फागुन २१ को चुनाव एउटा अन्तिम चेतावनीसँगै ठूलो आशा पनि हो
‘जेनजी’को विद्रोहले नेपाललाई एउटा नितान्त फरक र निर्णायक चुनावतर्फ डोर्याउँदै छ। फागुन २१ को चुनाव कुनै साधारण लोकतान्त्रिक प्रक्रिया मात्र होइन, यो दशकौँदेखि सत्ता सम्हाल्दै आएका ‘पुराना पुस्ता’ र धैर्य गुमाइसकेका ‘नयाँ पुस्ता’ बिचको निर्णायक टकराव हो। यसपटक जनताले “को जित्छ?” भन्दा पनि “कसलाई बिदा गर्ने?” भन्ने प्रश्नको कठोर उत्तर मतपेटिकामार्फत दिनेछन्।
तीन दशकदेखि सत्ताको वरिपरि घुमिरहेका उही पुराना अनुहारहरू आज पनि “संक्रमणकाल”, “अन्तर्राष्ट्रिय दबाब” र “संविधान कार्यान्वयन” जस्ता बहाना बनाएर आफ्नो असफलता ढाक्न खोज्दैछन्। तर, मतदाताले अब यो रटान पत्याउने छैनन्। किनभने, यही नेतृत्वको कालखण्डमा युवाले स्वदेशमा रोजगारीको सट्टा विदेशी भिसा, विकासको सट्टा ठुलठुला घोटाला र आशाको सट्टा केवल निराशा मात्र हात पारेका छन्। इतिहासको ब्याज खाएर वर्तमानको असफलतालाई माफी माग्ने राजनीतिको अब अन्त्य हुनुपर्छ। राणा शासन, पञ्चायत, जनयुद्ध वा अन्य आन्दोलनको इतिहास सम्झाएर आजको कुशासनलाई ढाकछोप गर्नु अब राजनीतिक छल मात्र हो। २०४६ सालको परिवर्तन, १० वर्षे जनयुद्ध र २०६२/६३ को आन्दोलनका उपलब्धि जनताका थिए, तर त्यसको लाभांश सीमित नेतृत्वले मात्र लियो। विडम्बना, आज तिनै नेताहरू “स्थिरता” को नाममा सत्तामा टाँसिएर देशलाई अस्थिर बनाइरहेका छन्।
अहिले दलहरूबीच नीति, सिद्धान्त र दृष्टिकोणमा कुनै प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा छ त केवल कसले सत्ता जोगाउने, कसले भ्रष्टाचारको फाइल लुकाउने र कसले आफ्नो दोष अरूमाथि थोपर्ने भन्नेमा मात्र सीमित छ। यही कारणले गर्दा “वाम–दक्षिण” वा “यथास्थितिवादी–परिवर्तनकारी” जस्ता राजनीतिक ट्यागहरू अब खोक्रा साबित भइसकेका छन्। दलहरूबाट विचार हराएको छ, बाँकी छ त केवल सत्ता स्वार्थ। यस्तो अवस्थामा पुस्तागत विद्रोह मौन तर खतरनाक रूपमा अघि बढिरहेको छ। आजको युवा पुस्ता सडकमा चिच्याइरहेको छैन, तर उसले राज्यसत्ताप्रतिको विश्वास फिर्ता लिइसकेको छ। उनीहरू पार्टी कार्यालयका झोले कार्यकर्ता होइनन्, उनीहरू मतपेटिकामा नतिजा बदल्ने निर्णायक शक्ति हुन्।
बालेन शाह, हर्क साम्पाङ, रवि लामिछाने र गोपी हमालजस्ता पात्रहरू पुराना दलका लागि चेतावनी हुन्, अपवाद होइनन्। उनीहरूमा काम गर्ने हुटहुटी छ, किनकि उनीहरूलाई थाहा छ— सफल भए टिक्छन्, असफल भए हटाइन्छन्। यही ‘जवाफदेहिताको डर’ ले उनीहरूलाई काम गर्न बाध्य बनाउँछ। तर, पुराना नेताहरूमा यो डर कहिल्यै देखिएन, उनीहरूले जनतालाई सधैं आफ्नो पेवा ठाने। यो नयाँ पुस्ताले अब भाषण होइन, ‘कार्यसम्पादन’को हिसाब खोज्छ। उनीहरू पार्टीको झण्डा होइन, उम्मेदवारको चरित्र र क्षमता हेरेर मत दिन्छन्।
आगामी चुनावले नेपालको भविष्यका गम्भीर प्रश्नहरूको छिनोफानो गर्नेछ। यसले सत्तामा पुस्ता बदलिन्छ कि केवल गठबन्धन, लोकतन्त्र व्यवहारमा देखिन्छ कि भाषणमै सीमित रहन्छ, र नेपाल युवाको देश बन्छ कि वृद्ध नेताहरूको संग्रहालय भन्ने कुराको अन्तिम फैसला गर्नेछ। यदि यो चुनावपछि पनि सत्तामा अनुहार बदलियो तर संस्कार बदलिएन भने, त्यसको दोष नेताको मात्र हुनेछैन; चुप लागेर सहने र हचुवामा मत हाल्ने मतदाताको पनि हुनेछ। यो चुनाव एउटा अन्तिम चेतावनीसँगै ठूलो आशा पनि हो। अबको फैसलाले नै तय गर्नेछ— यो देशमा ‘अल्फा पुस्ता’ बस्ने कि विदेशिने?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण