बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिला अधिवक्तामाथि इजलासभित्रै भएको दुर्व्यवहारमा छानबिन गर्दै बार काउन्सिल

बिहीबार, ०१ माघ २०८२, १४ : २३
बिहीबार, ०१ माघ २०८२

सारांश

  • धादिङ जिल्ला अदालतमा एक महिला अधिवक्तामाथि अर्का अधिवक्ताले दुर्व्यवहार गरेको आरोपमा छानबिन सुरु भएको छ।
  • अधिवक्ता तोलाकुमारी पाठकले अधिवक्ता गुणराज आचार्यविरुद्ध आचारसंहिता उल्लंघन र अपमान गरेको भन्दै कारबाहीको माग गरेकी छिन्।
  • आचार्यले मुद्दा फिर्ता लिन धम्की दिएको र इजलासमा अपमानजनक व्यवहार गरेको आरोप लागेको छ, जसमा सीसीटीभी फुटेज प्रमाणको रूपमा पेश गरिएको छ।

काठमाडौँ । धादिङ जिल्ला अदालतमा बहसको सिलसिलामा एक महिला अधिवक्तामाथि अर्का अधिवक्ताले कार्यस्थलमै अभद्र व्यवहार, गालीगलौज र धम्की दिएको भन्दै परेको उजुरीमा नेपाल कानुन व्यवसायी परिषद्ले छानबिनको तयारी थालेको छ ।

अधिवक्ता तोलाकुमारी पाठकले अधिवक्ता गुणराज आचार्यविरुद्ध कानुन व्यवसायीको आचारसंहिता उल्लङ्घन गरेको र महिला भएकै आधारमा अपमानित गरेको भन्दै कारबाहीको मागसहित परिषद्‌मा निवेदन दर्ता गराएकी थिइन् ।

अधिवक्ता आचार्यले कानुन व्यवसायीको व्यावसायिक आचरण सम्बन्धी नियमावली, २०७९ को नियम ३ (ख), (च), ४ र ९ को गम्भीर उल्लङ्घन गरेको दाबी पाठकको छ । उनले प्रमाणका रूपमा धादिङ जिल्ला अदालतको इजलासभित्रको पुस ८ गतेको सीसीटीभी फुटेज समेत परिषद्‌मा पेस गरेकी छिन् ।

धादिङ जिल्ला अदालतमा विचाराधीन लालबहादुर आचार्य र ध्रुवराज आचार्य बिचको जालसाजी मुद्दामा वादीका तर्फबाट बहस गरिरहेकी पाठकलाई विपक्षीका अधिवक्ता गुणराज आचार्यले पटक–पटक धम्क्याउने र अपशब्द बोल्ने गरेको उजुरीमा उल्लेख छ ।

निवेदनअनुसार, गत भदौ २८ गते अदालत परिसरमै अधिवक्ता आचार्यले ‘यो मुद्दा किन हालेको ? फिर्ता लिनु नत्र ठिक हुँदैन’ भनी धम्की दिएका थिए । पाठकले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरेको जवाफ दिँदा आचार्यले ‘यो आइमाईको जात कहाँबाट लाइसेन्स किनेर आएकी, पेसाबाट खेदाउन गाह्रो छैन’ भन्दै गुन्डागर्दी शैलीमा अपमान गरेको पाठकको दाबी छ ।

पछिल्लो पटक पुस ८ गते अदालतको इजलासभित्रै प्रमाण बुझ्ने र बकपत्र लिने क्रममा आचार्यले अपमानजनक व्यवहार दोहोर्‍याएको निवेदनमा उल्लेख छ ।  आचार्यले इजलासमै निवेदक र उनको पक्षलाई ‘तँलाई जसैगरी छोड्दिनँ, कहाँ जान्छेस्, पख’ भन्दै थर्काएपछि आफू अपमान सहन नसकेर इजलासमै रोएको पाठकले निवेदनमा उल्लेख गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप