊ कहिलेकाहीं विगत सम्झेर
रुन्थ्यो
र भन्थ्यो आँशु भरिएको आँखा सजीव हुन्छ !
ऊ कोमल थियो
ऊ मान्छेको मात्रै होइन
ढुंगाको पनि मन नदुखोस् भन्थ्यो !
किनकि
मान्छे हुनुअघि ऊ ढुंगा थियो !
बारम्बार टुक्रिएर – चोइटिएर ऊ मान्छे बनेको थियो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
-
उच्च अदालत पाटनमा ११ हजार ४६८ मुद्दा फछ्र्योट
-
विश्व फुटबलमा स्पेनको ‘स्वर्ण युग’: पाँच वर्षमा १६ उपाधि
-
च्याउ खोज्न जाँदा बेपत्ता भएका महिलाहरु सम्पर्कमा
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण