जसपा नेपाल र लोसपाको एकता प्रक्रिया टुङ्गो नलाग्दा लोकतान्त्रिक मोर्चाको निर्णय प्रभावित
सारांश
- जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको एकता प्रक्रियामा ढिलाइ हुँदा सङ्घीय लोकतान्त्रिक मोर्चाको निर्णय अन्योलमा परेको छ।
- मोर्चामा सिट बाँडफाँडको विषयमा सहमति हुन नसक्दा दलहरू अन्योलमा परेका छन्, जसले गर्दा चुनावी तालमेल प्रभावित भएको छ।
- जसपा नेपाल र लोसपा नेपालबीचको एकता प्रक्रिया टुङ्गो नलागेका कारण सिट बाँडफाँड र मोर्चाका अन्य कामहरू अघि बढ्न सकेका छैनन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको एकता प्रक्रिया टुङ्गो नलागेको कारण सङ्घीय लोकतान्त्रिक मोर्चाको निर्णय पनि अन्योलमा परेको छ ।
फागुन २१ गते हुन गइरहेको चुनावमा सिटको तालमेल गर्ने निर्णय मोर्चा गठनकै बेला भइसकेको थियो । तर हालसम्म त्यसको कार्यान्वयन भएको छैन । पुस १८ गते बसेको बैठकमा दलहरूले कुन क्षेत्रमा कहाँ कहाँ उम्मेदवारी दिने, कहाँ कुन क्षेत्रमा कसको पकड छ लगायतका प्रतिवेदन तयार गरेर अर्को बैठक बसेर टुङ्गो लगाउने निर्णय गरेको थियो ।
जनमत पार्टीका एक नेताले भने, ‘जसपा नेपाल र लोसपा नेपालको एकता प्रक्रिया टुङ्गो नलागेको कारण मोर्चाको बैठक पनि प्रभावित भएको हो, अरू दलले आआफ्नो प्रतिवेदन तयार गरिसकेका छन् तर ती दुई दलले कुनै सुरसार पनि गरेका छैनन् ।’ लोसपा र जसपा नेपालको एकता प्रक्रिया टुङ्गो लागेपछि मात्र ती दलमा सिटको टुङ्गो लाग्ने अनि मात्र लोकतान्त्रिक मोर्चामा प्रस्तुत गर्ने तयारीमा रहेको बुझिएको छ ।
जसपा नेपाल र लोसपा नेपालबिच एकता हुने सहमति भइसकेको छ तर नेतृत्व, कार्यसमिति, पार्टीको नाम र झन्डाको विषयमा हालसम्म कुरा मिलेको छैन । यी विषयमा दुवै दलको छलफल जारी छ । ती दुवै दल छलफलमा व्यस्त रहेको कारण सिट बाँडफाँडमा ढिलाइ भइरहेको बताइएको छ । आज,भाेलिसम्ममा दुई दलको एकताको विषय टुङ्गो लाग्ने बताइएको छ ।
उम्मेदवारी दर्ता गराउन १० दिन मात्र बाँकी छन् । तर कुन दलले कति सिट पाउने, कुन दल कहाँबाट चुनाव लड्ने टुङ्गो नलागेको कारण मोर्चामा सम्बद्ध दलहरूमा अन्योल देखिएको हो । राष्ट्रिय मुक्ति पार्टी नेपालका एक नेताले भने, ‘मोर्चामा के हुने हो, हालसम्म टुङ्गो लागेको छैन, मोर्चामा टुङ्गो नलागेको कारण मोर्चाको कामहरू प्रभावकारी रूपमा अगाडि बढाउन सकिएको छैन, अरू दलसँग चुनावी तालमेलका लागि कुरा पनि गर्न सकिएको छैन ।’
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति यसअघि नै गरिसकेका छन् । यी तीन दलको बिचमा पनि मोर्चाका कारण सिट बाँडफाँड हुन सकिरहेको छैन । लोकतान्त्रिक मोर्चामा सिट बाँडफाँड गर्दा कति पाउने हो, कहाँ कहाँ पाउने हो त्यसमा सहमति भएपछि मात्र दलमा टुङ्गो लगाउने तर अहिलेसम्म मोर्चाको बैठकको अझैसम्म निश्चित नभएको रामुपाका ती नेताले बताए ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले लोकतान्त्रिक मोर्चामा चुनावी तालमेलको विषयमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।
लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण