सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनको विषयलाई लिएर कालिकोट कांग्रेसमा दुई धार

शनिबार, २६ पुस २०८२, १२ : १४
शनिबार, २६ पुस २०८२

कालिकोट । नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषयलाई लिएर कालिकोट जिल्ला कार्य समितिमा विवाद देखिएको छ । महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन बोलाएका छन् । ‎उक्त ‘विशेष महाधिवेशन’ मा सहभागी हुने वा नहुने भन्ने विषयमा जिल्ला सभापति र उपसभापतिले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेका छन्।

‎जिल्ला सभापति अम्बरबहादुर शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको बताएका छन् । उनले व्यक्तिगत रूपमा वा समूहले बोलाएको महाधिवेशन विधान विपरीत हुने भन्दै जिल्लाका कुनै पनि तहका पदाधिकारी, महासमिति सदस्य र प्रतिनिधिहरूलाई त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् ।

उनले आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन समेत सबैलाई निर्देशन दिएका छन् । ‎तर जिल्ला उपसभापति मीनबहादुर बोगटीले भने अर्को पत्र जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई औपचारिक आह्वान गरेका छन् ।

‘पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा सुदृढ बनाउन देशभरका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विधानको धारा १७ (२) बमोजिम यो अधिवेशन आह्वान गरिएको हो,’ उनको दाबी छ ।

‎काठमाडौँको भृकुटीमण्डपमा हुने सो ऐतिहासिक भेलामा अनिवार्य उपस्थितिका लागि कालिकोटका सम्पूर्ण प्रतिनिधिहरूलाई उनले अनुरोध गरेका छन्। ‎कालिकोटका कूल २५ जना महाधिवेशन प्रतिनिधिहरूमध्ये ११ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् भने अन्य दुई जना पनि सहभागी हुने तयारीमा रहेको स्रोतको दाबी छ।

‎केन्द्रमा सभापति शेरबहादुर देउवा पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबिच देखिएको टकरावको प्रत्यक्ष असर कालिकोट कांग्रेसमा पनि देखिएको हो । कुनै बेला देउवाका खास मान्छे भनेर चिनिने बोगटी अहिले गगन थापातिर खुलेका छन्।

savapatiupsavatai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप