प्रचण्डलाई शहीद परिवारको खुला पत्र
सारांश
- माओवादी द्वन्द्वका पीडित परिवारले प्रचण्डलाई खुला पत्र लेख्दै न्याय र उचित सम्मानको माग गरेका छन्।
- पत्रमा १० वर्षे जनयुद्धको जगमा गणतन्त्र आए पनि पीडित परिवारको अवस्था दयनीय बनेको गुनासो गरिएको छ।
- पीडित परिवारले आगामी निर्वाचनमा समानुपातिक प्रणालीमा प्राथमिकता दिन र न्यायको लागि ठोस निर्णय लिन आग्रह गरेका छन्।
विराटनगर। माओवादी १० वर्षे सशस्त्र युद्धका सहिद, अपाङ्ग तथा बेपत्ता परिवारको तर्फबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुला पत्र लेखिएको छ । पत्रमा पीडित परिवारहरूले न्याय र उचित सम्मान नपाएको उल्लेख छ ।
शहीद, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारको तर्फबाट मञ्जु सापकोटाले सार्वजनिक गरेको उक्त पत्रमा १० वर्षे जनयुद्धको जगमा गणतन्त्र र सङ्घीयता आए पनि बलिदान दिनेहरूको अवस्था भने झन् दयनीय बन्दै गएको उल्लेख गरिएको छ ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयलाई सम्बोधन गरी लेखिएको पत्रमा पार्टीभित्रैका पहुँचवाला शहीद परिवारले मात्रै पटक–पटक अवसर पाएको तर आम पीडितहरू उपेक्षित भएको गुनासो गरिएको छ । पत्रमा भनिएको छ, ‘शक्ति र पहुँच हुनेले शहीद परिवारका नाममा खातमाथि खात अवसर पाउने तर केन्द्रीय नेतृत्वसँग उठबस नभएका परिवारहरू भने निरन्तर उपेक्षित र कमजोर बनाइएका छन् । यसले शहीद र घाइतेको भावनामाथि खेलबाड गरेको छ ।’
‘एउटै व्यक्ति र परिवारले पटक–पटक अवसर लुट्ने तर सन्तान र अभिभावक गुमाएका आम परिवारलाई सधैँ उपेक्षामा पारिँदा पार्टीप्रतिको आस्था र विश्वास कमजोर बन्दै गएको छ,’ पत्रमा भनिएको छ ।
सापकोटाले पत्रमार्फत शहीदका सन्तानको शिक्षा र जीविकोपार्जनमा परेको संकटप्रति नेतृत्वको ध्यानाकर्षण गराएकी छिन् । ‘राज्यले शहीद घोषणा त गर्यो, तर शहीदका छोराले कापी र कलम किन्दा पार्टी देखिएन, राज्यले चिनेन,’ पत्रमा मार्मिक ढङ्गले भनिएको छ, ‘शान्ति आवश्यक थियो, तर न्याय अझै अधुरो छ ।’
आगामी निर्वाचनको सन्दर्भ जोड्दै पत्रमा समानुपातिक निर्वाचन प्रणालीमा शहीद तथा घाइते परिवारलाई प्राथमिकता दिन जोडदार माग गरिएको छ । समानुपातिक व्यवस्था कसैको दया वा कृपा नभई जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धि भएको जिकिर गर्दै सापकोटाले यसमा ‘निश्चित अनुहार’ मात्र दोहोरिन नहुने चेतावनी दिएकी छिन् ।
‘समानुपातिक उम्मेदवारका वास्तविक हकदार शहीद, घाइते, अपाङ्ग र बेपत्ता परिवारहरू नै हुन्’, पत्रमा उल्लेख छ, ‘यदि पार्टीले उनीहरूलाई प्राथमिकता दिन सक्दैन भने भोलि न्यायका लागि फेरि कस्तो बलिदान दिनुपर्ने हो भन्ने गम्भीर प्रश्न उठ्नेछ ।’
आफूहरूले कुनै व्यक्तिगत लाभ वा कृपा नभई ‘भागको न्याय’ खोजेको स्पष्ट पार्दै सापकोटाले देशभरका पीडित परिवारको तर्फबाट आगामी निर्वाचनमा ठोस राजनीतिक निर्णय लिन प्रचण्डलाई आग्रह गरेकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण