शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानमा आर्थिक सङ्कटविरुद्धको आन्दोलन चर्कियो, ३५ को मृत्यु

मङ्गलबार, २२ पुस २०८२, १७ : २६
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • इरानमा आर्थिक कठिनाइको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दा ३५ जनाको मृत्यु भएको छ।
  • १२०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने देशका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको छ।
  • सुरक्षाकर्मीले घाइते प्रदर्शनकारीमाथि गोली चलाएको र अस्पतालमा छापा मारेको घटनालाई लिएर अमेरिकाले आलोचना गरेको छ।

तेहरान । इरानमा आर्थिक कठिनाइको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मानव अधिकार कार्यकर्ताहरूका अनुसार एक हप्तादेखि जारी यो आन्दोलनमा एक हजार २०० भन्दा बढी प्रदर्शनकारी हिरासतमा परेका छन्। ज्यान गुमाउनेमा २९ प्रदर्शनकारी, चार बालबालिका र दुई सुरक्षाकर्मी छन्।

देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिसकेको छ। प्रदर्शन दबाउन सुरक्षा बलले आक्रामक नीति अख्तियार गरेको छ। पश्चिम प्रान्त इलामको एक अस्पतालमा सुरक्षाकर्मीले छापा मारेर घाइते प्रदर्शनकारीहरूलाई खोजतलास गरेको भिडियो सार्वजनिक भएपछि इरानी धर्मतन्त्रले उक्त घटना स्वीकार गरेको छ। दङ्गा नियन्त्रण पोसाकमा रहेका सुरक्षाकर्मी अस्पतालभित्रै प्रवेश गरेको दृश्य बाहिरिएपछि अमेरिकाले यसलाई 'मानवता विरुद्धको अपराध' भन्दै कडा आलोचना गरेको छ।

इरानको अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपमा परी करिब २५० प्रहरी र ४५ रिभोलुसनरी गार्ड घाइते भएका छन्। तर, सरकारले मृतक र घाइतेको आधिकारिक एकीकृत विवरण भने लुकाएको छ। राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र अस्पतालमा छापा मारेको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

पछिल्लो समय इरानमा प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनका कारण जनता सडकमा उत्रिएका हुन्। सन् २०२२ को महसा अमिनीको मृत्युपछिको यो सबैभन्दा ठूलो विद्रोह मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्, जसले इरानी अधिकारीहरूलाई थप आक्रोशित बनाएको छ। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रण गर्न आदेश दिए पनि प्रदर्शन थामिने संकेत देखिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप