बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इटहरीका विद्यालयमा विद्यार्थीमाथि शारीरिक–मानसिक यातना नगर्न उपमहानगरको निर्देशन

शुक्रबार, २५ पुस २०८२, १४ : ४१
शुक्रबार, २५ पुस २०८२

सारांश

  • इटहरी उपमहानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिन रोक लगाएको छ।
  • अनुशासनको नाममा विद्यार्थीलाई यातना दिने गुनासो आएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो।
  • नगरपालिकाले बालअधिकार ऐन र शिक्षा ऐनमा भएको प्रावधानलाई स्मरण गराउँदै कारबाहीको चेतावनी दिएको छ।

सुनसरी । इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन कडा निर्देशन दिएको छ।

अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने, मानसिक दबाब सिर्जना गर्ने जस्ता क्रियाकलापबाट बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै उपमहानगरपालिकामा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो।

उपमहानगरपालिकाले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको बालबालिकाको मौलिक हक, बालअधिकार ऐन २०७५ तथा शिक्षा ऐन र नियमावलीमा स्पष्ट रूपमा शारीरिक वा मानसिक यातना निषेध गरिएको स्मरण गराएको छ। पत्रमा घर, विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकामाथि शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ।

विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयन गर्न तथा शिक्षक–कर्मचारीहरूलाई बालमैत्री र मर्यादित शिक्षण सिकाइमा समर्पित हुन निर्देशन दिइएको छ।

विद्यार्थीमाथि कुनै पनि प्रकारको शारीरिक तथा मानसिक हिंसा नहोस् भन्ने उद्देश्यका साथ सबै विद्यालयहरूले आचारसंहिता निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ।

पत्रमा उल्लिखित निर्देशनको पालना नगरेमा प्रचलित कानुन अनुसार कारबाही हुन सक्ने संकेत समेत गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप