बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौं : सिटौला

सोमबार, २१ पुस २०८२, १३ : ५२
सोमबार, २१ पुस २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताएका हुन् ।

उनले चुनावी तालमेललाई गठबन्धन भन्न नहुने बताए । प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेस एक्लै आफ्ना एजेण्डाहरु लिएर जनतामाझ जाने बताए । उनले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताए ।

उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन । त्यसैले राष्ट्रियसभाको निर्वाचनमा चुनावी तालमेल हुन्छ । यसलाई गठबन्धन मानिँदैन । तर प्रतिनिधिसभाको निर्वाचनमा जाँदा नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा जाने महासमितिको निर्णय छ । आमनिर्वाचन भनेको पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम हो । त्यसैले कांग्रेस आफ्नो विचार लिएर जनताको माझमा जान्छ ।’

नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताए । उनले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय सबै नेताहरुले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताए ।

आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने बताए । निर्वाचनपछि १५ औँ  महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । अहिले आन्तरिम प्रतिष्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिष्पर्धाको कलहबारे आफूहरु सतर्क रहेको पनि बताए ।

उनले भने, ‘विशेष महाधिवेशन हुँदैन, विशेष महाधिवेशनको औचित्य सकिसकेको छ भनेर केन्द्रिय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । पार्टीको निर्णय सबैले मान्नुपर्छ । देशभरमा रहेका तमाम कार्यकर्ता साथीहरु निर्वाचनको तयारीमा जुट्नुपर्छ । एकतावद्ध ढंगले निर्वाचनमा जानुपर्छ ।’

उनले थप भने, ‘त्यो हाम्रो आजको प्रमुख र प्राथमिक विषय हो । निर्वाचनपछि १५ औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेका छौँ । त्यसपछि हामी महाधिवेशन सम्बन्धी विषयमा जुट्नुपर्छ । निर्वाचन भनेको वाह्य प्रतिष्पर्धा हो । महाधिवेशन भनेको आन्तरिक प्रतिष्पर्धा हो । यतिबेला आन्तरिक प्रतिष्पर्धा गर्ने बेला होइन । आन्तरिक प्रतिष्पर्धाको रुपमा जुन कलह हुन खोजेको छ, महाधिवेशनका नाममा त्यसमा हामी सतर्क छौँ । सजग छौँ ।’

कांग्रेस एकतावद्ध भएर निर्वाचनमा जानुपर्ने पनि बताए । —न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप