सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसलाई सुझबुझ देखाउन प्रदीप ज्ञवालीको आग्रह

शनिबार, १९ पुस २०८२, ०८ : ३९
शनिबार, १९ पुस २०८२

सारांश

  • एमाले नेता प्रदीप ज्ञवालीले दलहरूको आन्तरिक अवस्थाले लोकतन्त्रलाई असर गर्ने बताए।
  • उनले विगतका विभाजनले मुलुकमा पारेको प्रभावबारे स्मरण गराए, जस्तै एमाले विभाजनले हिंसा बढायो।
  • ज्ञवालीले कांग्रेसलाई आन्तरिक समस्या समाधान गर्न र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह गरे।

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पार्ने बताएका छन्। दलहरूभित्र देखिने कमजोरी वा विभाजनले अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उनले विगतका केही राजनीतिक घटनाक्रमको स्मरण गराएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले वि.सं. २०५४ मा नेकपा (एमाले) मा भएको विभाजनले मुलुकमा हिंसात्मक द्वन्द्व राष्ट्रव्यापी रूपमा विस्तार हुन सघाउ पुऱ्याएको उल्लेख गरेका छन्। त्यस्तै, २०५९ सालमा नेपाली कांग्रेसमा भएको विभाजनले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको यथार्थलाई बिर्सन नहुने उनले बताएका छन्। यी उदाहरणहरू प्रस्तुत गर्दै उनले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक अवस्था मजबुत हुनु अनिवार्य पूर्वसर्त भएको तर्क गरेका छन्।

अहिलेको राजनीतिक सन्दर्भमा संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौतीहरू उपस्थित भएको औँल्याउँदै ज्ञवालीले नेपाली कांग्रेसको आन्तरिक विवादप्रति चासो देखाएका छन्। उनले कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक अभिभारालाई बुझेर आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन्। लोकतन्त्रको रक्षाका लागि दलहरू फुट्नुभन्दा एकजुट र स्वस्थ हुनुपर्नेमा उनको जोड छ।

प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्ध कमजोर हुँदा त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा पर्ने भन्दै ज्ञवालीले दलहरूलाई जिम्मेवार बन्न सुझाव दिएका छन्। विशेष गरी पुरानो र ठुलो दलको हैसियतले कांग्रेसले देखाउने सुझबुझले मुलुकको लोकतान्त्रिक भविष्यलाई आकार दिने उनको विश्लेषण छ।

उनले लेखेका छन् :

प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दो रहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ- २०५४ मा भएको नेकपा ( एमाले) विभाजनले कसरी हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली कांग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा ।

त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वसर्त हो ।

आशा गरौँ- लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गम्भीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली कांग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप