मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

विशेष महाधिवेशनमा गण्डकी कांग्रेसको कित्ता कता ?

बिहीबार, २४ पुस २०८२, १२ : १२
बिहीबार, २४ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्रीद्वयले भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन्, जसमा कास्कीका सभापतिले सहभागी हुन अपिल गरे।
  • विशेष महाधिवेशनबारे कांग्रेस केन्द्रीय कार्यालयले सहभागी नहुन निर्देशन दिएको छ भने गण्डकी प्रदेशले आधिकारिक निर्णय गरेको छैन।
  • गोरखाका सभापतिले विशेष महाधिवेशनको उद्देश्य नेतृत्व परिवर्तन नभई पार्टीको नीति स्पष्ट पार्नु रहेको बताए।

पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्दैछन् । अहिले कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित छ ।

महामन्त्रीद्वयकै आह्वानलाई स्विकारेर कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले महाधिवेशनमा सहभागी हुन सार्वजनिक अपिल गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा विशेष महाधिवेशन जरुरी रहेको र त्यसमा कास्की सहभागी हुनुपर्ने बताए ।

१५औँ नियमित महाधिवेशन नभएका कारण विधान नै संकटमा परेको जिल्ला सभापति बरालको तर्क छ । ‘नेपाली कांग्रेस एउटा राजनीतिक सङ्गठनमात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशीला हो,’ उनले भने, ‘पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको यो ऐतिहासिक विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई यसलाई सफल र सार्थक बनाउन म कास्कीका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’

अरु जिल्लाबाट विशेष महाधिवेशन आह्वानसम्बन्धी सूचनालाई औपचारिक रूपमा स्वीकार गरिएको छैन । त्यसो त, कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन औपचारिक निर्देशन नै जारी गरेको छ ।

गण्डकी प्रदेशले पनि औपचारिक रूपमा विशेष महाधिवेशनबारे कुनै निर्णय वा अपिल नगर्ने जनाएको छ । प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने यसबारे प्रदेशले आधिकारिक निर्णय नगर्ने बताउँछन् । ‘विशेष महाधिवेशन आह्वानका सन्दर्भमा प्रदेशले कुनै आधिकारिक निर्णय गर्दैन । यसमा कार्यसमितिको निर्णय हुने कुरा पनि भएन,’ उनले भने, ‘साथीहरू आफ्नो इच्छा अनुसार अगाडि बढ्न सक्नुहुन्छ । मैले कसैलाई जानुस् पनि भनेको छैन र नजानुस् पनि भनेको छैन ।’

प्रदेश कार्यसमिति राष्ट्रिय सभा निर्वाचनको दौडधुपमा रहेको महामन्त्री लामिछानेको भनाइ छ । उनी आफू पनि विशेष महाधिवेशनमा सहभागी नहुने बताउँछन् । ‘मेरो यसमा खासै केही टिप्पणी छैन । अहिले प्रदेशको महामन्त्रीको हैसियतले म राष्ट्रिय सभाको निर्वाचन परिचालनमा व्यस्त छु,’ अघि भने, ‘अहिले हाम्रो मुख्य जिम्मेवारी भनेको राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्ने हो, म त्यतातिर केन्द्रित छु ।’

विशेष महाधिवेशनको पक्षमा गण्डकीबाट २७१ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नेता डिल्लीराम सुवेदी गण्डकीका ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने दाबी गर्छन् । ‘धेरै जना सम्पर्कमा आइरहनुभएको छ । कतिपय जिल्लाले औपचारिक अपिल नै गरेको छ,’ उनले भने, ‘गण्डकीका ६० प्रतिशतभन्दा बढी सहभागी हुने अनुमान छ ।’

गोरखाका सभापति तथा विशेष महाधिवेशन पक्षमा खुलेका नन्दप्रसाद न्यौपानेले महाधिवेशनले नेतृत्व परिवर्तनभन्दा नीतिमा छलफल गर्ने बताए । ‘हाम्रो उद्देश्य तत्काल नेतृत्व परिवर्तन वा शेरबहादुर देउवालाई हटाउनु होइन, पार्टीको नीति स्पष्ट पार्नु हो । हामी आगामी चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने, एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने र संवैधानिक निकायमा राजनीतिक भागबन्डा अन्त्य गर्ने संकल्प प्रस्ताव पास गराउन चाहन्छौँ,’ उनले भने, ‘महामन्त्रीहरूले पनि नेतृत्व परिवर्तन होइन, नीतिमा छलफल हुन्छ भनेर प्रस्ट पारिसक्नुभएको छ ।’

प्रदेश सभापति शुक्रराज शर्मा पार्टीको गुमेको विरासत फिर्ता गर्न कार्यसम्पादन समितिबाटै निर्णय हुँदा राम्रो हुने बताउँछन् । ‘पार्टीले चाँडोभन्दा चाँडो निर्णय गरेर संगठन र प्रजातन्त्रलाई बचाउनुपर्छ भन्ने पक्षमा हामी छौँ । पार्टीको नियमित महाधिवेशन लगायतका कामहरू ढिलो भइसकेको अवस्थामा अब विशेष महाधिवेशनमार्फत भए पनि निकास खोज्नुपर्छ,’ उनले भने, ‘अहिले जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान निराशालाई चिर्ने गरी र कांग्रेसप्रति आशा जगाउने गरी ठोस निर्णय गर्नुपर्छ ।’

यदि कार्यसम्पादनले त्यो आँट गर्न सकेन भने विशेष महाधिवेशनबाटै निर्णय गरेर भए पनि पार्टीलाई बचाउनुपर्ने प्रदेश सभापति शर्माले बताए । यद्यपि विशेष महाधिवेशनबाट पनि समस्या समाधानका लागि कुनै निर्णय हुनेमा उनले शंका गरे ।

गण्डकीले सबैभन्दा पहिला भेला राखेर मंसिरभित्रै नियमित महाधिवेशन मागेको थियो । १५औँ महाधिवेशन हुन नसके विशेष महाधिवेशन जरुरी हुने प्रदेशले औपचारिक निर्णय नै यसअघि गरिसकेको छ । जिल्ला तहमा पनि कास्की, गोरखा, पर्वत, नवलपुर लगायत जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा छन् । अरु जिल्लाले भने सार्वजनिक रूपमा आफूलाई कित्ता क्लियर गराएका छैनन् । बागलुङका सभापति जीत शेरचन आम निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप