बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इस्राइल मन्सुरी : जसलाई रोक्न खोजे उनैबाट मन्त्री नियुक्त भए

मङ्गलबार, २२ पुस २०८२, २१ : ५९
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • इसराइल मन्सुरी सुनसरी-४(२) बाट निर्वाचित भई उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए।
  • सभामुखको अनुपस्थितिमा प्रदेशसभा सञ्चालन र मुख्यमन्त्रीलाई विश्वासको मत दिएको विषयमा मन्सुरी विवादास्पद बने।
  • मुख्यमन्त्रीले विश्वासको मत लिने बेला मन्सुरीले सभाध्यक्षको भूमिका निर्वाह गर्दै मतदानमा भाग लिएपछि अदालतले उनको मतलाई अस्वीकार गर्‍यो।

विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका इसराइल मन्सुरी २०७९ सालको निर्वाचनमा सुनसरी–४(२) बाट विजयी भएका थिए । नेपाली कांग्रेसका सांसद मन्सुरीले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेका थिए । 

प्रदेशसभामा पहिलो पटक निर्वाचित भएपछि उनका केही कदम विवादास्पद बने । उनले सभामुखको अनुपस्थितमा प्रदेशसभा सञ्चालन गर्ने र तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने काम एउटै बैठकमा गरेका थिए ।  

२०८० असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ (२) अनुसार नै नियुक्त भएका उनलाई सभामुखले समर्थन गर्न नपाउने भन्दै सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गर्‍यो । 

थापालाई विश्वासको मत नपुग्ने भएपछि तत्कालीन गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले माओवादीबाट सभामुख बनेका गौतमलाई राजीनामा दिन लगायो र उनको समर्थनमा पुनः संविधानको सोही धारा र उपधारा अनुसार साउन १७ गते थापा मुख्यमन्त्रीमा नियुक्त भए, तर थापालाई विश्वासको मत लिने बेला फेरि अर्को संकट आइलाग्यो । थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म थियो । तर उनले त्यसअगाडि नै भदौ ४ गते विश्वासको मत लिने तयारी गरे । 

सभामुखले पनि राजीनामा दिएको अवस्थामा प्रदेशसभा चलाउनुपर्ने प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौँ लागिन् । उनले प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मा दिइन् । 

मन्सुरीले सभाध्यक्ष गरेपछि थापालाई बहुमत (४७ सांसद) पुर्‍याउन १ मत कम हुन्थ्यो । त्यही कमजोर प्राविधिक पक्ष हेरेर एमालेले आफ्नो तर्फको उपसभामुखलाई बिरामीको बाहनामा काठमाडौँ पुर्‍याएको थियो, तर तत्कालीन सत्तारुढ दलले प्रदेशसभाका अध्यक्षता पनि मन्सुरीले गर्ने र मतदान पनि गर्ने निर्णय गरे । त्यसपछि मन्सुरीले पनि मतदानमा सहभागी भए र बहुमत सांसद पुर्‍याए । अदालतले सभाध्यक्षको मतलाई अस्वीकार गर्‍यो र मुख्यमन्त्री थापाको पद गयो । 

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्थ्यो । त्यसका लागि कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन्, तर कांग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि त्यसबेला गठबन्धन अप्ठ्यारोमा परेको थियो । 

सोही समयमा मन्सुरीले अर्को विवादास्पद काम गरेका थिए । प्रदेशसभाको अध्यक्ष मण्डलको सदस्य रहेका उनले आफूलाई सभामुख भन्दै लेटरप्याड नै सार्वजनिक गरेपछि आलोचना भएको थियो । उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरूको विस्तृत विवरण पत्रमार्फत सार्वजनिक गरेका थिए । उक्त पत्रमा 'माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा' नेपाल लेखिएको थियो । सबैले आलोचना गरेपछि पछि उनले उक्त पत्र हटाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप