शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

ट्रम्पको जङ्गलराज

शनिबार, २६ पुस २०८२, १५ : ००
शनिबार, २६ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण अमेरिका विश्वको लागि खतरा बन्दै गएको छ।
  • ट्रम्पले अन्तर्राष्ट्रिय नियमहरूलाई बेवास्ता गर्दै सैन्य दबाब र आर्थिक जबर्जस्ती प्रयोग गरिरहेका छन्।
  • विश्लेषकहरूका अनुसार, सन् २०२६ विश्वका लागि महत्वपूर्ण वर्ष हुनेछ, किनकि अमेरिकाले आफ्नो शक्ति गुमाउँदै गएको छ।

यो वर्ष चरमोत्कर्षको वर्ष हुने निश्चित छ । वैश्विक अस्थिरताको सबैभन्दा ठुलो स्रोत अब चीन, रुस, इरान वा संसारभर अहिले चलिरहेका ६० भन्दा धेरै द्वन्द्व हुनेवाला छैनन् । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा धेरै द्वन्द्व चलिरहेका क्षेत्रहरू हुने छैनन् । बरु धर्तीको अस्थिरताको सबैभन्दा ठुलो कारक अमेरिका हुने निश्चित छ ।

‘युरेसिया ग्रुप’ले प्रत्येक वर्षजस्तै यसपटक पनि नयाँ सालभर विश्वका विविध जोखिमको सम्भावित अनुमान निकालेको छ । ‘टप रिस्कस–२०२६’ नाम दिइएको प्रतिवेदनको निष्कर्षमा पनि प्रमुख खतराका रूपमा अमेरिकालाई नै देखाइएको छ । संसारको सबैभन्दा बलियो देश तथा दोस्रो विश्वयुद्धपछिको वैश्विक व्यवस्थाको परिकल्पनाकारसमेत रहेको अमेरिका अहिले आफैँ उक्त व्यवस्था ध्वस्त पार्न उद्यत छ । त्यसको अगुवाइ त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै गरिरहेका छन् । उनी आफ्ना पूर्ववर्ती राष्ट्रपतिभन्दा पृथक रूपमा अन्तर्राष्ट्रिय व्यवस्था फेर्नका लागि प्रतिबद्धमात्रै छैनन्, सक्षम पनि छन् । त्यसैले अमेरिका विश्वको खतरा बन्न थालेको छ ।

गत हप्ताको अन्त्यमा उनले त्यसको स्वरूप कस्तो हुन्छ भन्ने झलकसमेत दिइसकेका छन् । महिनौँदेखिको दबाब, प्रतिबन्ध, व्यापक सामुद्रिक फौजको तैनाथी तथा तेलमा लगाइएको पूर्ण नाकाबन्दी पश्चात् अमेरिकी विशेष सुरक्षा बलले भेनेजुएलाका शक्तिशाली राष्ट्रपति निकोलस मादुरोलाई काराकसमा पक्राउ गर्‍यो ।

पक्राउलगत्तै उनलाई न्युयोर्क सहरको अदालतमा फौजदारी अभियोगसहित प्रस्तुत गरियो । राष्ट्रपति ट्रम्पका अनुसार ‘अमेरिकी पक्षलाई कुनै क्षतिबेगर नै तानाशाहलाई पक्रेर न्यायको कठघरामा ल्याइएको’ यो घटना अहिलेसम्मकै स्पष्ट फौजी जित थियो ।

ट्रम्पले यसअघि नै आफ्नो तौरतरिका तथा पश्चिमा गोलार्द्धबारेको दृष्टिकोणलाई ‘डोनरो डक्ट्रिन’ नाम दिइसकेका छन् । उनले यस्तो विचार १९औँ शताब्दीमा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मुनरोले पश्चिमा गोलार्द्धमा अमेरिकी सर्वोच्चतालाई लिएर अघि सारेको अवधारणाको ट्रम्प संस्करणको रूपमा लिएका छन्, तर मुनरो र ट्रम्पको काम भने फरक छ ।

मुनरोले अमेरिकाको छिमेकबाट युरोपेली शक्तिहरूलाई हट्नका लागि सावधानमात्रै गराएका थिए । तर ट्रम्प भने सैन्य दबाब, आर्थिक जबर्जस्ती तथा व्यक्तिगत सनकको आधारमा पश्चिमी गोलार्द्धलाई नै आफ्नो इच्छा मुताबिक चलाउन खोज्दैछन् । उनले आफ्नो गतिविधि साँच्चिकै सुरु गरिसकेका छन् ।

ट्रम्पको विदेश नीति परम्परागत स्वरूपको ‘साझेदार भर्सेज प्रतिद्वन्द्वी’, ‘लोकतन्त्र भर्सेज निरङ्कुशता’, वा ‘रणनीतिक प्रतिस्पर्धा भर्सेज सहकार्य’को ढाँचामा चलेको छैन ।

यस्तो अलगाववाद ‘अमेरिका प्रथम’ नीतिमात्रै पक्कै होइन । यसका साथै अमेरिकाले इजरायल तथा विभिन्न खाडी मुलुकसँग पनि घनिष्ठता बढाउँदै गएको छ । गत वर्ष इरानमाथि गरेको हमला तथा युरोपको राजनीतिमा हस्तक्षेपको चाहनाले पनि उनको धित अझै नमरेकै देखाउँछ । न त उनका गतिविधिहरू प्रभाव क्षेत्र (स्फेयर–अफ–इन्फ्लुएन्स) बारेको ढाँचामै मेल खान्छन् ।

प्रभाव क्षेत्रको अवधारणा अनुसार चलेको भए त अमेरिकाले आफ्ना प्रतिद्वन्द्वी शक्तिहरूसँग विश्वको विभाजन गरिरहेको सङ्केत आउनुपर्ने हो । सबैले आफ्नो प्रभाव क्षेत्रमा रहने समझदारी हुनुपर्ने हो । तर ट्रम्पले त त्यसो गरेको पनि देखिँदैन । उनको प्रशासनले ताइवानलाई अहिलेसम्मकै सबैभन्दा ठुलो हतियार प्याकेज पठाएको छ । साथै आफ्नो हिन्द–प्रशान्त क्षेत्रको उपस्थिति र परिकल्पनामा चीनलाई एसिया सुम्पिने छाँटकाँट पनि देखाएको छैन ।

ट्रम्पको विदेश नीति परम्परागत स्वरूपको ‘साझेदार भर्सेज प्रतिद्वन्द्वी’, ‘लोकतन्त्र भर्सेज निरङ्कुशता’, वा ‘रणनीतिक प्रतिस्पर्धा भर्सेज सहकार्य’को ढाँचामा चलेको छैन । उनका गतिविधिका शैली बुझ्न सजिलै छ: यदि तपाईं अमेरिकाले गरेको प्रहारलाई फर्काउने साहस राख्नुहुन्न भने तपाईं उसको निशानामा पर्नुहुन्छ । यदि उपयुक्त जवाफ दिन सक्नुहुन्छ भने उनले तपाईंसँग सम्झौता गर्न पनि सक्छन् ।

भेनेजुएलाको हकमा ट्रम्पले मादुरोलाई सत्ताच्युत गर्न चाहे । त्यस्तो अवस्थामा मादुरोले ट्रम्पलाई रोक्न केही गर्न सक्ने अवस्था थिएन । मादुरोको पक्षमा कुनै सहयोगी मुलुक पनि छैनन् । बदला लिन सक्षम सैन्य क्षमता पनि छैन । साथै ट्रम्पलाई फकाउन सकिने कुनै विषय पनि मादुरोसँग उपलब्ध थिएनन् ।

त्यसैले उनले हट्नुपर्ने अवस्था आइलाग्यो । पक्कै पनि भेनेजुएलाको समग्र शासन प्रणाली अब सुरक्षित नरहन सक्छ । अब स्थिर लोकतान्त्रिक शासनमा सङ्क्रमण पनि जटिल हुनसक्छ । धेरै हदसम्म भेनेजुएलाको आन्तरिक राजनीति नै भद्रगोल हुनसक्छ ।

यो कथाको अर्को पाटोमा चीन छ । गत वर्ष ट्रम्पले चीनविरुद्ध भन्सार महसुल वृद्धि गरेर एक प्रकारको युद्ध नै घोषणा गरे । तर चीनले उल्टै ‘रेयर अर्थ’ तथा ‘क्रिटिकल मिनिरल’हरूको निर्यातमा कडाइ गरेर बदला लियो ।

खासमा ट्रम्प अहिलेकै शासन व्यवस्था निरन्तर गर्न राजी नै देखिन्छन् । त्यसका लागि उनले भनेको मान्नुपर्ने हुन्छ । उनलाई त्यहाँका विपक्षीहरूको नेतृत्वको सरकारभन्दा यही सरकार नै ठिक लागेको छ । उनले ‘नत्र !’ भन्दै दिएको धम्की काम गर्दै गरेको भान हुन्छ । ट्रम्पले भर्खरै भेनेजुएलाका ‘नयाँ’ अधिकारीहरू तीनदेखि पाँच करोड ब्यारेल तेल अमेरिकालाई दिन तयार रहेको बताएका छन् ।

त्यसलाई उनी आफैँले ‘राष्ट्रपतिका रूपमा’ नियन्त्रण गर्ने उल्लेख गरेका छन् । भेनेजुएलामा उनले सानै मात्रामा भए पनि सफलता पाएको अवस्थामा आगामी दिनमा उनको दृष्टिकोण थप सशक्त हुँदै जान्छ । त्यसले उनलाई अझै अगाडि बढ्न प्रेरित गर्नेवाला छ । त्यसो हुँदा क्युवा, कोलम्बिया, निकारागुआ, मेक्सिको तथा ग्रीनल्याण्डजस्ता मुलुकहरू आगामी दिनमा निशाना बन्न सक्नेछन् ।

यो कथाको अर्को पाटोमा चीन छ । गत वर्ष ट्रम्पले चीनविरुद्ध भन्सार महसुल वृद्धि गरेर एक प्रकारको युद्ध नै घोषणा गरे । तर चीनले उल्टै ‘रेयर अर्थ’ तथा ‘क्रिटिकल मिनिरल’हरूको निर्यातमा कडाइ गरेर बदला लियो । त्यस्ता पदार्थहरू २१औँ शताब्दीका उपभोक्ता तथा सैन्य सामग्री उत्पादनमा अपरिहार्यजस्तै थिए । यससँगै अमेरिकाको कमजोरी पनि उजागर भयो । ट्रम्प आखिरकार झुक्नै पर्ने अवस्था आयो । अहिले उनी चीनसँग सम्बन्ध सुधार्ने तथा कुनै पनि मूल्यमा सम्झौता गरेरै छाड्ने ध्याउन्नमा छन् ।

हामीले अहिले भोगिरहेका गतिविधिहरू कुनै महान् रणनीतिका हिस्सा होइनन् । केवल जङ्गलराजका नियम हुन् । अमेरिका अहिले ट्रम्पलाई जहाँ सहज अनुभव हुन्छ, त्यहीँ एकतर्फी शक्तिको प्रयोग गरिरहेको छ । कुनै नियम वा मान्यता ख्याल गरिएको छैन । कुनै प्रशासनिक प्रक्रिया, साझेदारहरूको संरचना वा कुनै समय अमेरिकी नेतृत्वलाई वैधानिकता दिएका बहुपक्षीय संरचनाहरूको पनि वास्ता गरिएको छैन ।

जताततै दबाब बढ्न थालेपछि अमेरिकाभित्रै भने मतदाताहरू दैनिक खर्च धान्न असहज भएर आक्रोशित बन्न थालेका छन् । यसै वर्ष अमेरिकामा मध्यावधि चुनाव हुँदैछ । व्यापारमा अमेरिकाको निर्णायक भूमिका घट्दै गएको छ । यद्यपि ट्रम्प भने आफ्नो विरासत स्थापित गर्ने ध्याउन्नमै देखिन्छन् । त्यहाँको व्यवस्था मुताबिक सुरक्षा क्षेत्रमा उनको भूमिका अनियन्त्रित हुन्छ ।

त्यस्तो अवस्थामा उनले जथाभाबी निर्णय गर्ने अवस्था अझै बढ्दै जान सक्छ । त्यसो हुँदा पश्चिमी गोलार्द्ध बिस्तारै निरन्तर हमलाको सिकार हुँदै जाने अवस्था छ । त्यस्तो हुँदै जाँदा अमेरिकी शक्तिलाई कसैले प्रतिवाद गर्ने अवस्था पनि छैन । थोरै अवरोधहरू पार लगाउँदै ट्रम्पले धेरै स्थानमा सहज जित हात पार्न सक्छन् ।

धेरै देशका लागि अमेरिकाको पूर्वानुमान गर्न नसकिने, भर पर्न नसकिने तथा जोखिमपूर्ण नीतिहरू कसरी सामना गर्ने भन्ने विषय तत्कालीन प्राथमिकता बन्न थालेको छ ।

तर ट्रम्पको दृष्टिकोण केवल अमेरिकाको छिमेकमा मात्रै सीमित छैन । उनको प्रशासनले ग्रीनल्याण्डको सन्दर्भलाई लिएर दिएको धम्की हेर्दा उनी युरोपलाई पनि ताक्दैछन् भन्ने बुझ्न सकिन्छ । युरोपका तीन ठुला अर्थतन्त्रहरू बेलायत, फ्रान्स र जर्मनीमा कमजोर तथा अलोकप्रिय सरकार छन् । त्यहाँ लोकप्रियतावादीहरूको दबदबा बढिरहेको छ ।

उनीहरूको सँघारमै रुस आइपुगेको छ । यस्तो अवस्थामा ट्रम्पको सरकारले खुलेआम युरोपका चरम दक्षिणपन्थीहरूलाई समर्थन गरेका छन् । फलतः युरोपेली राजनीतिमा थप विभाजन देखा पर्ने वाला छ । यदि युरोपेलीहरूले बेलैमा ट्रम्पलाई रोक्ने विधि फेला पारेनन् भने ढिलो–चाँडो युरोपले पनि अमेरिकी महाद्वीपको नियति भोग्नु पर्नेछ ।

धेरै देशका लागि अमेरिकाको पूर्वानुमान गर्न नसकिने, भर पर्न नसकिने तथा जोखिमपूर्ण नीतिहरू कसरी सामना गर्ने भन्ने विषय तत्कालीन प्राथमिकता बन्न थालेको छ । यसमा केही मुलुक सफल र केही असफल हुन सक्छन्, तर युरोपलाई भने यस्तो नीतिको सामना गर्ने क्षमता विकास गर्न ढिलो भइसकेको छ ।

चीन अहिले बलियो अवस्थामा छ । उसको मुख्य प्रतिद्वन्द्वीले आफैँलाई अप्ठ्यारोमा पारिरहेको देख्दा उसलाई आनन्द लागेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ लामो खेलमा पनि टिक्न सक्छन् । अझ उनी त सन् २०२९ मा ट्रम्पको कार्यकाल सकिँदा पनि सत्तामै हुनेछन् ।

तर अमेरिकी शक्तिमा हुने क्षति भने आउने सरकारहरूको पालासम्मै रहनेछ । साझेदारहरू, सहयोगीहरू तथा विश्वसनीयता हुनु भनेको केवल तत्कालका लागि मात्रै राम्रो होइन । तिनीहरू त बलको गुणक हुन् । यस्तो तागत गुमेको अवस्थामा अमेरिकी शक्ति केवल कच्चा सैन्य क्षमता तथा आर्थिक शक्तिको आडमा मात्रै टिक्न सक्दैन ।

ट्रम्पले अमेरिकाको त्यही मजबुत विरासतमा आफैँले आगो लगाउँदैछन् । आफ्नो मुख्य शक्तिलाई उल्टै घाँडो ठानिरहेका छन् । अमेरिकी शक्ति समयभन्दा बाहिरबाट चलेजस्तो ठानेर शासन गरिरहेका छन् । उनलाई आफू बलकै आधारमा विश्वलाई पुनः आकार दिन सक्छु भन्ने लागेको छ । त्यसका परिणामहरू उनले ख्याल गरेका छैनन् ।

तर अहिले उनले भत्काइरहेका गठबन्धनहरू अर्को राष्ट्रपतिले कार्यभार सम्हाल्नासाथ एकाएक फेरि सग्लो भइहाल्ने छैनन् । अमेरिकाले गुमाएको विश्वसनीयता जोगाउन सम्भव भएकै खण्डमा पनि त्यसका लागि फेरि अर्को एक पुस्ताले समय खर्चिनुपर्ने हुन्छ । त्यसैले यो वर्ष अर्थात् सन् २०२६ महत्त्वपूर्ण वर्ष हो ।

यो एक प्रकारको चरमोत्कर्ष वा पानीढलोको समय हो । चीजहरू कसरी सकिँदै जान्छन् भन्ने थाहा भएकै कारणमात्रै यति महत्त्वपूर्ण भनिएको पक्कै होइन, तर अहिले त हामी जसले नियमहरू बनायौँ, उसैले अब आफूलाई ती नियमको काम छैन भन्दै उल्लङ्घन गरेको देखिरहेका छौँ ।

त्यसरी आफैँले बनाएको नियम नमान्दा के हुन्छ भन्ने पनि हेरिरहेका छौँ । यो जङ्गलराज आफैँले भोगिरहेका छौँ । त्यसैले आगामी वर्ष पक्कै पनि सामान्य हुने छैन ।

(प्रोजेक्ट सिन्डिकेटबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईयान ब्रेमर
ईयान ब्रेमर
लेखकबाट थप