भूपेन्द्र बडुवाल हत्याकाण्डः ६ जनालाई आजीवन काराबास, ७ जनालाई जन्मकैद
सारांश
- कैलाली जिल्ला अदालतले टीकापुरमा भूपेन्द्र बडुवालको हत्यामा संलग्न १३ जनालाई दोषी ठहर गरेको छ।
- अदालतले ६ जनालाई आजीवन कारावास र अन्य ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
- अदालतले पीडित परिवारलाई क्षतिपूर्ति र जरिवाना तिराउने आदेश दिएको छ, फरार प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको छ।
धनगढी । कैलालीको टीकापुरमा भएको भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली जिल्ला अदालतले अन्तिम फैसला सुनाएको छ । मंगलबार जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले घटनामा संलग्न मुख्य अभियुक्तसहित १३ जनालाई दोषी ठहर गरेको हो ।
अदालतले हत्यामा संलग्न ६ जनालाई जीवित रहेसम्म (आजीवन) कारावास र अन्य ७ जनालाई जन्मकैदको सजाय तोकेको छ ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार ६ जनालाई जीवित रहेसम्म जेल सजाय हुनेछ। यसरी आजीवन कारावासको सजाय पाउनेहरूमा मुख्य योजनाकार मानिएका नवीन रावलसहित आर्यान देवकोटा, रोशनबहादुर शाही, चिरञ्जिवीजंग शाही (अनुज), रोहित आले र हिमाल शाही रहेका छन् ।
यस्तै, अदालतले अन्य ७ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा १७७ (१) बमोजिम जन्मकैदको फैसला सुनाएको छ। यस सूचीमा मदन शाही, हेमन्त शाही, दीपेन्द्र शाही (धिरज), निशान्त मल्ल (गोलु), शोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही छन् ।
सरकारी वकिलको कार्यालयले २१ जनाविरुद्ध मुद्दा दायर गरेकोमा अदालतले ७ जनालाई भने निर्दोष ठहर गर्दै सफाइ दिएको छ। सफाइ पाउनेहरूमा अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ छन् ।
फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने अदालतले मुद्दालाई मुल्तबीमा राख्ने आदेश दिएको छ। उनी पक्राउ परे वा हाजिर भएपछि उनको मुद्दा अघि बढ्नेछ ।
अदालतले दोषी ठहर भएका १३ जनाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ । फैसलाअनुसार सबै प्रतिवादीले दामासाहीले कुल १५ लाख रुपैयाँ पीडित पक्षलाई बुझाउनुपर्नेछ । साथै पीडित राहत कोषमा जम्मा हुने गरी प्रतिव्यक्ति २ हजार ८ सय रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय युवा भूपेन्द्र बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर–१ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सोही वर्ष फागुन २६ गते प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराएको थियो । लामो सुनुवाइपछि अदालतले आज यो फैसला सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण