बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बूढीगण्डकीको लगानी ढाँचामा सहमति भएपछि कुलमानले भने– 'मेरो कार्यकालको महत्त्वपूर्ण उपलब्धि'

शनिबार, ०३ माघ २०८२, १० : ४३
शनिबार, ०३ माघ २०८२

सारांश

  • बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले यसलाई उपलब्धिको रूपमा व्याख्या गरे।
  • लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहमतिपछि घिसिङले यसलाई राष्ट्रको सपनाको रूपमा लिएका छन्।
  • आयोजनाका लागि ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपुँजीबाट लगानी जुटाउने मोडालिटी तयार भएको छ।

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् ।  बूढीगण्डकीको लगानी ढाँचामा  अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले सहमति प्राप्त गरेपछि घिसिङले यस्तो बताएका हुन् । 

हाल उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत रहेका घिसिङले भनेका छन्– यो केवल एउटा प्रशासनिक सहमति मात्र हैन, वर्षौँदेखि प्रतीक्षामा रहेको राष्ट्रको सपनातर्फको ठोस कदम हो । अब यो मोडालिटी मन्त्रिपरिषद्बाट निर्णय हुने चरणमा पुगेको छ । हामी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुँदा गत मङ्सिरको पहिलो साता आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको यस आयोजनाका लागि ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपूँजी (इक्विटी)बाट जुटाउने गरी लगानी मोडालिटी तयार गरिएको थियो । सरकारको आयोजनामा इक्विटी बापत ९७ अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जा बापत १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी रहने छ । 

उनले भने– सरकारबाट हालसम्म आयोजनामा भएको ४५ अर्ब  रुपैयाँ कम्पनीमा गरेको शेयर लगानीमा रूपान्तरण हुनेछ । स्वदेशी लगानीमै यति ठुलो आयोजना बनाउन सक्छौँ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौँदेखि अन्योल, बहस र प्रतीक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन । काम थाल्नै पर्छ । यो आयोजना केवल विद्युत् उत्पादनका लागि मात्र हैन, देश आत्मनिर्भर बन्छ भन्ने विश्वासको ठोस आधार हो । यो ऊर्जा क्षेत्रमा मेरो ११५ दिनको कार्यकालमा भएको एउटा महत्त्वपूर्ण उपलब्धि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप