बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महेश बस्नेतको बालेन र कुलमानलक्षित टिप्पणी : ‘लुसिफर’ र ‘नक्कली हिरो’

मङ्गलबार, २२ पुस २०८२, १४ : २१
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • एमाले सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई 'लुसिफर' र कुलमान घिसिङलाई 'नक्कली हिरो' को संज्ञा दिए।
  • बस्नेतले बालेन शाहमाथि अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर लोकतन्त्र हरण गर्न खोजेको र कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाए।
  • एमालेले आगामी दिनमा बहुमतसहित उदाउने दाबी गर्दै कांग्रेससँगको सहकार्य प्रणाली जोगाउन गरिएको बताए।

काठमाडौं । नेकपा (एमाले) सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङमाथि कडा टिप्पणी गरेका छन्। एमाले सचिवालय बैठकपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बालेनलाई ‘लुसिफर’ र कुलमानलाई ‘नक्कली हिरो’को संज्ञा दिएका हुन् । 

उनले बालेन शाह अन्तर्राष्ट्रिय शक्तिको आडमा आन्दोलन ‘हाइज्याक’ गर्ने, संसद विघटन गराउने र लोकतन्त्र हरण गरी सेनाको हातमा सत्ता सुम्पन खोज्ने योजनाकार भएको आरोप लगाए ।  बालेनका सामाजिक सञ्जाल स्टाटसहरूले संसद विघटन र लोकतन्त्र समाप्त गर्ने वकालत गरेको उनको आरोप थियो । 

कुलमान घिसिङलाई पनि उनले भ्रष्टाचार र अनियमिततासँग जोड्दै उर्जा मन्त्रालयका डाटा बेचेर अर्बौं कमिसन खाने, लोडसेडिङ गराउने खेलमा संलग्न भएको आरोप लगाए। यी पात्रहरूले देशलाई अस्थिरतातर्फ लैजान खोजिरहेको बस्नेतको जिकिर छ।

एमालेले यस्ता भ्रम र ‘नक्कली हिरो’हरूको आवरण चिरेर जनतामाझ जाने र आगामी दिनमा बहुमतसहित उदाउने दाबी बस्नेतले गरे।

बस्नेतले एमाले र कांग्रेसबिच प्रणाली जोगाउन एकखालको उच्चस्तरीय समझदारी बनेको दाबी समेत गरे। मुलुकको राष्ट्रियता र लोकतन्त्र संकटमा परेको दाबी गर्दै उनले एनजीओ, आईएनजीओ र डोनर एजेन्सीहरूको मिलेमतोमा नेपाललाई ‘कोल्याप्स’ गर्ने प्रयास भइरहेको आरोप लगाए। यस्तो अवस्थामा राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको उनले बताए।

बस्नेतले एमाले एक्लै पनि बहुमत ल्याउन सक्षम रहेको दाबी गर्दै राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग गरिएको सहकार्य प्रणाली जोगाउने उद्देश्यका लागि भएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप