बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार सिफारिस

प्रचण्ड रुकुमपूर्व जाने भएपछि कालिकोटमा बन्यो नेकपाको लामो सूची

सोमबार, २८ पुस २०८२, १५ : ३०
सोमबार, २८ पुस २०८२

सारांश

  • नेकपाका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने निर्णय गरेका छन्।
  • प्रचण्डलाई कालिकोटबाट चुनाव लड्न नेकपाले सिफारिस गरे पनि उनले रुकुम पूर्व रोजेका हुन्।
  • कालिकोटमा माओवादीको जनाधार कमजोर भएको र अन्य प्रतिस्पर्धी बलिया देखिएपछि प्रचण्डले यस्तो निर्णय लिएका हुन्।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कालिकोटले पुस १७ गते आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकल सिफारिस गरेको थियो, तर अब प्रचण्ड चुनाव लड्न कालिकोट नआउने भएका छन् । 

धेरै जिल्लाबाट सिफारिस भएका प्रचण्ड कुन ठाउँबाट चुनाव लड्छन् भन्ने सबैको चासोबिच शनिबार रुकुम पश्चिममा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू रुकुम पूर्वबाट चुनाव लड्ने बताए । ‘मैले अब रुकुमबाटै चुनाव लड्ने निर्णय गरें,’ उनले भने, ‘त्यो रुकुम पश्चिम होइन, रुकुम पूर्वबाट । त्यहाँबाट चुनाव लड्ने भएपछि यहाँ आइरहन्छु ।’

माओवादीका नेताहरूका अनुसार आफू सिफारिस भएका जिल्लाहरूको चुनावी मत परिणामबारे प्रचण्डले अध्ययन गर्न लगाएका थिए । नेता तथा कार्यकर्ताहरूको ‘बिफ्रिङ’पश्चात् अन्य जिल्लाभन्दा रुकुमपूर्व नै उनले सुरक्षित ठाने । साविक माओवादीको आधार इलाका हो कर्णाली । यहाँका १० जिल्लामध्ये माओवादीको सबैभन्दा धेरै जनाधार र सहज जित निकाल्न सक्ने क्षेत्र रुकुम पश्चिम थियो । तर रुकुमपश्चिममा २०६४ सालदेखि निरन्तर चुनाव लड्दै आएका जनार्दन शर्मा ‘प्रभाकर’ पुनः चुनाव लड्ने भएपछि त्यहाँ नेकपाले उनकै चेला गोपाल शर्मालाई अघि सार्‍यो ।

रुकुम पश्चिममा जनार्दन बलिया छन् । उनले 'माओवाद' छाडेका प्रचण्डको एकता अभियानमा सहभागी नभएर छुट्टै पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् भने सोही पार्टीबाटै चुनाव लड्ने तयारीमा छन् । रुकुम पश्चिमपछि माओवादीको प्रभाव भएको जिल्ला कालिकोट हो, तर पछिल्लो समय कालिकोटमा माओवादी क्षयीकरण हुँदै गएको छ । शान्ति प्रक्रियापछि माओवादीले लगातार चुनाव जित्दै आए पनि पछिल्लो सयम नेपाली कांग्रेस र नेकपा एमालेले पनि जनमत बढाउनुका साथै सांगठनिक विस्तारमा समेत बढावा दिएका छन् । 

यस कारण कालिकोटबाट चुनाव लड्न डराए प्रचण्ड

विगतका चार वटा प्रतिनिधि सभाको मत परिणाम हेर्दा पनि कालिकोटमा माओवादीको जनाधार खासै बढेको छैन । शान्ति प्रक्रियापछि भएको पहिलो संविधान सभाको चुनाव (०६४) मा कालिकोटमा माओवादीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उम्मेदवार थिए । एक्लाएक्लै भएको उक्त चुनावी प्रतिस्पर्धामा उनले २७ हजार ६२९ मत ल्याएका थिए । 

तर त्यसपछि माओवादीको मत बढ्नुको साटो घट्दै गएको छ । ०७० सालको दोस्रो संविधान सभाको चुनावमा माओवादीबाट चुनाव लडेका महेन्द्रबहादुर शाहीले १० हजार ८४ मतसहित चुनाव जिते । ०७४ मा उक्त पार्टीबाट चुनाव लडेका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएका थिए, उक्त मत नेकपा एमालेसहितको हो । उक्त चुनावमा एमाले–माओवादीबिच गठबन्धन थियो । दुई ठुला दल मिलेर चुनावमा जाँदा पनि प्रतिस्पर्धी नेपाली कांग्रेसबाट चुनाव लडेका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत ल्याएका थिए । दुई दल मिल्दा पनि शाहीले ल्याएको मतको अन्तर खासै ठुलो छैन । 

२०७९ को चुनावमा आउँदा पनि माओवादीको जनमत बढेन । उक्त चुनावमा माओवादीबाट तर्फबाट महेन्द्रबहादुर शाही पुनः उम्मेदवार बने । कांग्रेसको समर्थनमा चुनावमा गएका उनले २३ हजार ७२७ मत ल्याए । प्रतिस्पर्धी दल एमालेका नगीन्द शाही ‘नेशनल’ले १७ हजार ७१८ मत पाए । यसरी हेर्दा ०७४ र ०७९ को प्रतिनिधि सभा चुनावमा माओवादीको जनाधार उस्ताउस्तै छ, त्यो पनि गठबन्धन गर्दा । 

अहिले जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा ठुला राजनीतिक दलहरूप्रति जनमत आक्रोशित छ नै । यही बिचमा कांग्रेस र एमालेबाट यसअघि पराजित भएका भूपेन्द्रजंग शाही र नगीन्द्र शाही नै उम्मेदवार बन्ने सम्भावना छ । यी दुवै कालिकोटमा चिनिएका नेताहरू नै हुन् । अर्कातर्फ साविक माओवादीबाट नै विभाजित भएको विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट पुनः खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनाव लड्दै छन् ।

एक्लाएक्लै चुनाव हुँदा र प्रतिस्पर्धी नेताहरू बलिया देखेपछि प्रचण्डले कालिकोटमा आफूलाई सुरक्षित नठानेका एक नेता बताउँछन् । 

विशेषगरी प्रकाण्ड १८ वर्षपछि चुनावमा भाग लिँदैछन् भने उनी कालिकोटमा निकै बलिया छन् । ‘अझ भनौँ कालिकोट अन्यभन्दा दलित समुदायको भोट धेरै भएको जिल्ला हो । प्रकाण्ड लडेपछि माओवादीकै भोट काट्ने हुन्,’ ती नेताले भने, ‘त्यसो हुँदा यहाँ भन्दा रुकुमपूर्वको चुनावी मत परिणाम राम्रो देखेपछि उतै रोज्नुभयो ।’ 

प्रचण्डलाई कालिकोटबाट चुनाव लडाउन अग्रसर गराउने नेकपाका नेता महेन्द्रबहादुर शाही नै हुन् । उनले अहिले थुप्रै दलहरू मिलेर नेकपा बनेको खण्डमा कालिकोटमा सुरक्षित हुने ‘बिफ्रिङ’ प्रचण्डलाई गरेका थिए । साथै सार्वजनिक कार्यक्रममा पनि शाहीले अन्य सबै दल मिल्दा पनि कालिकोटमा नेकपाले जित्ने दाबी गरेका थिए, उता प्रकाण्डले भने प्रचण्ड नै आए पनि कालिकोटमा आफूले सहज जित्ने दाबी गरेका थिए ।

प्रचण्डले रुकुमपूर्व रोज्दा कालिकोटमा उम्मेदवार को ?

प्रचण्ड रुकुमपूर्व जाँदा कालिकोटमा नेकपाबाट उम्मेदवार हुन चाहनेको सूची लामै छ । नेकपा कालिकोटका एक नेताका अनुसार झण्डै ९ जना नेताहरूले आकांक्षा देखाएका छन् । साविक माओवादीबाट नै चार जनाले चाहना देखाएका छन् भने प्रेमबहादुर सिंह र अन्य एकतामा सहभागी दलका नेताहरूले पनि चाहना देखाएका छन् । यद्यपि अन्य नेताहरू भन्दा सम्भावना भएका नेता महेन्द्रबहादुर शाही नै हुन् । तर साविक माओवादीकै नेताहरू जीवन बुढा, लक्ष्मी प्रसाद चौलागाईं लगायतले पनि यो पटक दाबी गरेका छन् । मनबहादुर सिंहले पनि आकांक्षा देखाएका छन् । 

अन्य नेताहरूले शाहीलाई भनेका छन्, 'पटक–पटक चुनाव लड्नुभयो, अब हामीलाई सुम्पिएर पार्टीकै जिम्मेवारीमा काम गर्नुहोस् ।'

बुढा यसअघि राष्ट्रिय सभा सांसद भइसकेका र युद्धकालमा सैनातर्फकै लडाकु हुन् । कालिकोटमा उनको पनि प्रभाव राम्रै छ । अर्का नेता लक्ष्मीप्रसाद चौलागाईं वाईसीएलका केन्द्रीय सहइन्चार्ज तथा साविक माओवादीको कालिकोट इन्चार्जसमेत हुन् । 

यद्यपि अन्य दलका सम्भावित उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धा गर्न सक्ने नेता भने शाही नै भएको कतिपय नेताहरूको तर्क छ । कर्णालीको मुख्यमन्त्री हुँदा जनतामा भिजेको र पछिल्लो समय पार्टीमा पनि उचाइ लिएका शाही नेकपा कर्णालीमै प्रभाव राख्ने नेता हुन् । 

साविक माओवादीका नेता दुर्ग रावत नेकपाबाट को उम्मेदवार भन्ने विषयमा छलफल गर्न बाँकी रहेको बताउँछन् । ‘हामी काठमाडौँमा छौँ, साथीहरू सबै यतै हुनुहुन्छ, आज वा भोलिसम्म छलफल हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप