नेपाली कांग्रेसः भाषणमा परिवर्तन, व्यवहारमा यथास्थिति
सारांश
- नेपाली कांग्रेसले टिकट वितरणमा पुरानै शैली अपनाएको आरोप लागेको छ, जसले पार्टीभित्र असन्तुष्टि बढाएको छ।
- युवा पुस्तालाई नेतृत्वमा अवसर नदिँदा पार्टीमा निराशा र पलायन बढेको छ, जसले गर्दा पार्टी कमजोर हुँदै गएको छ।
- कांग्रेसले परिवर्तनको कुरा गरे पनि व्यवहारमा पुरानै नेता र शैलीलाई निरन्तरता दिँदा आगामी चुनावमा चुनौती थपिने देखिएको छ।
नेपाली कांग्रेसले दशकौँदेखि आफूलाई लोकतान्त्रिक मूल्य, संस्थागत अभ्यास र परिवर्तनको अग्रदूतका रूपमा प्रस्तुत गर्दै आएको छ । नेपालको राजनीतिक इतिहासमा कांग्रेसको भूमिका महत्त्वपूर्ण र निर्णायक रहँदै आएको तथ्य निर्विवाद छ । निरंकुशताविरुद्धको संघर्षदेखि बहुदलीय व्यवस्थाको स्थापना, लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणसम्म कांग्रेसको योगदान उल्लेखनीय छ ।
तर इतिहासको गौरवले मात्र वर्तमानको चुनौती समाधान हुँदैन । जब प्रश्न सत्ता र प्रतिनिधित्वको प्रवेशद्वार मानिने टिकट वितरणको आउँछ, त्यही कांग्रेस बारम्बार आफ्नै लोकतान्त्रिक दाबीका खिलाफ उभिन्छ । आज कांग्रेसको टिकट वितरण प्रक्रिया केवल संगठनात्मक कमजोरीको विषय होइन, यो पार्टीको राजनीतिक इच्छाशक्ति, नेतृत्वको मानसिकता र भविष्यप्रतिको दृष्टिकोण मापन गर्ने सबैभन्दा स्पष्ट सूचक बनेको छ ।
परिवर्तनको भाषण र व्यवहारबिचको दूरी यही प्रक्रियाले नाङ्गो रूपमा देखाइदिएको छ ।
कांग्रेसका नीति दस्ताबेज, महाधिवेशनका भाषण र सार्वजनिक घोषणामा ‘पुस्तान्तरण’, ‘नयाँ नेतृत्व’ र ‘आन्तरिक लोकतन्त्र’ अनिवार्य शब्द बनेका छन् । यी शब्दहरू बिना, कुनै पनि कांग्रेसीको भाषण अपूरो हुन जान्छ । तर व्यवहारमा ती शब्दहरू सत्ताको केन्द्रमा बसेकाहरूका लागि केवल भाषिक सजावट जस्तै देखिन्छन् ।
कांग्रेसले आफ्नै टिकट वितरण संस्कारमा उल्लेखनीय सुधार गर्ला भन्ने विश्वास गर्ने ठोस आधार देखिँदैन । किनभने हालसालै गरिएको पार्टी संरचनाबाट उम्मेदवार सिफारिसको अवस्था हेर्दा नियत अझै पनि पुरानै सूत्रमा आधारित देखिन्छ । जहाँ जसको पकड छ, त्यहीँको नाम सिफारिस हुने प्रवृत्ति हाबी छ, र प्रवृत्तिवादी सोचमा कुनै सार्थक परिवर्तन आएको महसुस हुँदैन । समस्या व्यक्ति विशेषको होइन, दशकौँदेखि जरा गाडेर बसेको संरचना र राजनीतिक संस्कारकै हो ।
दोहोरिइरहने उम्मेदवार
संगठन बलियो हुँदाहुँदै पनि अपेक्षित परिणाम नआउनुको मूल कारण बारम्बार गलत उम्मेदवार छनोट नै हो भन्ने तथ्यलाई अब नकार्न सकिँदैन । तर पार्टी नेतृत्व यसलाई गम्भीर आत्मसमीक्षाको विषय बनाउन चाहँदैन । बरु उही अनुहारलाई पटक–पटक दोहोर्याउँदै पराजयको जिम्मेवारी मतदाता, परिस्थिति, गठबन्धन वा ‘राजनीतिक षड्यन्त्र’ माथि थोपर्ने प्रवृत्ति देखिन्छ ।
पाँच–पाँच पटक चुनाव हारेका वा जितेका, स्थानीय स्वीकार्यता खस्किएका, जनतासँग प्रत्यक्ष सम्पर्क टुट्दै गएका र राजनीतिक ऊर्जा समाप्त प्रायः भइसकेका व्यक्तिहरू पुनः उम्मेदवार बन्नु कांग्रेसमा सामान्य विषय बनेको छ । यहाँ योग्यता, लोकप्रियता, कार्यक्षमता वा भविष्यदृष्टि होइन, पहुँच, नातावाद र आन्तरिक शक्ति सन्तुलन निर्णायक बन्ने गरेको छ । यसले पार्टीलाई जनताबाट टाढा र आफ्नै घेराभित्र सीमित बनाउँदै लगेको छ ।
विधान कागजमा, अभ्यास बन्द कोठामा
कांग्रेसको विधानले पारदर्शी, प्रतिस्पर्धात्मक र तल्लो तहबाट उम्मेदवार छनोट गर्ने व्यवस्था गरेको दाबी गर्छ । वडा, पालिका, प्रदेश र केन्द्रसम्म सिफारिस र छलफलको बहुस्तरीय प्रणाली कागजमा निकै लोकतान्त्रिक देखिन्छ । तर व्यवहारमा विधान स्वयं अवरोध बनेको देखिन्छ ।
धेरै निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस गरिएको छ, वैकल्पिक नामलाई केवल औपचारिकता पूरा गर्नका लागि प्रयोग गरिन्छ र अन्तिम निर्णय केही सीमित व्यक्तिको बन्द घेराभित्र हुन्छ । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई संस्थागत अभ्यासभन्दा बढी भ्रमको तहमा सीमित बनाएको छ । लोकतन्त्रको अभ्यास पार्टीभित्रै कमजोर हुँदा त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा पर्नु स्वाभाविक हुन्छ ।
युवामाथि परेको चोट
यस सम्पूर्ण प्रक्रियाको सबैभन्दा ठूलो क्षति नयाँ पुस्ताले भोगिरहेको छन् । शिक्षित, सक्षम, पेसागत रूपमा अनुभवी र स्थानीय रूपमा लोकप्रिय युवाहरूलाई नेतृत्वको विकल्पका रूपमा होइन, सम्भावित खतरा वा चुनौतीका रूपमा हेर्ने दृष्टिकोण कांग्रेसभित्र गहिरोसँग मौलाएको छ । युवालाई भाषणमा ‘भविष्य’ भनिन्छ, तर निर्णयको क्षणमा ‘जोखिम’ ठानिन्छ ।
स्थापित नेताहरूले आफ्नै वर्चस्व जोगाउन विधानको मर्मविपरीत एकल नाम सिफारिस गराउने, सम्भावित प्रतिस्पर्धीलाई सुरुमै निष्क्रिय बनाउने, संगठनभित्र अवसरबाट वञ्चित गर्ने रणनीति अपनाएका उदाहरणहरू प्रशस्त छन् । यसले पार्टीभित्र असन्तोष मात्र होइन, निराशा र पलायनको वातावरण पनि सिर्जना गरेको छ ।
युवा पुस्ता केवल चुनाव जित्ने साधन होइन । उनीहरू विचारका वाहक, परिवर्तनका संवाहक र भविष्यका नेतृत्व हुन् । पार्टी निर्माणमा युवाको भूमिका संगठन विस्तार, विचार प्रवद्र्धन, प्रविधिको प्रयोग र जनतासँगको नयाँ संवादमा अत्यन्त महत्त्वपूर्ण हुन्छ । राष्ट्र निर्माणमा पनि नीति नवप्रवर्तन, आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायको मुद्दा युवाबिनाको कल्पना नै गर्न सकिँदैन ।
परिवर्तनको चाहना
आजको नेपाली समाज तीव्र रूपमा बदलिँदै छ । शिक्षाको पहुँच, सूचना प्रविधि, वैदेशिक अनुभव र वैश्विक राजनीतिक चेतनाले मतदाताको सोच परिवर्तन गरेको छ । आजको मतदाता केवल इतिहासको गौरव सुन्न चाहँदैन; उसलाई समाधान, क्षमता, इमानदारी र स्पष्ट दृष्टि चाहिएको छ ।
०४६ वा ०६२÷०६३ का उपलब्धिहरू ऐतिहासिक रूपमा महत्त्वपूर्ण छन्, तर ती उपलब्धि मात्रै देखाएर आजको राजनीति चल्दैन । समय, चेतना र अपेक्षा बदलिसकेको छ । यसै कारण जनतामा पुराना अनुहारप्रति असन्तोष र नयाँ नेतृत्वप्रति आकर्षण बढ्दै गएको छ ।
युवा, ऊर्जावान, जवाफदेही र भविष्य हेर्ने नेतृत्वप्रतिको चाहना कुनै भावनात्मक नारा होइन; यो सामाजिक यथार्थ हो । यसलाई बुझ्न नसक्ने राजनीतिक दलहरू क्रमशः जनविश्वास गुमाउँदै जानेछन् ।
महाधिवेशनः अवसर कि औपचारिकता ?
पार्टीको महाधिवेशन जस्तो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास समेत आन्तरिक गुट व्यवस्थापनको औजारमा सीमित हुँदै जानु नेपाली कांग्रेसका लागि गम्भीर चेतावनी हो । गुटको चाहनाअनुसार आफ्ना नेताहरूलाई टिकट दिलाउने, उम्मेदवार सुनिश्चित गर्ने वा शक्ति सन्तुलन मिलाउने उद्देश्यले महाधिवेशनलाई प्रयोग गरिँदै आएको अनुभूति पार्टीभित्र र बाहिर दुवैतर्फ बढ्दै गएको छ ।
अझ चिन्ताजनक पक्ष के छ भने, महाधिवेशन समयमै नहुने वा विभिन्न बहानामा सार्न सकियो भने त्यसको फाइदा उठाएर आफ्नो अनुकूल टिकट वितरण गर्न सकिन्छ भन्ने मानसिकता समेत पुरानो नेतृत्व तहमा प्रष्ट देखिएको छ । आगामी महाधिवेशन नेतृत्व चयन, विचार बहस, नीति निर्माण र पार्टीको भावी दिशा तय गर्ने सबैभन्दा ठूलो अवसर हुनुपर्ने हो तथा यहाँ नयाँ सोच, वैकल्पिक नेतृत्व र पुस्तान्तरणबारे खुला बहस हुनुपर्ने थियो ।
तर व्यवहारमा नेतृत्व व्यवस्थापन पुरानै पहुँच, गुटीय भागबन्डा र सम्झौताका आधारमा हुने क्रम कायमै रहँदा महाधिवेशनको लोकतान्त्रिक मर्म नै कमजोर बन्दै गएको छ । यसले पार्टीभित्र स्वस्थ बहस, वस्तुगत मूल्यांकन र नयाँ नेतृत्वप्रतिको विश्वास क्रमशः क्षीण हुँदै गएको स्पष्ट संकेत दिन्छ ।
यसै कारण कांग्रेस आज विचार, नीति र दृष्टिकोणमा प्रतिस्पर्धा गर्ने पार्टीभन्दा बढी गुट र समीकरणको संगठनमा रूपान्तरण भइरहेको देखिन्छ । यदि महाधिवेशनलाई केवल औपचारिकता र शक्ति व्यवस्थापनको माध्यममै सीमित राखियो भने, कांग्रेसमा आन्तरिक लोकतन्त्र झनै कमजोर हुँदै जानेछ, जसको असर प्रत्यक्ष रूपमा जनविश्वास र चुनावी भविष्यमा पर्नेछ ।
यो समस्या कांग्रेसमा मात्र सीमित छैन । तर कांग्रेस जस्तो पुरानो, संगठित र लोकतान्त्रिक मूल्यको दाबी गर्ने पार्टीले यसबाट सिक्न नसक्नु गम्भीर विडम्बना हो । नेतृत्व पुस्तान्तरणलाई समयमै व्यवस्थापन नगर्ने, युवालाई निर्णायक भूमिकाबाट टाढा राख्ने र आन्तरिक प्रतिस्पर्धालाई दबाउने प्रवृत्तिले समग्र राजनीतिक प्रणाली नै अविश्वसनीय बन्दै गएको छ ।
अब के गर्ने ?
यदि नेपाली कांग्रेस साँच्चिकै परिवर्तनप्रति इमानदार छ भने सुधारको सुरुवात अब ढिलाइ नगरी टिकट वितरण र नेतृत्व पुस्तान्तरणलाई मुख्य मापदण्ड बनाएर कार्यान्वयं गर्नैपर्छ । उमेर, स्वास्थ्य, विगतको चुनावी प्रदर्शन, स्थानीय स्वीकार्यता, राजनीतिक आचरण, सार्वजनिक छवि र भविष्यदृष्टिको वस्तुगत तथा पारदर्शी मूल्यांकनलाई संस्थागत अभ्यासको रूपमा लागू गर्नुपर्छ ।
केवल गुटीय सन्तुलन मिलाउने वा पहुँचका आधारमा उम्मेदवार तय गर्ने संस्कार अन्त्य नगरी पार्टी पुनर्जागरण सम्भव हुँदैन । युवालाई केवल नाराबाजी गर्ने कार्यकर्ता वा चुनावी भीडका रूपमा होइन, नीति निर्माण र नेतृत्वको वास्तविक विकल्पका रूपमा स्वीकार गर्नु आजको अपरिहार्य आवश्यकता हो । संगठन निर्माण, विचार उत्पादन, प्रविधि उपयोग, जनसम्पर्क र सुशासनको एजेन्डामा युवाको सक्रिय तथा निर्णायक भूमिका सुनिश्चित नगरी न पार्टी सुदृढ हुन्छ, न त राष्ट्र निर्माणको प्रक्रिया नै प्रभावकारी बन्छ ।
लोकतन्त्रको भविष्य पुस्तान्तरणमा निर्भर हुन्छ र त्यो पुस्तान्तरण नेतृत्व तहबाटै सुरु हुनुपर्छ ।
अन्यथा ‘परिवर्तन’ शब्द कांग्रेसका भाषण, दस्ताबेज र घोषणापत्रमै सीमित रहनेछ । यसको राजनीतिक मूल्य भने कांग्रेसले आगामी निर्वाचनहरूमा झनै कठोर रूपमा चुकाउँदै जानुपर्नेछ । इतिहासले पटक–पटक स्पष्ट चेतावनी दिएको छ ।
समय, चेतना र अपेक्षासँग आफूलाई नबदल्ने राजनीतिक शक्ति अन्ततः जनविश्वास गुमाउँनेछ । अब प्रश्न विकल्पको होइन, साहसको होः नेपाली कांग्रेस साँच्चिकै परिवर्तन गर्न तयार छ, कि परिवर्तनको भाषणमै सन्तुष्ट रहने बाटो रोज्दैछ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण