सुर्खेतः एमाले र नेकपा चुनावी अभियानमा, कांग्रेस आन्तरिक झमेलामै
सारांश
- सुर्खेतमा नेकपा र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्, तर कांग्रेस आन्तरिक विवादमा फसेको छ।
- नेकपा र एमालेका उम्मेदवारहरूले मतदाता भेटघाट र वडास्तरमा कार्यक्रम गर्दै चुनावी रणनीति बनाइरहेका छन्।
- २०७४ र २०७९ को निर्वाचनमा माओवादीले उम्मेदवार पाएन, तर यसपटक नेकपाको रूपमा चुनावमा भाग लिँदैछ।
सुर्खेत । नेपाली कांग्रेस आन्तरिक झमेलामै व्यस्त रहँदा सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले भने चुनावी अभियानलाई तीव्र पारिसकेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर यी दुई दलका उम्मेदवारहरू पार्टीका अगुवा कार्यकर्ता र जनतासँग भेटघाट कार्यक्रम लिएर गाउँ छिरेका हुन् ।
नेकपाले पुस १३ गते नै दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरेको थियो । जसअन्तर्गत क्षेत्र नम्बर १ मा जीतबहादुर राना र क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन् ।
यस्तै, नेकपा एमालेले पुस १९ गते दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको थियो । एमालेबाट क्षेत्र नम्बर १ मा ध्रुव शाही र क्षेत्र नम्बर २ मा कुलमणि देवकोटा उम्मेदवार छन् । यी दुई दलहरूले एकल उम्मेदवार छानेसँगै चुनावी अभियानमा सरिक हुन् सहज भएको हो ।
उसो त नेपाली कांग्रेसले मंसिर २३ नै उम्मेदवारका आकाङ्क्षीको नाम सिफारिस गरेको थियो । क्षेत्र नम्बर १ बाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा एकल टुङ्गो लागे पनि क्षेत्र नम्बर २ बाट ६ जनाको नाम केन्द्रमा सिफारिस गरिएको थियो । जसमा निवर्तमान सांसद हृदयराम थानी, उपेन्द्रबहादुर थापा, कलम खत्री, नारायण कोइराला, भीष्म हमाल, बसन्ती बस्नेतको नाम छ ।
उम्मेदवार सिफारिसको काम सबैभन्दा अगाडि गरे पनि कांग्रेसले अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । क्षेत्र नम्बर १ मा एकल सिफारिस भए पनि खड्का भने यतिबेला कांग्रेसको आन्तरिक झमेला मिलाउन काठमाडौँमै व्यस्त छन् । कांग्रेसमा अहिले विशेष र नियमित महाधिवेशनको विषयलाई लिएर पार्टी फुट्ने चर्चासमेत चलेको अवस्थामा कांग्रेस पङ्क्ति त्यतातर्फ केन्द्रित छ । यस्तै रास्वपालगायत अन्य नयाँ दलहरूले पनि यी क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएका छैनन्, तर नेकपा र एमाले भने चुनावी अभियानमा दौडिसक्यो ।
- जनता र कार्यकर्ताको मनोभावना बुझ्दै एमाले-नेकपा
दुई निर्वाचन क्षेत्रमध्ये प्रदेश राजधानी वीरेन्द्रनगरसमेत रहेको क्षेत्र नम्बर २ का नेकपा र एमालेका उम्मेदवार युद्धस्तरमै अगुवा कार्यकर्ता र जनताको मनोविज्ञान बुझ्न अग्रसर छन् ।

नेकपाका उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले उम्मेदवारको टुङ्गो लागेकै दिनदेखि सामाजिक सञ्जालबाट प्रचार गर्न सुरु गरिसकेका थिए भने पुस २३ गतेभित्र राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाका भित्रका १४ वटै वडाहरूमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरिसके । त्यसपछि पुस २५ गते पश्चिमतर्फ पर्ने बराहताल गाउँपालिका-४, तरङ्गामा कार्यक्रम गरे । त्यसअघि नै उनले चुनावी अभियानको सम्पूर्ण खाका नै तयार पारेर लागु गरिसकेका छन् ।
उनले चुनावी कमान्डर तोक्नेदेखि कार्यकर्ताहरू परिचालनको खाका तयार गरिसके । नेकपाले चुनावी अभियानलाई सशक्त बनाउन पूर्वअर्थमन्त्री विन्दमान विष्टलाई उक्त क्षेत्रको चुनावी कमान्डर तोकेको छ।
यस्तै राजनीतिक संवाद, आर्थिक व्यवस्थापन, सूचना प्रविधि र युवा परिचालनजस्ता समितिहरू गठन गरेको छ । साथै हरेक स्थानीय तहमा चुनावी कमान्डरहरू खडा गरिएको उम्मेदवार मल्लले बताए ।
यस्तै २६ गतेदेखि उनको टोली पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-९ पुगेर कार्यक्रम सुरु गरेको थियो । चौकुनेका सबै वडामा कार्यक्रम गरी मंगलबार मल्ल पञ्चपुरी नगरपालिका प्रवेश गरेका छन् ।
‘हामी प्रारम्भीक चरणमा अगुवा कार्यकर्ता भेट्ने, जनताको मनोविज्ञान कस्तो छ भन्ने बुझ्ने काममा अग्रसर छौँ,’ नेकपाका उम्मेदवार मल्लले रातोपाटीसँग भने, ‘हामी मनोनयन दर्तासम्म पञ्चपुरी र बराहतालका सबै वडामा पहिलो चरणको कार्यक्रम गरिसक्छौँ ।’
मल्लले कार्यकर्ता र मतदातामा अहिले उत्साह बढेको दाबी गरेका छन् ।
‘यो देशमा सङ्घीयता, गणतन्त्र ल्याउन हामीले लडाइँ लड्यौँ तर, यो क्षेत्रमा माओवादीले सङ्घीयतापछि आफ्नो उम्मेदवार पाएन,’ उनी थप्छन्, ‘अहिले माओवादीसहित विभिन्न दल मिलेर नेकपा बनेको छ । तर माओवादीका कार्यकर्ताहरूमा आफ्नै उम्मेदवार पायौँ, आफ्नै उम्मेदवारलाई मत हाल्न पाउने भयौँ भन्नुभएको छ,’ यसले सकरात्मक सन्देश दिएको उनको भनाइ छ ।
उनले भनेजस्तै सुर्खेतमा दुई वटै निर्वाचन क्षेत्रमा ०७४ र ०७९ मा माओवादीले उम्मेदवार पाएन । दलहरूबिच गठबन्धन हुँदा माओवादीले ०७४ मा एमालेलाई समर्थन गरेको थियो भने ०७९ मा कांग्रेसलाई । माओवादीमै सहयोगमा क्षेत्र नम्बर १ मा एमालेका ध्रुव शाही (०७४) र कांग्रेसका पूर्णबहादुर खड्का (०७९) मा चुनाव जिते । क्षेत्र नम्बर २ मा एमालेका नवराज रावत (०७४) र कांग्रेसका हृदयराम थानी (०७९) ले चुनाव जितेका थिए ।
यस्तै, क्षेत्र नम्बर २ मै एमाले उम्मेदवार कुलमणी देवकोटाले पनि एक चरणमा पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहः बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाका कार्यकर्ता भेटघाट कार्यक्रम सकेका छन् । विशेषगरी पार्टीको पालिका कमिटीको बैठक राखेर चुनावकेन्द्रित छलफल र आगामी रणनीतिबारे छलफल भएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिस्सिनाले बताए ।
उनका अनुसार, दुवै क्षेत्रमा पार्टीका बैठक, भेला र कार्यकर्ता भेट्घाटलाई प्राथमिकता दिएर एमाले चुनावी मैदानमा होमिसकेको छ । क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार शाही पनि चुनावी क्षेत्रमै छन् भने नेकपा उम्मेदवार जीतबहादुर राना पनि एक हप्ताअघिदेखि विभिन्न क्षेत्रमा पुगेर कार्यक्रम गरिरहेका छन् । रानाका अनुसार उक्त क्षेत्रमा पूर्व कानुनमन्त्री समेत रहेका कृष्णबहादुर जिसीको कमान्डमा चुनावी अभियान सुरु भैसकेको छ । विभिन्न समिति र उपसमितिहरू गठन गर्नुका साथै वडास्तरमा परिचालन गरी ठोस् रणनीति साथ चुनाव केन्द्रित भएको राना बताउँछन् ।

- नेकपा-एमालेका उम्मेदवार को-कस्ता ?
नेकपाले यो पटक दुवै क्षेत्रका उम्मेदवार १० वर्षे सशस्त्र युद्धका बेला जनमुक्ति सेनाका लडाकु हुन् ।
क्षेत्र नम्बर १ मा उम्मेदवार भएका राना ०४७ मा मालेको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५८ सालमा माओवादीमा प्रवेश गरेका उनी अवलचिङको जनसरकार प्रमुख भए । त्यसपछि सैन्य ब्युरो सदस्य हुँदै जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएर लडेका थिए । यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज समेत हुन् उनी ।
क्षेत्र नम्बर २ का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ माओवादी केन्द्र हुँदा सुर्खेत जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । सशस्त्र युद्धका बेला सुर्खेत जेलब्रेकका कमान्डर हुन् । युद्धकालको सुर्खेत जेलब्रेक घटना निकै चर्चित छ । सानै उमेरमा पूर्णकालीन माओवादी भएर थुप्रै युद्ध लडेका मल्लले युद्धकै क्रममा आफ्नो जीवनसाथी गुमाएका थिए ।
युवाहरूमाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् । उनी बौद्धिक युवा नेताका रूपमा परिचित छन् ।
एमालेबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका ध्रुव शाही पाका नेता हुन् । जनतामा भिजेका शाही हाल एमालेको प्रदेश कमिटी उपसचिव हुन् । उनी ०७४ र ०७९ मा चुनाव लडेका अनुभवी नेता हुन् । क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कुलमणि देवकोटा भने पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् ।
उनी यसअघि लामो सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष थिए । एमाले नेता यामलाल कँडेलका खास मान्छे उनी एमालेको जिल्ला अध्यक्ष समेत हुन् । वीरेन्द्रनगर निवासी उनी पार्टी राजनीतिमा सबैतिर चिनिएकै नेता हुन् ।
- यस्तो त चुनावी तथ्य र तथ्याङ्क
सुर्खेत-१ मा ०७९ मा कांग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मतसहित चुनाव जितेका थिए । उनका प्रतिस्पर्धी एमालेका ध्रुव शाहीले ३० हजार ९८८ मत पाए । खड्कालाई उक्त चुनावमा माओवादीको साथ थियो । यद्यपि उक्त क्षेत्रमा माओवादीको खासै प्रभाव छैन ।
२०७४ मा एमालेका शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए । तर दुवै निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा एमाले कमजोर रहेको देखाउँछ । ०७४ मा खड्कालाई पराजित गरेका शाहीको मत परिणाम अन्तर र ०७९ मा खड्काले पाएको मत परिणाम अन्तर हेर्दा कांग्रेस बलियो नै रहेको देखाउँछ ।
क्षेत्र नम्बर २ मा एमाले–माओवादीबिच गठबन्धन हुँदा एमालेका नवराज रावतले ३७ हजार ४४७ मतसहित निर्वाचित भएका थिए भने कांग्रेसका हृदयराम थानीले २८ हजार ६४६ मत पाएका थिए । ०७९ मा आउँदा माओवादीको समर्थनमा कांग्रेसका थानी ३४ हजार ६२५ मतसहित निर्वाचित हुँदा एमालेका अमृत विसीले २९ हजार ५५८ मत पाए । यी दुवै क्षेत्रमा कांग्रेस, एमाले बलिया छन् भने माओवादी तेस्रो दल छ । माओवादी कांग्रेस–एमालेभन्दा सुर्खेतमा सांगठनिक रूपमा पनि कमजोर छ ।
जसका कारण नै गठबन्धन हुँदा माओवादीले उम्मेदवार पाएन । सङ्घीयतापछिको दुईवटै निर्वाचनमा परीक्षण हुन नपाएको माओवादी आगामी फागुनमा हुने निर्वाचनमा भने एकीकृत समाजवादीसँग मिलेर नेकपाका रूपमा भाग लिन लागेको हो । माओवादीको शक्ति सुर्खेतमा कति छ फागुनमा हुने चुनावमा परीक्षण हुने छ ।
यद्यपि सुर्खेतमा समाजवादीको खासै न जनमत छ न सांगठनिक प्रभाव । एमाले विभाजनका बेला समाजवादीमा लागेका धेरैजसो नेताहरू एमालेमा फर्किसकेका छन् । अन्य साना दलहरूको मत एक हजार भन्दा तल नै कायम छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ मा टेकबहादुर सिंह र २ मा हरि अधिकारीको चर्चा छ । यद्यपि उम्मेदवारको टुङ्गो भने लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण