बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेसमा चिसो बढे पनि न्यानो कपडा बिक्री नहुँदा व्यापारी निराश

सोमबार, १४ पुस २०८२, ०६ : ००
सोमबार, १४ पुस २०८२

सारांश

  • मधेस प्रदेशमा चिसो बढेसँगै न्यानो कपडाको व्यापारमा कमी आएको छ, जसले गर्दा व्यापारीहरू चिन्तित छन्।
  • जनकपुरधामका कपडा व्यापारीहरूले यस वर्षको जाडो सिजनको व्यापार इतिहासकै कमजोर भएको बताएका छन्, किनकि बिक्री घटेको छ।
  • व्यापारीहरूले आर्थिक मन्दी, मानिसहरूसँग पैसाको अभाव र भारतीय बजारमा सस्तो सामान उपलब्ध हुनुलाई व्यापार घट्नुको कारण मानेका छन्।
00:00 / NaN:NaN
Audio By AI

जनकपुरधाम । मधेस प्रदेशमा साँझ–बिहान चिसो बढेको छ । कतिपय दिन त घामसमेत देखिँदैन । चिसोले एकातिर जनजीवन प्रभावित भइरहेको छ भने अर्कोतिर कपडा व्यापारीहरू न्यानो कपडा बिक्री नभएको गुनासो गर्दैछन् ।

जाडो मौसम लागेसँगै न्यानो हुने कपडाको व्यापार बढ्ने अपेक्षाका साथ ज्याकेट, स्विटर लगायतका आइटम मगाए पनि व्यापार हुन नसकेको व्यापारीहरूको गुनासो छ ।

केही वर्ष अघिसम्म जाडो सुरु भएसँगै जनकपुरधामको मुख्य बजार क्षेत्र शिवचोक, रामचोक र फुटपाथसम्म ग्राहकको भिड लाग्ने गर्थ्यो । अहिले अधिकांश पसलमा ग्राहकको उपस्थिति न्यून छ । कतिपय पसलमा त दिनभरि एक–दुई जना ग्राहकसमेत नआउने अवस्था रहेको स्थानीय व्यापारी बताउँछन् ।

जनकपुरधामका कपडा व्यापारी विजय कुमार साहका अनुसार यस वर्ष जाडो सिजनको व्यापार इतिहासकै कमजोर अवस्थामा पुगेको छ । ‘जाडोका आइटम पटक्कै बिक्री भएको छैन,’ उनले भने, ‘पहिले जाडो सुरु हुनासाथ पसलमा ग्राहकको भिड लाग्थ्यो, अहिले दिनभरि कुर्नुपर्छ ।’

साहका अनुसार व्यापारीहरूले बैंक तथा साहुबाट ब्याजमा पैसा लिएर सामान ‘स्टक’ गरेका छन् । सिजनमा ती सामान बिक्री नहुँदा कर्जाको ब्याज तिर्नसमेत समस्या हुने उनको भनाइ छ ।

winter clothes (2)

‘हामीले व्यापार चल्छ भनेर पुँजी लगायौँ, तर बिक्री नहुँदा ब्याज तिर्न धौधौ परेको छ,’ साहले भने । जाडोका लागि भनेर ल्याएका कपडा यो सिजनमा बिक्री हुन नसके अर्को सिजनसम्मका लागि थन्किएर बस्ने भन्दै उनले यसबाट व्यापारीको लगानी ‘फ्रिज’ भएर बस्ने प्रस्ट पारे ।

‘जाडो सिजनमा बिक्री नभएका न्यानो कपडा अर्को जाडोसम्मका लागि थन्किएर बस्छन्,’ उनले भने, ‘यी कपडा बिक्री नहुँदा एकातिर हाम्रो पुँजी फसेर बस्छ भने अर्कोतिर गर्मी सिजनका लागि फेरि शीतल हुने कपडा ल्याउन थप पुँजी आवश्यक पर्छ ।’

ग्राहकसँग पैसाको अभाव रहेको स्थानीय व्यापारीको बुझाइ छ । कतिपय ग्राहक भारतीय बजारमा गएर सस्तो सामान किनमेल गरेर फर्किने गरेका कारण पनि नेपाली बजारमा चहलपहल नदेखिएको अर्का एक व्यापारीले बताए । ‘भारतमा लोकल उत्पादन सस्तोमा पाइन्छ,’ ती व्यापारीले भने, ‘परिवारका लागि दुईचार जोर कपडा ल्याउँदा भन्सार तिर्नु पर्दैन । त्यसैले पनि कतिपय नेपाली ग्राहक सस्तो कपडा किन्नका लागि भारतीय बजार धाउने गरेका छन् ।’

कपडा व्यापारी विजय पनि यो तर्कसँग सहमत छन् । ‘जनकपुरमा महँगो पर्छ भनेर मानिसहरू भारतीय बजारतिर  जान्छन् । हामी यहाँ कर, भाडा र मजदुरी सबै तिर्छौँ, जसले गर्दा केही महँगो पर्न जान्छ ।’

winter clothes (4)

जनकपुरधामस्थित प्रिन्स बस्त्रालयका सञ्चालक जितेन्द्र यादवका अनुसार यस्तो चिसो मौसममा न्यानो कपडा नबिक्नु अचम्मको कुरा हो । फुटपाथमा अलिअलि बिक्री भएजस्तो देखिए पनि फेन्सी स्टोरहरूको अवस्था नाजुक रहेको उनले बताए ।

उनका अनुसार अघिल्ला वर्षमा जाडोको सिजनमा राम्रै व्यवसाय हुने गरे पनि अहिले कतिपय दिन त बोहनीसमेत हुन मुस्किल परेको छ ।

कपडा व्यापारी पप्पु कुमार साहका अनुसार अहिलेको अवस्था केवल व्यापारको समस्या नभई पूरै आर्थिक मन्दीको सङ्केत हो । ‘घरधनीले समयमा भाडा माग्छन्, कर्मचारीलाई तलब दिनुपर्छ, तर आम्दानी छैन,’ उनले भने ।

winter clothes (5)

उनका अनुसार जेनजी आन्दोलनपछि आर्थिक गतिविधि ठप्प हुँदाको असर अझै हट्न सकेको छैन । ‘पहिला त साहुले उधारोमा पनि माल दिन्थे । अहिले पूरा पैसा दिएपछि मात्रै माल आउँछ,’ उनले भने ।

अर्का व्यापारी रमण कुमार मण्डलका अनुसार मानिससँग आम्दानी नभएपछि लुगाफाटोमा खर्च गर्ने रुपैयाँको अभाव देखिएको छ । ‘मानिसहरूको आम्दानी छैन । ऋणमा डुबिरहेका छन्,’ उनले भने, ‘भोलि के हुने हो भन्ने कुनै ठेगान छैन । यस्तो अवस्थामा कपडा किन्ने सोच कसरी आउँछ ?’

व्यापारीहरूले सरकारसँग सहुलियतपूर्ण कर्जा, बैंकको ब्याजदर घटाउने व्यवस्था, सीमापार अव्यवस्थित व्यापार नियन्त्रण र स्थानीय बजार संरक्षणका लागि विशेष नीति ल्याउन माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप