बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘विचारविहीन भएर चुनाव जित्न मात्र गरिने ध्रुवीकरणले देशलाई निकास दिँदैन’

मङ्गलबार, १५ पुस २०८२, १५ : ४०
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • नयाँ दलहरूले एकल सरकार बनाउन नसक्ने सन्तोष परियारको निष्कर्ष छ।
  • रास्वपा र बालेन्द्र शाहको एकता जनताको मुद्दामा आधारित हुनुपर्ने उनको भनाइ छ।
  • प्रलोपाले सामूहिक समावेशी नेतृत्व र पर्यावरणको मुद्दालाई प्राथमिकता दिने बताएको छ।

पोखरा । जेनजी आन्दोलनपछि पुराना दलहरूलाई बढारेर नयाँहरूको सरकार बन्ने आम अनुमान छ । सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । चुनावी वातावरण बनाउन दलहरूबिच सरकार निरन्तर संवादमा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संस्थापक भूमिकाबाट अलग्गिएर हालै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) गठन गरेका सन्तोष परियार अहिलेकै अवस्था र निर्वाचन प्रणालीमा नयाँ दलहरूले एकल सरकार बनाउनु वा ठुलो उथलपुथल ल्याउन सम्भव नभएको निष्कर्ष सुनाउँछन् । 

आगामी निर्वाचन, नयाँ दलहरूबिचको एकता लगायत विषयमा परियारसँग रातोपाटीकर्मी प्रकाश ढकालले गरेको कुराकानीः

पछिल्लो समय नयाँ राजनीतिक दल र शक्तिहरूबिच ध्रुवीकरणलाई कसरी लिनुहुन्छ ? 

जेनजी आन्दोलन पछाडि मैले एउटा ठुलो वैचारिक ध्रुवीकरणको अपेक्षा गरेको थिएँ । प्रतिगामी र यथास्थितिवादीहरू एकातिर र हामीजस्ता प्रगतिशील, वामपन्थी विचार राख्नेहरू अर्कोतिर भएर कित्ताकाट हुनुपथ्र्यो, तर अहिले जे भइरहेको छ, त्यो अलि फरक छ । 

अहिले ‘सबै मिल्ने’ भन्ने भाष्य निर्माण गरिँदै छ, जुन मलाई लोकतान्त्रिक लाग्दैन । सबै मिल्ने होइन, विचार र मुद्दा मिल्नेहरू एक ठाउँमा आउने हो । विचारविहीन भएर केवल चुनाव जित्नका लागि गरिने ध्रुवीकरणले देशलाई निकास दिँदैन । जसरी कांग्रेस–एमाले–माओवादी सत्ताका लागि मिल्दा वितृष्णा छ, नयाँहरूले पनि त्यही बाटो समाते भने त्यसले समाज रूपान्तरण गर्दैन ।

रास्वपा र बालेन्द्र शाहको एकता वा गठबन्धनलाई चाहिँ कसरी लिनुहुन्छ ?

यदि जनताको मुद्दा, संविधानको रक्षा र राजनीतिक उपलब्धिलाई बलियो बनाउन एकता हुन्छ भने त्यो राम्रो हो । तर, आजको दिनमा त्यस्ता मुद्दाहरूमा बहस छैन । बहस केवल प्रधानमन्त्री को हुने ? र भागबन्डा कसरी मिलाउने ? भन्नेमा सीमित छ । यो राजनीतिक दरिद्रता हो । प्रधानमन्त्री त संसद्ले बनाउने हो, पहिला संसद्मा पुग्नुपर्‍यो । विचार, सिद्धान्त र एजेन्डामा प्रस्ट नभई प्राविधिक रूपमा एक ठाउँमा आउँदैमा देश बन्दैन ।
तपाईंले रास्वपा छोड्नुको मुख्य कारण पनि यही वैचारिक अस्पष्टता नै हो त ?

हो । हामीले रास्वपामा नयाँ गर्ने भनेरै प्रयास गरेका थियौँ । जलेश्वर बैठकमा दस्तावेज लेख्नेमध्ये म पनि हुँ, जहाँ समावेशिता र सामाजिक न्यायको कुरा उठाइएको थियो । तर, काम गर्दै जाँदा हामीले चाहेजस्तो ‘नेपाली माटो सुहाउँदो प्रगतिशील पार्टी’ बन्न सकेन । विचारमा एउटा कुरा हुने तर व्यवहारमा अर्को हुने स्थिति देखियो । अर्कोतर्फ, रविजी (रवि लामिछाने) कानुनी झमेलामा फस्नुभयो, जसले गर्दा नेतृत्वसँग सहकार्य सहज भएन । तर, मेरो लागि मुख्य कुरा विचार नै हो । 

विचारविहीन राजनीति सम्भव छैन भनेरै म अलग भएको हुँ ।

तपाईंमाथि त रास्वपामा भविष्य नदेखेर वा सांसद पद दोहोरिने सम्भावना नभएर बाहिरिएको भन्ने आरोप पनि छ नि ?

यो एकदमै निराधार र कुतर्क हो । बरु रास्वपाको विधानमा समानुपातिक सांसद दोहोर्‍याउनु हुँदैन भनेर लेख्नुपर्छ भन्ने मान्छे मै हुँ । पार्टीको केन्द्रीय समिति र सचिवालयका साथीहरूलाई यो कुरा राम्रोसँग थाहा छ । यो आरोप मात्र हो । म पदका लागि भन्दा पनि विचारको राजनीति स्थापित गर्न लागिपरेको मान्छे हुँ ।

डा. बाबुराम भट्टराई पनि नयाँ शक्तिहरूको एकताको दौडधुपमा देखिनुभयो । उहाँ किन रास्वपा वा बालेनहरूसँग नजिकिन खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईजीको जेनजी आन्दोलन र उनीहरूका मुद्दासँग निकटता देखिन्छ । उहाँलाई धेरैले वैकल्पिक राजनीतिको सूत्रधार मान्छन् । एउटा प्राज्ञिक व्यक्तित्व भएको नाताले उहाँले सबैसँग सहकार्यको हात बढाउनु स्वाभाविक हो । तर उहाँको भूमिका अलि फरक छ । उहाँ हाम्रो पार्टी (प्रलोपा) को संरक्षक हुनुहुन्छ, कार्यकारी भूमिकामा हुनुहुन्न । उहाँले सबैसँग संवाद गर्नुलाई अन्यथा लिनु हुँदैन ।
फागुन २१ मा निर्वाचन हुँदैन भनेर पुराना दलहरू भन्छन्, प्रलोपासँग पनि चुनाव हुनेमा शंका छ ?

हामी चुनावको पक्षमा छौँ । अहिलेको राजनीतिक शून्यता चिर्न र नागरिकको सार्वभौम अधिकार स्थापित गर्न चुनावको विकल्प छैन, तर चुनाव नितान्त प्राविधिक विषय मात्र होइन । सरकारले निष्पक्ष र भयरहित वातावरण बनाउनुपर्छ । हिजो हामी हिंसाको चरणबाट आएका हौँ, फेरि पनि डर र त्रासमा चुनाव भयो भने त्यसको अर्थ रहँदैन । अर्को कुरा, दलहरू बिनाको चुनाव हुँदैन । सरकारले दलहरूलाई विश्वासमा लिएर चुनाव गराउनुपर्छ ।

फागुन २१ पछि एउटा सरकार त बन्छ । तपाईंको अनुमानमा त्यसपछि बन्ने सरकारको नेतृत्व कसले गर्दै छ ?

अहिलेको निर्वाचनमा धेरै ठुलो उथलपुथल होलाजस्तो मलाई लाग्दैन । २०७९ मा जस्तै केही नयाँ मान्छेहरू आउलान्, पुरानाहरू केही बिदा होलान् । तर, अहिलेको हाम्रो निर्वाचन प्रणाली र पार्टीहरूको संगठनको संरचना नै यस्तो छ कि यसले तत्कालै कुनै र्‍याडिकल चेन्ज ल्याउने सम्भावना देखिँदैन । हामीले (नयाँ शक्तिहरूले) ठुलो दृष्टिकोणबाट हेरेर, भागबन्डा छोडेर देशलाई केन्द्रमा राख्यौँ भने केही हुन सक्ने हो । तर आजको दिनमा त्यो देखिँदैन । यहाँ सबैलाई प्रधानमन्त्री नै चाहिएको छ । त्यसैले चुनावपछि पनि ठुलो परिवर्तन भन्दा पनि दलहरू अलिकति खुम्चिने वा तन्किने मात्रै हो । 

नयाँले नै सरकार बनाउन सक्नेगरी संख्या आउँछ कि आउँदैन होला त ? 

त्योचाहिँ गाह्रो छ । अहिलेको अवस्था हेर्दा त्यो सम्भावना कम देखिन्छ । किनभने त्यसका लागि नयाँ शक्तिहरूबिच जुन तहको चुनावी रणनीति र मुद्दामा साझेदारी हुनुपथ्र्यो, त्यो भइरहेको छैन । अहिले हामी केवल नेगोसिएसन र बार्गेनिङ मात्रै गरिरहेका छौँ । राजनीतिमा सधैँ बार्गेनिङले मात्र काम गर्दैन । हिजो दुई तिहाइको सरकार हुँदा पनि केही भएन, त्यसैले संख्या मात्रै सबैथोक होइन । विचार र मुद्दामा ठोस सहमति नभई सिट संख्याको जोड–घटाउले मात्रै नयाँ दलको नेतृत्वमा सरकार बन्ने अवस्था कठिन छ । 

तपाईंहरू चाहिँ चुनावमा कसैसँग एकता वा गठबन्धन गर्दै हुनुहुन्छ कि एक्लै प्रतिस्पर्धा ? कुनै दलसँग गफगाफ भइरहेको छ ? 

हामी अहिलेको निर्वाचन प्रणालीका कारण पनि एक्लै लडेर केही नहुने बाध्यतामा छौँ । त्यसैले विचार मिल्नेसँग सहकार्य गर्नेबारे पार्टीभित्र र बाहिर अलि–अलि छलफल भइरहेको छ । विशेषगरी जसले समावेशिता, सामाजिक न्याय र वामपन्थी रुझान राख्छन्, नेपाली माटो सुहाउँदो विचार बोक्छन्, त्यस्ता दलहरूसँग हाम्रो सहकार्य हुन्छ । अहिले हामी सबैसँग कुरा गरिरहेका छौँ, एक्लै हिँडेर हुँदैन भन्ने रियलाइजेसन सबैमा छ । 
रास्वपासँग पनि सहकार्य गर्न नहुने वा गर्न नपर्ने कुनै कारण छैन । मुख्य कुरा कुन मुद्दामा सहमति गर्ने भन्ने हो । सहमति नभईकन फरक मुद्दाका मान्छे एक ठाउँमा आएर अर्थ छैन, तर अहिलेको संविधान र व्यवस्था मान्ने शक्तिहरू एकठाउँमा आउँदा हामीलाई खुसी नै लाग्छ । 

अन्त्यमा, प्रलोपाले अबको राजनीतिमा कस्तो एजेन्डा स्थापित गर्न खोज्दै छ ?

हामी नेपालको राजनीतिमा ‘सामूहिक समावेशी नेतृत्व’को अभ्यास गर्न खोजिरहेका छौँ । कुनै एक व्यक्तिलाई ‘मसिहा’ वा देवता बनाएर पुज्ने राजनीतिको अन्त्य गर्न चाहन्छौँ । हामी नेपाली समाजको बनावटअनुसार वामपन्थी र प्रगतिशील मुद्दाहरू बोक्छौँ । साथै पुँजीवादले संकटमा पारेको पर्यावरणको मुद्दालाई हामीले प्राथमिकतामा राखेका छौँ । मान्छे र पृथ्वी बचाउने राजनीति नै हाम्रो मूल एजेन्डा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप