सुदूरपश्चिममा ४१ मतदान स्थल थपिए, मतदाता १७ लाख १५ हजार पुगे
सारांश
- सुदूरपश्चिम प्रदेशमा फागुन २१ गते हुने निर्वाचनका लागि ४१ मतदान स्थल थपिएका छन्।
- निर्वाचन आयोगले मतदाताको सङ्ख्या र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मतदान स्थल थप गरेको हो।
- दार्चुलामा मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ।
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या वृद्धि र भौगोलिक सुगमतालाई ध्यानमा राख्दै निर्वाचन आयोगले नौ जिल्लामा मतदान स्थल थप गरेको हो।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टले यसअघि १ हजार १३५ मतदान स्थल रहेकोमा यसपटक ४१ वटा थपिएको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी डडेलधुरामा २४ वटा स्थल थपिएर १०४ कायम भएको छ।
यस्तै, बाजुरामा ५ वटा थपिएका छन् भने डोटीमा ३ वटा थपेर ११८ र कैलालीमा २ वटा थपेर २३७ मतदान स्थल कायम गरिएको छ। दार्चुलामा पनि दुई मतदान स्थल थपिएर ११२ पुगेको छ। बझाङ (१३३), कञ्चनपुर (१३२) र अछाम (१३०) मा भने मतदान स्थलको सङ्ख्यामा कुनै हेरफेर भएको छैन।
यस्तै आगामी निर्वाचनका लागि सुदूरपश्चिममा कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ७६० पुगेको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार प्रदेशमा ८ लाख ६४ हजार ४२३ महिला, ८ लाख ५१ हजार ३१९ पुरुष र १८ जना अन्य मतदाता रहेका छन्। २०७९ को निर्वाचनमा यहाँ १६ लाख ६९ हजार ४११ मतदाता थिए।
जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख ५१ हजार ५२ जना छन् भने सबैभन्दा कम बाजुरामा ८६ हजार ९६१ रहेका छन्। यस्तै कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, अछाममा १ लाख ६५ हजार ३३७, बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३, डडेलधुरामा ९३ हजार ४०३ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जिल्लाका मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए।
जिल्लाका १४१ मतदान केन्द्रमध्ये २२ वटालाई ‘अति संवेदनशील’, ४१ लाई ‘संवेदनशील’ र ७८ लाई ‘सामान्य’ सूचीमा राखिएको छ। प्रजिअ पौडेलले भने, ‘मतदान केन्द्रको वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालनको योजना बनाउँछौँ।’ दार्चुलामा ११२ मतदान स्थल र १४१ मतदान केन्द्र रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण