अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘रमदा’ पूर्वी नेपालमा
सारांश
- इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल 'रमदा बाइ विन्डम' सञ्चालनमा आउने भएको छ।
- होटलमा ८१ वटा कोठा, टेरेस बार, रेस्टुरेन्ट लगायतका सुविधा छन्, जसले ८० भन्दा बढी स्थानीयलाई रोजगारी दिनेछ।
- होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्न र पर्यटकको आगमन बढाउन भूमिका खेल्नेछ।
काठमाडौँ । नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहको पूर्वी नेपालको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमदा बाइ विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ ।
काठमाडौँमा एक वर्ष अगाडि ‘मर्क्योर काठमाडौँ’ सञ्चालनमा ल्याएका देशबन्धु बस्नेत (अजित)ले अमेरिकी चेन होटल ब्रान्ड होटल विन्डम होटल्स एण्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमदा बाइ विन्डम’लाई पहिलोपटक पूर्वी नेपालमा भित्र्याएका हुन् ।
अबको एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउन लागेको उक्त होटलमा ८१ वटा कोठा छन्, जसमा डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ २, जुनियर स्वीट ६ र स्वीट रुम २ वटा रहेका छन् । होटल आधुनिक सुविधायुक्त हुनेछ । पूर्वी नेपालमै यस स्तरको सेवा प्रदान गर्ने रमदा पहिलो होटल हुनेछ । यस होटलमा टेरेस बार, आल डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुई वटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पुल बार, स्वीमिङ पुल, जिम, स्टीम र साउनासमेत उपलब्ध हुनेछ ।
व्यावसायिक बैठकदेखि बिबाह तथा सामाजिक कार्यका लागि होटल उपयुक्त हुनेछ । होटलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर समेत प्रदान गर्दै छ । हाल नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यतायात समितिका सभापतिसमेत रहेका बस्नेतले नेपालको पर्यटकीय सम्भावनालाई थप विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यका साथ पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्रान्ड भित्र्याइएको बताएका छन् ।
सुनसरीकै सबैभन्दा ठुलो सहर इटहरी पूर्वी नेपालको व्यापारिक हब बनिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट छोटो दूरी र छिमेकी देश भारतसँगको नजिकको भौगोलिक सम्बन्धका कारण इटहरी व्यापारिक र सामाजिक गतिविधिका लागि महत्त्वपूर्ण गन्तव्य बनिरहेको छ । भारतका बिहार र पश्चिम बंगाल राज्यसँगको निकताले होटललाई भारतीय र नेपाली अतिथिहरूको विवाह समारोह, सामूहिक घुमफिर तथा सम्मेलनका लागि आकर्षक गन्तव्य बनाउने विश्वास लिइएको छ ।
यस होटल भारतसहित भुटान, बंगलादेशलगायत देशबाट नेपाल आउने पर्यटक र व्यवसायीहरूको प्रमुख गन्तव्य बन्ने विश्वास गरिएको छ । बस्नेतका अनुसार यस होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्नका लागि महत्त्वपूर्ण भूमीका निर्वाह गर्नेछ । पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय चेन होटल ब्रान्डको आगमनले थप गतिशील बनाउने अपेक्षा लिइएको उनको भनाइ छ ।
‘रमदा पूर्वी नेपालमा आउँदा आन्तरिकसहित बाह्य पर्यटकसमेत बढ्नेछन् । जोगबनी र किमान्थाङ नाकाको ट्रान्जिटका रूपमा इटहरीलाई विकास गर्न हामीले यो होटल प्रोजेक्ट अघि बढाएका हौँ,’ बस्नेत भन्छन्, ‘यसबाट भेडेटार, श्रीअन्तु, कोशी टप्पु र इलाममा पर्यटकको आगमन बढ्ने विश्वास लिएका छौँ ।’
बस्नेत, करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनकै नेतृत्वमा फाइभ स्टार होटल ब्रान्ड ‘मर्क्योर बाइ एकोर’ काठमाडौँको सुकेधारामा २०२५ जनवरी १५ देखि सञ्चालनमा आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण