बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

गण्डकीमा १२ सिट जित्ने रास्वपाको आन्तरिक रिपोर्टिङ, उम्मेदवार बन्न चाहनेको लर्को

सोमबार, २८ पुस २०८२, १४ : ०९
सोमबार, २८ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियाबारे निर्णय गरेको छैन, तर अनलाइन दर्ता खुलाइएको छ।
  • विभिन्न क्षेत्रमा सम्भावित उम्मेदवारहरूको चर्चा छ, जसमा निवर्तमान सांसद, अघिल्लो निर्वाचनका उम्मेदवार र नयाँ अनुहारहरू रहेका छन्।
  • रास्वपाले गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार उठाउने र केही 'हेभीवेट' नेताहरूको चर्चा रहेको छ।

पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आकाङ्क्षीहरूको लर्को लागेको छ । रास्वपाले यस पटक विगतमाझै प्रारम्भिक निर्वाचन नगर्ने निर्णय गरेसँगै उम्मेदवार चयन प्रक्रिया कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन । यद्यपि, अनलाइनमा नाम दर्ता गराउने आकाङ्क्षीहरूको लर्को देखिएको हो ।

उम्मेदवार छनोटको विधि अन्योलमै रहे पनि आन्तरिक वृत्त र जनस्तरमा बलियो पकड जमाएका केही नामहरू ‘सम्भावित उम्मेदवार’का रूपमा चर्चामा छन् । गण्डकीका ८ देखि १२ सिटमा आफ्नो पार्टीले जित्ने रास्वपाको आन्तरिक रिपोर्टिङ छ । यद्यपि, जित्ने त्यस्तो निर्वाचन क्षेत्र खुलाइएका छैन । २०७९ को निर्वाचन र रास्वपाको प्रभावलाई केलाउँदा कास्की २ र ३, नवलपुर १, तनहुँ १, स्याङ्जा १ लगायत क्षेत्र केही राम्रो देखिन्छ ।

कास्की क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शिव नेपाली, राजु राई, डा. विश्वदीप तिमिल्सिना र सुशान्त पौडेलको नाम चर्चामा छ । यो क्षेत्रमा निवर्तमान सांसद समेत भइसकेको हुनाले शिव नेपालीलाई बलियो दाबेदारका रुपमा मानिएको छ ।

 गत चुनावमा रास्वपाले यो क्षेत्रबाट राजु राईले १० हजार ९ सय ४१ मत ल्याएर तेस्रो बनेका थिए । निर्वाचित एमालेका मनबहादुर गुरुङले २५ हजार ७ सय ८ मत पाएका थिए ।

क्षेत्र नम्बर २ मा यसअघि सम्मानजनक मत ल्याएर पराजित माधव प्रसाद कँडेलसहित नेताहरू योगेन्द्र केसी, अशोक खड्का, मञ्जुसिंह हमाल, उत्तम प्रसाद पौडेल र तोयराज अधिकारी आकाङ्क्षी छन् । 

केन्द्रमा पहुँच भएको हिसाबले उत्तम पौडेललाई टिकट पाउने बलियो उम्मेदवारका रूपमा हेरिएको छ । यसैगरी युवाका हिसाबले अशोक खड्काले पनि बलियो उम्मेदवारमा बलियो दाबी पेस गरिरहेका छन् । त्यहाँबाट अघिल्लो पटक रास्वपाका माधव कँडेलले १२ हजार ४ सय ९५ मत सहित दोस्रो स्थान हासिल गरेका थिए । पहिलो बनेकी एमालेकी विद्या भट्टराईको १६ हजार ९ सय ९८ मत थियो ।

क्षेत्र नम्बर ३ मा जिल्ला सभापति यदुनाथ अधिकारी, प्रदेशका महामन्त्री नवीन त्रिपाठी सहित बिना गुरुङ, एकराज न्यौपाने र अघिल्ला उम्मेदवार योगराज पौडेल रेसमा छन् । अधिकांशले आन्तरिक रूपमा त्रिपाठीलाई समर्थन गरेका कारण उनको सम्भावना बलियो रहेको कार्यकर्ताहरू बताउँछन्  । उसो त जिल्ला सभापति अधिकारी पनि उत्तिकै प्रतिस्पर्धामा छन् । 

उक्त क्षेत्रमा योगराज पौडेल १२ हजार १ सय ८० मत ल्याएर तेस्रो बनेका थिए । निर्वाचित भएका एमालेका दामोदर वैरागीको २२ हजार ९ सय ८० मत थियो ।

यसैगरी स्याङ्जा १ बाट डा. धनञ्जय रेग्मी सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना छ । यसअघिका उम्मेदवार बोधराज रेग्मीले सामाजिक सञ्जालबाट उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् । बोधराजले गत चुनावमा ६ हजार ६५ मत पाउँदा निर्वाचित कांग्रेसका राजु थापाले ३१ हजार ९ सय ९९ मत पाएका थिए ।

यसैगरी क्षेत्र नम्बर २ बाट झविलाल डुम्रे र तोयनारायण पौडेल दाबेदार छन् ।  झविलालले पहिलेदेखि नै निर्वाचनको तयारी गरेर गतिविधि गरिरहेका छन् । गत चुनावमा सो क्षेत्रबाट रास्वपाका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाएका थिए । पहिलो भएका कांग्रेसका धनराज गुरुङको ३१ हजार ४ सय ६६ मत थियो ।

तनहुँ १ मा डा. स्वर्णिम वाग्लेकै उम्मेदवारी दोहोरिने पक्काजस्तै भएको छ । २०७९ को निर्वाचनबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछिको उपनिर्वाचनमा कांग्रेस छोडेर रास्वपा छिरेका वाग्ले विजयी भएका थिए । सोअघि आम चुनावमा ६ हजार ४४ मत सहित रास्वपाका विकास सिग्देल चौथो भएका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उपनिर्वाचनमा भने ३४ हजार ९ सय १९ मत सहित वाग्ले विजयी हुँदा कांग्रेस खुम्चिएर २० हजार १ सय २२ मतमा झरेको थियो ।

क्षेत्र नम्बर २ मा डा. शेष रमण न्यौपाने, इन्जिनियर श्रीराम न्यौपाने, सुन्दर बस्याल र राजेश पाण्डे लगायत आकाङ्क्षी छन् । अहिलेसम्मको अवस्थामा न्यौपाने सबैभन्दा बलियो उम्मेदवार रहेको बताइन्छ । २०७९ को चुनावमा त्यहाँबाट रास्वपाका विजय जोशीले ५ हजार ३ सय ७३ मत ल्याउँदा कांग्रेसका शंकर भण्डारी ३० हजार ६ सय ४ मत सहित विजयी भएका थिए ।

नवलपुर १ मा प्रदेश सभापति राजन गौतम र कृष्ण बहादुर थापा दाबेदार भए पनि गौतमले टिकट पाउने सम्भावना प्रबल छ । उनी यसअघिको निर्वाचनमा झिनो अन्तरले पराजित भएका थिए ।

 २४ हजार ३ सय ५ मत सहित उनी तेस्रो हुँदा कांग्रेसका डा. शशांक कोइराला २७ हजार ६७ मत सहित विजयी भएका थिए । क्षेत्र नम्बर २ मा डा. पुष्पमणि खराल, दोमन भण्डारी, नेत्र भुसाल लगायत दाबेदार छन् । उक्त  क्षेत्रबाट  अघिल्लो निर्वाचनमा रास्वपाका शालिकराम न्यौपानेले ६ हजार ४ सय ४९ मत पाउँदा काँग्रेसका विष्णु कार्कीले ३६ हजार १ सय ३२ मत पाएका थिए ।

लमजुङमा इन्जिनियर धर्म केसी र पदमराज पन्थीको नाम चर्चामा छ ।  रास्वपाका उम्मेदवार केसी अघिल्लो निर्वाचनमा ९ हजार ३३ मत पाएर तेस्रो भएका थिए । पहिलो बनेका एमालेका पृथ्वीसुब्बा गुरुङको ३४ हजार ९ सय ८५ मत थियो । 

गोरखा १ मा अहिलेसम्म बलियो हिसाबले दाबी गर्ने कोही देखिएका छैनन् । जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङले सो क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । रास्वपा स्रोतका अनुसार रास्वपाले उनलाई सघाएर जाने बुझिएको छ । यद्यपि, हालसम्म घोषणा गरिसकेको छैन । गोरखा-१ मा रास्वपाका सुवर्ण रोकाले ४ हजार ८ सय ९२ मत ल्याउँदा कांग्रेसका राजेन्द्र बजगाईंले ३३ हजार ४ सय २८ मत सहित जित दर्ता गरेका थिए ।

क्षेत्र नम्बर २ बाट केन्द्रीय महामन्त्री कवीन्द्र बुर्लाकोटी र गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्य रेसमा छन् । कवीन्द्र अघिल्लो निर्वाचनमा पराजित भएका थिए  । कवीन्द्रको १२ हजार ६ सय ३९ मत थियो भने तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ हजार १ सय ९ मत पाएका थिए । पर्वतमा सागर भुसाल, रुद्र प्रसाद शर्मा, सन्तोष रेग्मी, डा. केशव भुर्तेलको आकाङ्क्षा छ । तर भुर्तेल र शर्मा मुख्य दाबेदार रहेको रास्वपा स्रोतको दाबी छ ।

 गत चुनावमा रास्वपाका जालबहादुर पुर्जाले ४ हजार १ सय ७३ मत ल्याएका थिए भने एमालेका पदम गिरी २९ हजार ८ सय ७२ मत ल्याएर विजयी भए ।

बागलुङ-१ मा राजेन्द्र शर्मा, महेन्द्र खड्का, सुशील खड्का, रुसन सापकोटा र खिमानन्द कँडेल लगायत प्रतिस्पर्धामा छन् । राजेन्द्र र सुशीलमध्ये उम्मेदवार बन्न सक्ने आङ्कलन छ । सो क्षेत्रमा खिमानन्द कँडेलले ९ हजार १ सय ९१ मत ल्याउँदा निर्वाचित भएका जनमोर्चाका चित्रबहादुर केसीले २१ हजार ४ सय ६४ मत पाएका थिए । क्षेत्र नम्बर २ मा लीलबहादुर खत्री प्रबल दाबेदार हुन् । उक्त क्षेत्रबाट अघिल्लो चुनावमा तिला खत्रीले २ हजार ३ सय २७ मत ल्याउँदा माओवादीका देवेन्द्र पौडेल २४ हजार ७ सय ९४ मत पाएर विजयी भएका थिए ।

यसैगरी म्याग्दीबाट युवराज रोकाको एकल दाबी छ । उनी निर्विरोध उम्मेदवार बन्न सक्ने बताइएको छ । अघिल्लो निर्वाचनमा रास्वपाका हरिबहादुर खत्रीले १ हजार ४ सय २४ मत पाउँदा निर्वाचित कांग्रेसका खम्बिर गर्वुजाले २४ हजार २१ मत पाएका थिए ।

मुस्ताङ र मनाङमा उम्मेदवार बन्न चासो कसैले दिएका छैनन् । अघिल्लो निर्वाचनमा मुस्ताङबाट सुदेश गुरुङ उम्मेदवार बनेका थिए भने मनाङबाट मुखिया गुरुङ उम्मेदवार थिए । सुदेशले ८७ मत ल्याएका थिए भने मुखियाले ५ मत ल्याएका थिए । गत चुनावमा दुवै क्षेत्रमा कांग्रेस विजयी भएको थियो । रास्वपाले गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार उठाउने बताइएको छ ।

  • ‘हेभीवेट’ को-को आउँदैछन् गण्डकी ?

 तनहुँ क्षेत्र नं १ मा चर्चित अर्थशास्त्री एवं निवर्तमान सांसद डा. स्वर्णिम वाग्लेले दोहोर्‍याउने पक्काजस्तै छ । गोरखा क्षेत्र नं २ मा पार्टीका केन्द्रीय महामन्त्री भएकाले कवीन्द्र बुर्लाकोटीकै उम्मेदवारी रहने बताइन्छ । यसैगरी नवलपुर क्षेत्र नं १ मा प्रदेश सभापति राजन गौतमको एकल दाबी जस्तै देखिएको छ ।

 यसबाहेक यसअघि काठमाडौँ-२ बाट निर्वाचित सोबिता गौतम लमजुङबाट उम्मेदवार बन्ने चर्चा समेत सुनिएको छ । तर सार्वजनिक रूपमा भने सोबिताले काठमाडौँबाट नभए चितवनबाट चुनाव लड्न सक्ने बताउँदै आएकी छन् ।  गत निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ गण्डकीबाट १ लाख ७७ हजार मत प्राप्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप