बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक तथा आर्थिक संकट समाधान गर्न राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य : प्रचण्ड

बुधबार, १६ पुस २०८२, १६ : ०५
बुधबार, १६ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य रहेको बताएका छन् । 

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

संयोजक दाहालले गत भदौमा भएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्व र समाजका स्थापित संघसंस्थाहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको बताए ।

“यो आन्दोलनले हामीलाई दुई वटा विकल्प दिएको छः कि त आफ्ना कमजोरीहरू सच्याएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने, कि इतिहासको मञ्चबाट पन्छिने,” उनले भने। आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिए । 

मुलुक अहिले अन्योलबाट मुक्त हुँदै निर्वाचनको दिशामा अघि बढेको भन्दै उनले सरकारको कदमको प्रशंसा गर्नुभयो। निर्वाचन नै देशको निकास र स्थायित्वको मुख्य आधार भएको बताए । उनले भने, “स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ जनादेश प्राप्त गर्नु र त्यसैमार्फत संविधान तथा कानुनका सीमा र कमीहरूलाई सच्याउनु नै आजको मुख्य आवश्यकता हो ।”

निजी क्षेत्र र आर्थिक विकास

निजी क्षेत्रको सुरक्षा र प्रोत्साहनबिना समृद्धि सम्भव नभएको दाहालको स्वीकारोक्ति थियो। संविधानमा निजी, सार्वजनिक र सहकारी क्षेत्रको तीन खम्बे अर्थनीति लेखिए पनि व्यवहारमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अझै कमी–कमजोरी रहेको उनले बताए ।

“निजी क्षेत्रलाई प्रोत्साहित गरिएन र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिका कुरा केवल भाषणमा मात्रै सीमित हुनेछन्,” उनले थपे । 

संयोजक दाहालले निर्वाचनमा जान वा अन्य कुनै पनि निकास खोज्नका लागि राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबिचको साझा सहमति आवश्यक रहेको बताए । संविधान जारी भएको १० वर्ष पुगेको भन्दै यसको समीक्षा गर्ने र नयाँ संसद्‌बाट आवश्यक संशोधन गर्दै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने उनको भनाइ थियो ।

गत भदौको प्रदर्शनका क्रममा भएको घुसपैठ र विध्वंसप्रति सङ्केत गर्दै उनले मुलुकको संवेदनशीलतालाई बुझेर सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप