बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमआईटी कलेजको आयोजनामा माघ ६ गते कृष्ण पाण्डेयले गिनिज वर्ल्ड रेकर्डको प्रयास गर्दै

मङ्गलबार, २२ पुस २०८२, १० : ५०
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • काठमाडौँको MIT कलेजले माघ ६ गते गिनिज वर्ल्ड रेकर्डका लागि कार्यक्रम गर्दैछ।
  • मेमोरी एथ्लेट कृष्ण पाण्डेयले ५० शब्दलाई उल्टो हिज्जे गर्ने कीर्तिमान बनाउने प्रयास गर्नेछन्।
  • कार्यक्रममा KMSS को सहकार्य र Best Western Plus हस्पिटालिटी पार्टनरका रूपमा रहेका छन्।

काठमाडौँ । काठमाडौँको बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजको आयोजनामा आगामी माघ ६ गते नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गर्नका लागि एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। प्रख्यात मेमोरी एथ्लेट तथा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी श्री कृष्ण पाण्डेयले “Fastest Time to Spell 50 Words Backwards” (५० वटा शब्दलाई सबैभन्दा छिटो उल्टोबाट हिज्जे गर्ने) शीर्षकमा विश्व कीर्तिमान कायम गर्न प्रयास गर्ने भएका हुन्।

काठमाडौँ मोडेल सेकेन्डरी स्कूल बागबजारमा सञ्चालन हुने यस कार्यक्रममा KMSS को सहकार्य रहनेछ भने 'Best Western Plus' हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ। 

यो रेकर्ड प्रयास गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम र प्रमाणीकरण प्रक्रियाअनुसार सम्पन्न गरिनेछ। एमआईटीका सह–संस्थापक आरके दाहालका अनुसार कार्यक्रमलाई पूर्ण रूपमा नियन्त्रित र ध्यानभंगरहित वातावरणमा सञ्चालन गर्न सबै तयारी पूरा गरिएको छ। पारदर्शिताका लागि स्वतन्त्र साक्षी, आधिकारिक समयमापक र व्यावसायिक फोटोग्राफीरभिडियोग्राफीको व्यवस्था गरिएको छ। संकलित सम्पूर्ण प्रमाण सामग्रीहरू प्रमाणीकरणका लागि गिनिज वर्ल्ड रेकर्ड्सको मुख्यालयमा पठाइनेछ।

आयोजक संस्था एमआईटीले यस पहललाई नेपाली प्रतिभाको विश्वव्यापी पहिचान र उत्कृष्टताप्रतिको प्रतिबद्धताका रूपमा लिएको छ। अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध MIT कलेजले कक्षाकोठाको सिकाइभन्दा बाहिर गएर विद्यार्थीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।

आफ्नो रेकर्ड प्रयासबारे बोल्दै कृष्ण पाण्डेयले भने, “न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड हासिल गरेपछि आफ्नै देश नेपालमा पुनः यो प्रयास गर्न पाउनु मेरा लागि गौरवको विषय हो। यो प्रयासले नेपाली युवाहरूको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै उनीहरूलाई प्रेरित गर्नेछ भन्ने मेरो विश्वास छ।”

कार्यक्रमको सफल र पारदर्शी कार्यान्वयनका लागि आयोजक, सहकार्य गर्ने संस्था र सरोकारवालाहरूबीच औपचारिक सम्झौता भइसकेको छ। माघ ६ गते हुने मुख्य रेकर्ड प्रयासको दिन सीमित औपचारिक कार्यक्रम र मिडिया अन्तर्क्रियासमेत आयोजना गरिनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप