मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्डका चर्चित अलराउन्डर डग ब्रेसवेलद्वारा संन्यासको घोषणा

सोमबार, १४ पुस २०८२, ०६ : २४
सोमबार, १४ पुस २०८२

सारांश

  • न्युजिल्यान्डका क्रिकेटर डग ब्रेसवेलले ३५ वर्षको उमेरमा क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
  • ब्रेसवेलले सन् २०११ देखि २०२३ सम्म २८ टेस्ट, २१ एकदिवसीय र २० टी-२० खेल खेलेका थिए।
  • उनले अस्ट्रेलियाविरुद्धको खेलमा ९ विकेट लिँदै न्युजिल्यान्डलाई २६ वर्षपछि अस्ट्रेलियामा जित दिलाए।

अकल्यान्ड । न्युजिल्यान्डका अनुभवी अलराउन्डर डग ब्रेसवेलले ३५ वर्षको उमेरमा क्रिकेटका सबै स्वरूपबाट संन्यासको घोषणा गरेका छन्।

 सन् २०२३ मा न्युजिल्यान्डका लागि अन्तिम टेस्ट खेलेका ब्रेसवेल पछिल्लो समय करङको चोटबाट ग्रसित थिए। यही चोटका कारण घरेलु सिजनका खेलहरू गुमाउनु परेपछि उनले खेल जीवनबाट बिदा लिने निर्णय गरेका हुन्।

सन् २०११ देखि २०२३ सम्मको अन्तर्राष्ट्रिय करियरमा ब्रेसवेलले २८ टेस्ट, २१ एकदिवसीय र २० टी-२० खेल खेले। उनको करियरको सबैभन्दा बिर्सनै नसकिने क्षण सन् २०११ डिसेम्बरको होबार्ट टेस्ट थियो। 

अस्ट्रेलियाविरुद्धको सो खेलमा ६० रन दिएर ९ विकेट लिँदै उनले न्युजिल्यान्डलाई २६ वर्षपछि अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट जित दिलाएका थिए। न्युजिल्यान्डले त्यसयता अस्ट्रेलियामा अर्को टेस्ट जित्न सकेको छैन। आफ्नो मध्यम गतिको बलिङबाट उनले टेस्टमा ७४ र सेतो बलको क्रिकेटमा ४६ विकेट चट्काए।

ब्रेसवेल न्युजिल्यान्डको प्रख्यात क्रिकेटिङ परिवारबाट आउँछन्। उनका पिता ब्रेन्डन र काका जोन दुवैले टेस्ट क्रिकेट खेलेका थिए। उनले आफ्ना दाजु माइकल ब्रेसवेलसँगै पनि अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन्। 

पहिलो श्रेणीको क्रिकेटमा ४ हजारभन्दा बढी रन र ४ सयभन्दा बढी विकेट लिने दुर्लभ कीर्तिमान समेत ब्रेसवेलको नाममा छ। १३७ प्रथम श्रेणी खेलमा उनले ४३७ विकेट लिनुका साथै ३ शतकसहित ४,५०५ रन बनाएका छन्।

न्युजिल्यान्डको घरेलु टोली सेन्ट्रल डिस्ट्रिक्ट्सबाट लामो समय खेलेका ब्रेसवेलले आईपीएलमा दिल्ली डेयरडेभिल्स (अहिलेको क्यापिटल्स) र दक्षिण अफ्रिकी एसए-२० मा जोहानेसबर्ग सुपर किंग्सको तर्फबाट पनि प्रतिनिधित्व गरे। 

संन्यासको घोषणा गर्दै उनले आफ्नो देश र घरेलु टोलीका लागि खेल्न पाउनु ठूलो गौरवको कुरा भएको बताए। लामो समयसम्म खेलको आनन्द लिन पाएकोमा उनले कृतज्ञता समेत व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप