सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

कर्णालीका १२ वटै क्षेत्रमा उम्मेदवार उठाउँदै रास्वपा, यी हुन् सम्भावित उम्मेदवार

आइतबार, २७ पुस २०८२, १७ : ००
आइतबार, २७ पुस २०८२

सुर्खेत । परम्परागत राजनीतिले जरा गाडेको कर्णालीमा यो पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि निर्वाचन लड्दैछ । सहरी तथा तराई क्षेत्रमा प्रभाव जमाउँदै लगेको रास्वपाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा खासै प्रवेश पाएन । 

कर्णाली विशेषगरी पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) को प्रभाव क्षेत्र हो । अहिले पनि पुराना नेताहरुको तर्क छ- ‘रास्वपाले अन्यत्र राम्रै चुनावी मत परिणाम ल्याए पनि कर्णालीमा केही असर गर्दैन ।‘ पहाडी इलाकामा रास्वपाको सहज प्रवेश नहुने पुराना राजनीतिक दलका नेताहरुको दाबी छ ।

तर जेनजी आन्दोलनपछि रास्वपाले कर्णालीमा जबर्जस्त रुपमा आफ्नो सांगठनिक अवस्थालाई विस्तार गरिरहेको छ भने हालसम्म प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडासम्म झण्डै ३०० को हाराहारीमा संगठन निर्माण गरिसकेको छ । 

सांगठनिक रुपमा वडासम्मै प्रवेश गरेको रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभामा प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने व्यापक तयारी गरेको छ । १० जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र छन् । हालसम्म ११ वटा निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको सूची तयार पारिसकेको रास्वपा स्रोतले रातोपाटीलाई बतायो ।

‘डोल्पा बाहेक सबै जिल्ला तथा निर्वाचन क्षेत्रका लागि सम्भावितहरुको सूची तयार भइसकेको छ,’ एक नेताले भने, ‘केहीले यसअघि उम्मेदवारका लागि दरखास्त पनि हाल्नुभएको थियो ।’ यद्यपि रास्वपाले जनतामा चिनिएका र ‘फ्रेस फेस’को खोजी जारी राखेको उनले बताए ।

सम्भावित सूचीमा चर्चामा रहेका अनुहारहरु पुराना दलबाट आएका नेतादेखि युवा इन्जिनियर तथा सामाजिक सञ्जालमा चर्चा कमाएका र बौद्धिक व्यक्तिहरूसम्म छन् । 

यी हुन् कर्णालीमा रास्वपाका सम्भावित उम्मेदवारहरु

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा उम्मेदवारका लागि थुप्रै व्यक्तिको नाम चर्चामा छ । सुर्खेत क्षेत्र नम्बर १ मा टेकबहादुर सिंहको नाम करिब टुङ्गो लागिसकेको नेताहरुको दाबी छ । कांग्रेसका पूर्व जिल्ला उपसभापति सिंह उक्त क्षेत्रमा चिनिएको नाम हो । कांग्रेसमा अपमान भएको भन्दै केही महिनाअघि मात्रै उनी रास्वपा प्रवेश गरेका थिए ।

सुर्खेत-१ रास्वपाका नेताहरुले ठम्मर विष्टलाई पार्टी प्रवेश गराएर चुनाव लडाउने प्रयास गरेका थिए । तर उक्त अभ्यास असफल भएको एक नेता बताउँछन् । विष्ट अहिले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा गइसकेका छन् । उनले २०७४ मा यही क्षेत्रमा माओवादी केन्द्रबाट प्रदेशसभा चुनाव जितेका थिए । सांसद हुँदै एमाले प्रवेश गरेका उनी एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि एमाले परित्याग गरेका थिए । उनलाई उम्मेदवार बनाउने प्रयास असफल भएपछि सिंह नै रास्वपाबाट उम्मेदवार बन्ने निश्चितजस्तै देखिएको छ । उनले चुनाव प्रचार पनि थालिसकेका छन् ।

सुर्खेत-२ मा रास्वपाका कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारीलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनी पूर्व एमाले पृष्ठभूमिका नेता हुन् र पश्चिम सुर्खेतका चिनिएका युवा नेता मानिन्छन् । यो क्षेत्रमा खमराज थानी र डा. गोविन्द आचार्य लगायतले पनि दरखास्त हालेका छन् ।

यस क्षेत्रबाट राप्रपाबाट २०७९ मा जुम्लामा चुनाव जितेका ज्ञानेन्द्र शाही चुनाव लड्ने चर्चा चलेको थियो । यद्यपि, रास्वपा स्रोतले उक्त चर्चालाई खण्डन गर्दै शाही पार्टीमा आउने सम्भावना अब न्यून रहेको बतायो । ‘सम्भवतः उहाँ अब आउनुहुन्न, यो क्षेत्रमा पार्टीकै नेताहरु छन् नि,’ एक नेताले भने । विशेषगरी अधिकारीलाई नै सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । 

दैलेखमा पनि दुवै क्षेत्रमा उम्मेदवार छनोट गरिरहेको छ, रास्वपाले । क्षेत्र नम्बर १ मा नन्दकिशोर बस्नेत (एनके) रास्वपाबाट उम्मेदवार बन्ने चर्चा छ । सोही उद्देश्यसहित बस्नेत शनिबार मात्रै रास्वपा प्रवेश गरेका हुन् । यसअघि एमालेबाट सोही क्षेत्रमा प्रत्यक्षतर्फ सिफारिस भएका बस्नेत दैलेखमा राम्रै चिनिएका व्यक्ति हुन् । एमालेबाट टिकट नपाउने भएपछि नै उनी रास्वपा प्रवेश गरेको चर्चा छ । यस क्षेत्रमा खगेन्द्र सुनारको नाम पनि चर्चामा छ ।

दैलेख क्षेत्र नम्बर २ मा बखतबहादुर शाही र विनी शाहीको नाम चर्चामा छ । नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी प्रमुख समेत रहेका बखतबहादुर शाही नेपालको हाइड्रोपावर क्षेत्रमा चर्चित नाम हो । उनले गत असोजमा जागिरबाट राजीनामा दिएका थिए । उनी रास्वपामा प्रवेश गरिसकेका छन् । विनी शाहीको राजनीतिक पृष्ठभूमि अस्थिर मानिन्छ । उनी कुनै बेला नेमकिपा, माओवादी, कांग्रेस हुँदै एमालेसम्म सबै पार्टी चहारेका नेता हुन् । यस्तै, बखत भण्डारी र निरक कार्कीको नाम पनि चर्चामा छ । भण्डारीले २०७९ मा रास्वपाबाटै चुनाव लडेर करिब ७१३ मत ल्याएका थिए ।

कालीकोटमा रास्वपाले सामाजिक सञ्जालमा चर्चित युवालाई अघि सार्ने तयारी गरेको छ । कर्णालीको ठेट भाषा बोल्दै बेथिति विरुद्ध आवाज उठाएर भाइरल बनेका प्रकाश न्यौपानेलाई रास्वपाले उम्मेदवार बनाउने करिब पक्का भएको एक नेताले रातोपाटीलाई बताए । उनी सोही उद्देश्य राखेर नै केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।

‘उनी युवाहरुबिच लोकिप्रय छन्, त्यसैले पनि रास्वपाले टिकट दिन लागेको हो,’ रास्वपाका एक नेताले भने ।

सल्यानमा रास्वपाका प्रदेश महामन्त्री ललित चन्दलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । उनी विप्लव माओवादी पृष्ठभूमिका हुन् । पवनराज देवकोटाको नाम पनि सल्यानबाट चर्चामा छ ।

जाजरकोटमा अधिवक्ता राघव कार्कीलाई उम्मेदवार बनाउने चर्चा छ । उता रुकुम पश्चिममा भने मानबहादुर शाही उम्मेदवार बन्ने करिब पक्का भएको छ । इन्जिनियर समेत रहेका उनी पूर्व माओवादी कार्यकर्ता हुन् । युवाहरुबिच लोकप्रिय रहेका उनले जाजरकोट भूकम्पका बेला सक्रिय भएर काम गरेका थिए ।

जुम्लामा २०७९ को निर्वाचनपछि समानुपातिक सांसद बनेकी विनिता कठायतलाई यस पटक प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा अघि सार्ने तयारी रास्वपाको छ । उनी पार्टी सभापति रवि लामिछाने निकट मानिन्छिन् ।

हुम्लामा व्यवसायी लक्ष्मण ऐडी र महेन्द्र पाण्डेको नाम चर्चामा छ । मुगुमा राजेन्द्र शाहीलाई उम्मेदवार बनाउने चर्चा छ भने डोल्पाका लागि उपयुक्त व्यक्तिको खोजी भइरहेको रास्वपाका नेताहरु बताउँछन् ।

‘हाम्रो पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछ,’ रास्वपाका प्रदेश प्रवक्ता हरि अधिकारीले रातोपाटीसँग भने, ‘त्यही विषयमा व्यापक छलफल चलिरहेको छ । सम्भवतः पुस महिनाभित्रै उम्मेदवारको टुङ्गो लाग्छ ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप