शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

रियाद महरेजको निर्णायक गोलमा अल्जेरिया अन्तिम १६ मा

सोमबार, १४ पुस २०८२, १० : ०४
सोमबार, १४ पुस २०८२

सारांश

  • अल्जेरियाले बुर्किना फासोलाई १-० ले हराएर अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गर्यो।
  • रियाद महरेजले पेनाल्टी गोल गरे, र यो उनको प्रतियोगितामा तेस्रो व्यक्तिगत गोल थियो।
  • खेलमा बुर्किना फासोले बराबरीको प्रयास गरे पनि सफल भएन, र अल्जेरिया समूह 'ई' मा शीर्ष स्थानमा पुग्यो।

रबात । कप्तान रियाद महरेजको पेनाल्टी गोलको मद्दतले बुर्किना फासोलाई १-० ले पराजित गर्दै अल्जेरिया अफ्रिका कप अफ नेसन्स (एफकन) को नकआउट चरणमा प्रवेश गरेको छ। मोरक्कोको रबातमा आइतबार राति भएको खेलमा जित निकाल्दै सन् २०१९ को च्याम्पियन अल्जेरियाले लगातार दुई पटक समूह चरणबाटै बाहिरिनुपरेको खराब इतिहासलाई समेत अन्त्य गरेको छ।

खेलको पहिलो हाफमा बुर्किना फासोका इस्माइला ओडेराओगोले गरेको फलका कारण अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो। म्यानचेस्टर सिटीका पूर्वविङ्गर महरेजले उक्त मौकालाई सदुपयोग गर्दै बललाई पोस्टको तल्लो कुनामा सटिक दिशा दिए। यस प्रतियोगिताका दुई खेलमा महरेजको यो तेस्रो व्यक्तिगत गोल हो। यसअघि सुडान विरुद्धको ३-० को जितमा पनि उनले दुई गोल गरेका थिए।

पहिलो हाफमै गोल खाएपछि बुर्किना फासोले खेलमा फर्कन निकै प्रयास गरेको थियो। पिएरे काबोरेले बराबरी गोलका लागि दुईवटा सुन्दर अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। 

दोस्रो हाफमा पनि बुर्किना फासोले दबाब कायम राखे तापनि खेलको ८२ औं मिनेटसम्म कुनै पनि प्रहार टार्गेटमा पर्न सकेन। अर्कोतर्फ, अल्जेरियाको काउन्टर अट्याकलाई विफल पार्न बुर्किना फासोका गोलकिपर हर्भे कोफीले केही उत्कृष्ट बचाउहरू गरेका थिए।

यो जितसँगै समूह 'ई' मा ६ अंक जोड्दै उत्तर अफ्रिकी राष्ट्र अल्जेरिया शीर्ष स्थानमा उक्लिएको छ। आइतबारै भएको अर्को खेलमा सुडानले इक्वेटोरियल गिनीलाई १-० ले हराएपछि बुर्किना फासो र सुडानको समान ३-३ अंक भएको छ। 

अब बुधबार हुने समूह चरणको अन्तिम खेलमा अल्जेरियाले इक्वेटोरियल गिनीको सामना गर्नेछ भने बुर्किना फासोले सुडानसँग प्रतिस्पर्धा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप