गण्डकीमा दलहरूको अवस्थाः नयाँलाई नयाँकै डर, पुरानालाई संगठनको भर
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा ८ देखि १२ सिट जित्ने अनुमान गरेको छ।
- नयाँ राजनीतिक दलहरूका लागि संगठन विस्तार र खराब पात्र व्यवस्थापन चुनौती देखिएको छ।
- पुराना दलहरूले नयाँ दलहरूसँग प्रतिस्पर्धा गर्न नयाँ अनुहार र संगठनलाई चलायमान बनाउनुपर्ने देखिएको छ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा ८ देखि १२ सिट प्रत्यक्ष चुनाव जित्ने आन्तरिक आकलन गरेको छ । हालसम्म १० जिल्ला र ५२ पालिकामा संगठन विस्तार गरेको रास्वपाका लागि हिमाली जिल्ला र बढी ग्रामीण भेग भएका निर्वाचन क्षेत्रहरू सबैभन्दा चुनौतीपूर्ण छन् ।
रास्वपाकै केन्द्रीय स्तरका एक नेता भन्छन्, ‘पार्टी स्थापनाको यति लामो अवधिमा पनि गण्डकीका ८५ पालिकामै संगठन बनाउन नसक्नु हाम्रो सबैभन्दा ठुलो चुनौती हो । हाम्रा एजेन्डा र विचार पुर्याउने सञ्चार क्षेत्र मात्रै छ, हाम्रो औपचारिक उपस्थिति छैन ।’ उनकै भनाइलाई सापट लिने हो भने, नयाँ राजनीतिक दलहरूको अर्को मुख्य चुनौती पुराना दलबाट प्रवेश गरेका खराब पात्रहरू हुन् । ‘हामीले पार्टीभित्र पुराना दलबाट प्रवेश गरेका व्यक्तिहरूको आचरणबारे पनि छलफल गरिरहेका छौँ । सबै भन्न मिल्दैन, केही पात्रहरूका कारण दललाई फाइदाभन्दा नोक्सान बढी छ,’ उनी भन्छन्, ‘पार्टीमा नआऊ भन्न कसैलाई मिल्दैन ।’
रास्वपाले गण्डकीमा हालसम्म ३ सय १४ वटा वडामा संगठन विस्तार गरिसकेको छ भने १ लाखको हाराहारीमा सक्रिय सदस्य बनेका छन् ।
नयाँ राजनीतिक दलको अर्को केन्द्र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी हो । उक्त पार्टीले गण्डकी प्रदेशमा भर्खरै पाइला चालिरहेको छ । चुनावअघि ११ वटै जिल्लामा तदर्थ समिति गठन गर्ने र पालिका तहमा संयोजक मात्रै तोक्ने योजनामा उज्यालो पार्टी लागेको छ । प्रदेश संयोजक मनराज गुरुङका अनुसार पुसभित्र तदर्थ समिति गठन भइसक्छ । अहिले रास्वपा र उज्यालो नेपाल पार्टी दुवैले समानुपातिक उम्मेदवारको सूची तयार गर्दैछन् । उनीहरूको उम्मेदवार छनोटको प्रक्रिया आआफ्नै र पृथक् छ । रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारको टुंगो लगाउन लागेको छ भने उज्यालो नेपाल पार्टीले प्रहरी रिपोर्ट हेरेर मात्रै टिकट दिने निर्णय लिएको छ ।
उज्यालोले पनि आगामी निर्वाचनमा गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाउने तयारीअनुसार उम्मेदवार खोजी गरिरहेको छ । ‘हामी आन्तरिक छलफलमा छौँ । जिल्लाबाट सम्पर्कमा आएका साथीहरूसँग संवाद गर्ने र समाजलाई योगदान दिइरहेका भुइँमान्छेलाई समेत उम्मेदवार बनाउने गरी हाम्रो योजना अगाडि बढाएका छौँ,’ गुरुङले भने, ‘समानुपातिक लगभग टुंगो लाग्ने क्रममा छ । प्रत्यक्षतर्फ उम्मेदवार खोजी गरिरहेका छौँ ।’
तर नयाँ दलहरू मिलेर मात्रै निर्वाचन जित्न सकिन्छ भन्ने निष्कर्षमा उज्यालो पार्टी पुगेको छ । अन्यथा पुरानै दलहरूले गण्डकीको भोट होल्ड गर्नेमा उनीहरूको चिन्ता छ ।
पूर्वतिर चहलपहल दिइरहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभाव गण्डकीमा खासै छैनभन्दा पनि हुन्छ । अरू राजनीतिक दलहरू पनि प्रदेशमा हस्तक्षेप गर्न सक्ने गरी आएका छैनन् । त्यसो हुँदा गण्डकीमा कस्तो नतिजा आउला, पुराना दलहरू अहिले नयाँसँग निकै डराएको अवस्था छ । खुलेको ६ महिना नपुग्दै निर्वाचनमा होमिएको रास्वपाले गत चुनावमा गण्डकीका केही निर्वाचन क्षेत्रहरूमा राम्रै प्रभाव छोडेको छ । तर तनहुँको क्षेत्र नम्बर १ मा उपनिर्वाचन जित्नेबाहेक प्रत्यक्षमा रास्वपाको सिट थिएन । २०७९ को निर्वाचनमा प्रदेशभरका १८ निर्वाचन क्षेत्रमध्ये ३ वटामा रास्वपा दोस्रो भएको थियो भने अरू क्षेत्रमा तेस्रो बनेको थियो । कास्की २, नवलपुर १, गोरखा २ लगायतका क्षेत्रहरूमा रास्वपाले व्यापक भोट जम्मा पारेको थियो ।
उपनिर्वाचनमा तनहुँ १ बाट अप्रत्याशित जित दर्ता गरेर रास्वपाले पुराना दलको दबदबालाई तोडेको छ, त्यो पनि राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट । पौडेल राष्ट्रपति बनेपछि खाली भएको उक्त सिटमा कांग्रेसबाटै प्रवेश गरेका डा. स्वर्णिम वाग्लेले विशाल अन्तरसहित विजय हासिल गरे । रास्वपाले ग्रीन जोनमा राखेको निर्वाचन क्षेत्र यो प्रमुख हो । कास्कीका ३ वटै क्षेत्र, नवलपुरको क्षेत्र नम्बर १, स्याङ्जा १, बागलुङको क्षेत्र नम्बर २, गोरखाको एउटा क्षेत्रलाई रास्वपाले ‘कम्फर्ट’ जोन ठानेको छ । तर पुराना दलहरूले चाहिँ रास्वपाको आकलनजस्तो सहज हुने अवस्था देखेका छैनन् । एमालेका एक युवा नेता भन्छन्, ‘नयाँ शक्तिहरू सबै मिलेर आए भने एउटा कुरा हो । नत्र रास्वपाले ठ्याक्कै जित्ने क्षेत्र १–२ वटा हुन सक्छ, नत्र त्यस्तो हुँदैन ।’
उम्मेदवारमा नयाँ अनुहार अघि सार्न सक्दा र संगठनलाई केही चलायमान गराउन सक्दा पुराना दलहरूले नै चुनाव जित्ने दाबी गरेका छन् । एक विश्लेषकका अनुसार पुराना दलहरूमध्ये पनि नेपाली कम्युनिस्ट पार्टीले पहिलेभन्दा सिट बढाउने अवस्था छ । पर्वत, म्याग्दी, गोरखाका २ वटै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले चुनाव जित्न सक्ने आकलन गरिएको छ । नेकपा एमालेको महाधिवेशनपछि देखिएको विद्रोह, कांग्रेसमा महाधिवेशन नै हुन नसकेको अवस्थाको फाइदा नेपाली कम्युनिस्ट पार्टीमा जाने उनको तर्क छ । जे होस्, प्रदेशका सहरी क्षेत्रमा नयाँ दलहरूले पुराना दललाई कडा चुनौती दिनेछ भने ग्रामीण र हिमाली जिल्लाहरूमा पुराना दलको विरासत ढाल्न नयाँलाई चुनौती छ ।
के भन्छन् विश्लेषकहरू ?
२०७९ को निर्वाचन तथ्यांकअनुसार गण्डकी प्रदेशका सहरी क्षेत्रहरू (विशेषगरी कास्की, नवलपुर र तनहुँ) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दलहरूलाई कडा चुनौती दिएको छ । समानुपातिक मतमा रास्वपा माओवादीभन्दा अगाडि र कांग्रेस–एमालेको हाराहारीमा देखिएको छ । कास्की–२, नवलपुर–१ र २ तथा तनहुँ पुराना दलका लागि ‘रेड जोन’ बनेका छन् ।
पुराना दलहरूसँग राज्य सञ्चालनको अनुभव, निर्वाचन रणनीति र बलियो संगठन छ । जसले गर्दा ग्रामीण भेग (मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, गोरखा) मा उनीहरू सुरक्षित देखिन्छन् । तर नयाँ दलहरूसँग क्याडर नभई भोटर मात्र छन्, जसले माहोलको भरमा मत दिन्छन् ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षबीचको द्वन्द्व तथा कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको मुद्दाले आउँदो चुनावमा ‘क्रस भोटिङ’ हुन सक्ने विश्लेषण छ । असन्तुष्ट एमालेको भोट नेपाली कम्युनिष्ट पार्टी वा अन्य दलमा जाने सम्भावना औँल्याइएको छ । ‘अहिलेका मतदाता विशेषगरी युवा पुस्ता छन् । उनीहरू सैद्धान्तिक आधारमा नभई लहर र क्रेजको आधारमा भोट हाल्छन्,’ विश्लेषक गिरिधारी सुवेदी भन्छन्, ‘उनीहरू सुशासन र नयाँपन चाहन्छन् । यसले पुराना दलहरूलाई भन्दा नयाँ दललाई फाइदा पुगिरहेको छ । नयाँ दलहरूमा पनि सैद्धान्तिक स्पष्टताको अभाव र अस्थिरताको जोखिम देखिन्छ ।’
पुराना दलहरूका लागि सबैभन्दा ठुलो थ्रेट भनेकै पटक–पटक एउटै नेतृत्व सत्ता र शक्तिमा हालीमुहाली गरिरहनु र त्यसले जनतामा सिर्जना गरेको चरम अविश्वास हो । ठूला भ्रष्टाचारका काण्डहरूमा जोडिनु र पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै जानुले जनाधार खस्किएको विश्लेषक सुवेदी तर्क गर्छन् । उनको भनाइमा सहमत हुने हो भने, पुराना दलहरू अहिले डिफेन्सिभ अवस्थामा छन् ।
उही विचारमा सहमत छन्, अर्का विश्लेषक कपिलमणि दाहाल । ‘लामो समयदेखि एउटै दलका, एकै खाले मान्छेहरू शासन सत्तामा घुमीफिरी आए । तिनैका नजिकका मान्छेले टिकट पाउने, अनि भ्रष्टाचार र कुशासनका कुराहरू जोडिँदा जनतामा वितृष्णा छ,’ उनले भने, ‘यो नयाँ दलहरूको लागि फाइदाको विषय हो ।’ नयाँका लागि पनि नेतृत्वमाथि उठेको प्रश्न र कमजोर संगठन संरचना चुनौती बनेर उभिएको उनले बताए । ‘काठमाडौँ र पोखराजस्ता सहरी इलाकाहरूमा नयाँ दलहरूप्रति आकर्षण देखिए पनि दूरदराजमा अहिले पनि जनता पुराना दलकै संगठनमा भिजिरहेका छन् । कांग्रेस, एमाले, माओवादी पुरै खस्किसके र अब सबै नयाँले नै जित्छन् भन्ने निष्कर्षमा अहिले नै पुग्न सकिँदैन,’ उनले भने ।
उनको तर्क अनुसार, नयाँ दलहरूका लागि मुख्य चुनौती भनेको पार्टी निर्माण र विस्तार हो । चर्चित पात्रहरू नेतृत्वमा भए पनि बलियो संगठन संरचना तयार नभएको उनले बताए । जसका कारण पुराना दलहरू कमजोर भए पनि नयाँले क्लिन स्वीप गर्ने ग्यारेन्टी नभएको दाहाल बताउँछन् । दुवैजना नयाँ दलहरूबिचको एकता, गठबन्धन, पुराना दलको भूमिका, निर्वाचन केन्द्रित घोषणापत्र आदिले निर्वाचनको नतिजा तलमाथि हुनेमा सहमत छन् ।
नयाँ दलहरूबिच मिलाप भएन भने सम्भावित क्षेत्रहरू पनि गुमाउने डर नयाँ दलहरूलाई छ । त्यसैले सकेसम्म पार्टी एकता र नभए चुनावी गठबन्धनका लागि नयाँ दलहरूका प्रदेश तहका नेताहरूले केन्द्रीय नेतृत्वलाई दबाब सिर्जना गरेका छन् । यदि नयाँहरू मिल्न सके अपेक्षा गरेभन्दा बढी मत र सिट जित्ने उनीहरूको विश्वास छ । खासगरी रवि लामिछाने नेतृत्वको रास्वपा, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र बालेन्द्र साह नजिक रहेको दल विकास पार्टीबिच एकता वा गठबन्धन चाहेका छन् तल्लो तहका नेता कार्यकर्ताले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण